काठमाडौं। हालैको बाढीपहिरोमा परेर २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। अन्य १५८ जना घाइते भएको गृह मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ।
मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ। प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ।
सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।
अझ ठूलो पानी पर्ने सम्भावना रहेकाले यात्रामा सावधानी अपनाउन प्राधिकरणको आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोसी प्रदेशसहितका केही ठाउँमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। असोज १८ सम्म भारी वर्षाको सम्भावना कायम रहेकाले प्राधिकरणले नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो।
‘असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासि बाढी आउने जोखिम छ’, प्राधिकरणको सूचनामा भनिएको छ।
प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउनसमेत सचेत गराएको छ। ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेरेर मात्रै यात्रा गर्न प्राधिकरणको आग्रह छ।