काठमाडौं। नेपाल पर्यटन बोर्डले सन् २०२४ को ९ महिनामा ८ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएको विवरण सार्वजनिक गरेको छ।बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म ८ लाख १६ हजार ३३९ पर्यटक नेपाल घुमफिरमा आएका हुन्।
बोर्डका अनुसार यो संख्या सन् २०२३ को तुलनामा ६ प्रतिशत र सन् २०१९ को तुलनामा ४ प्रतिशतले बढी हो। अगस्तको तुलनामा सेप्टेम्बरमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन् भने चीन, अमेरिका र युरोपियन मुलुकबाट आउने पर्यटक बढेकाे बाेर्डकाे तथ्यांकमा उल्लेख छ।
सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ र अगस्तमा २५ हजार ८३२ पर्यटक नेपाल घुमफिरमा आएको तथ्यांक बोर्डसँग छ। चीनबाट सेप्टेम्बारमा ८ हजार ४२ र अगस्तमा ६ हजार ६१४ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डका निर्देशक मणिराज लामिछाने जानकारी दिए।
मनसुनका कारण भारतीय पर्यटक घटेका हुन सक्ने अनुमान बोर्डको छ। बोर्डका अनुसार अमेरिकाबाट सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक नेपाल भित्रिएका छन् भने श्रीलंकाबाट ४ हजार ९१५ पर्यटक नेपाल घुम्न आएका छन्।
बोर्डका अनुसार गत अगस्तमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका थिए। सन् २०२३ सेप्टेम्बरमा ९१ हजार १२, २०२२ को सोही अवधिमा ५८ हजार ३१४, सन् २०२१ को सेप्टेम्बारमा ९ हजार ९०७ र सन् २०१९ मा ९२ जार ६०४ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
नेपालले यो वर्षको बर्खामा ठूलो प्राकृतिक विपत्ति र सडक दुर्घटनाको सामना गरेको छ। सोही कारण जसमा भारतीयको संख्या घट्दा यसको असर पर्यटक आगमनमा देखिएको हो।
अझ भदौ पहिलो साता नेपाल घुम्न आएका भारतीय तीर्थयात्री÷पर्यटक बोकेको बस पोखराबाट काठमाडौं आउँदै गर्दा मर्स्याङ्दीमा खसेर २ दर्जन बढीको ज्यान गएको थियो। नेपालको सडक यात्रा असुरक्षित भएसँगै भारतीय पर्यटक आगमन घटेको बोर्डको अनुमान छ।