काठमाडौं। दसैं–तिहारलाई अटो व्यवसायीले सवारीसाधन बिक्रीको मुख्य समय मान्ने गरेका छन्। नेपालीको प्रमुख चाडवाड अवसरमा नयाँ गाडी किन्ने प्रचलन रहेकाले पनि अटो व्यवसायीले विभिन्न अफर ल्याएर ग्राहक आकर्षित गरिरहेका हुन्।
पछिल्लो केही वर्षदेखि अटो बजारमा गाडी किन्नेको ट्रेन्ड बदलिँदो छ। खासगरी विद्युतीय गाडी (ईभी) को दबदबा बढ्दा डिजेल÷पेट्रोल गाडी माग ह्वात्तै घटेको थियो। दुई वर्षको दसैं–तिहार र छठमा सबैभन्दा बढी गाडी बिक्रीमा ईभीकै दबदबा रह्यो।
विशेषगरी चीनमा निर्मित विद्युतीय गाडीमा मूल्यसमेत सस्तो र इन्धन हाल्न नपर्ने भएपछि धेरैको नजर परेको थियो। तर, यो वर्षदेखि भने ग्राहक रोजाइ केही फरक हुन थालेको छ।
विशेषगरी लामो दूरी र कच्ची सडकमा ईभी लैजान असहज हुनुका साथै मर्मतसम्भारमा हुने ढिलाइले गाडी खरिदकर्ताको मुड विस्तारै परिवर्तन हुँदै डिजेल÷पेट्रोलतर्फ ढल्किन थालेको व्यवसायीको भनाइ छ।
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक दीपक थपलियाले विगत वर्षको तुलनमा अहिलेको दसैंैका लागि २५ देखि ४० प्रतिशत बढी गाडी खरिद गर्न सोधखोज भइरहेको बताए। सोह्रश्राद्ध नसकिएको र दसैं–तिहार आउन अझै केही समय बाँकी रहेकाले यो संख्या थप बढ्दै जाने उनको भनाइ छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्षको दसैं–तिहार र छठमा मात्र ६०० भन्दा बढी गाडी बिक्री गरेको थियो। यो वर्ष संख्यात्मक रुपमा बढ्ने उनले विश्वास व्यक्त गरे। लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको भेन्यू नेपालमै उत्पादन गरेर बिक्री गर्दै आएको छ। मेड इन नेपाल भएकै कारणले पनि भेन्यू धेरैको रोजाइमा पर्न थालेको कम्पनीको दाबी छ। यस्तै क्रेटा, ग्रान्ड आइटेनको माग पनि बढेको छ।
सुजुकी गाडीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले पनि गत वर्षको तुलनामा यो वर्षको चाडवाडमा इन्धन गाडी खरिद संख्या बढ्ने जनाएको छ। अहिले धेरै ग्राहकले सोधखोज गर्न थालेको उसले उल्लेख गरेको छ।
सिजी मोटोकर्पका सहायक महाप्रबन्धक करुण शाक्यले विगत वर्षको दसैं–तिहारमा १००० भन्दा बढी गाडी बिक्री हुने गरेकामा पछिल्लो वर्ष केही घटे पनि यो वर्ष बढ्ने लक्षण देखिएको बताए। दैनिक सोधखोज गर्ने र सोरुम भ्रमण गर्ने क्रम बढेकाले किनमेलको संख्या पनि तुलनात्मक रुपमा बढ्दै जाने उनको अनुमान छ।
टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटका प्रशान्त खत्री पनि विगत वर्षको तुलनामा यो वर्ष इन्जिन गाडीबारे सोधपुछ गर्नेको संख्या बढेको बताउँछन्। अहिलेकै रेसियो हेर्दा विगत दसैं–तिहारको तुलनामा २५ देखि ३० प्रतिशत व्यापार बढ्ने देखिएको उनले बताए।
दसैं–तिहारमा गाडी किन्ने ग्राहक बढे यो वर्षभरि नै विस्तारै संख्यात्मक रुपमा वृद्धि हुने उनको विश्वास छ। वर्षाका बेला काठमाडौं उपत्यका नै डुबानमा पर्ने र मर्मतसम्भारका लागि धेरै झन्झट हुन थालेपछि ईभी गाडी खरिदकर्ता इन्धनतर्फ आकर्षित हुन थालेको बताइन्छ।
काठमाडौं उपत्यकाभित्रको सडकलाई ध्यान दिएर ईभी गाडी किनेका ग्राहकले गत असारको बाढी र यही साताको ठूलो झरीले बिग्रिएको सडकका कारण पनि इन्धन गाडीतर्फ सबैको ध्यान जान थालेको विश्लेषण गरिँदै छ।
यस्तै, पछिल्लो समय विद्युतीय गाडीमा देखिएका समस्याका कारण पनि ग्राहकको ध्यान मोडिन थालेको अनुमान गर्न थालिएको छ। साता मात्रै अमेरिका र अस्ट्रेलियाले चिनियाँ ईभीमा सुरक्षा प्रश्न उठाएर प्रतिबन्ध आह्वान गरिसकेका छन्।