काठमाडाैँ । बिजुली महशुल तिर्न विद्युत् प्राधिकरणसम्म धाउँने ग्राहकको संख्या दिनानुदिन घटिरहेको छ । केहि अघिसम्म महशुल बुझाउन प्राधिकरणको कार्यालय नै धाउनुपर्ने तथा घण्टौ लाइनमा बस्नुपर्ने उपभोक्ताको बाध्यता थियो । कतिपय गाँउमा प्राधिकरणका कर्मचारी नै घर घरमा पुगेर विद्युत् महशुल उठाउछन् ।
तर, दुइबर्ष देखि सुरु गरेको ‘स्मार्ट बिलिङ सिस्टम’ अर्थात अनलाइमार्फत विद्युत्को महशुल तिर्न सक्ने सुविधाले ग्राहकलाई प्राधिकरणमा धाउनुपर्ने बाध्यताबाट मुक्ति दिएको छ । देशभरका कुल १ सय ७२ विद्युत् आय संकलन केन्द्रमध्ये १ सय ६० केन्द्रका ग्राहकले यस्तो सुविधा लिइरहेका छन् ।
प्राधिकरणका अनुसार ६ लाख ग्राहकले अहिले अनलाइन बिलिङ प्रणाली मार्फत बिजुलीको बिल तिर्ने सेवा लिदै आएका छन् । विभिन्न ८ ओटा सेवा प्रदायक संस्थासँग समन्वय गरी अनलाइनमार्फत विद्युत महसुल तिर्न सकिने प्राधिकरणअन्र्तगत कम्प्युटर बिलिङ तथा नेटवर्क महाशाखाका प्रमुख सजुनकुमार श्रेष्ठले बताए ।
खासगरी, इ–सेवा, पे—पोइन्ट नेपाल, सिटी एक्सप्रेस, सीएफस रेमिट, इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, महालक्ष्मी विकास बैंक र हिमाल बैंकको मोबाइल एप्स डाउनलोड गरी त्यसमार्फत विद्युत्को भुक्तानी गर्न सकिन्छ । यि एप्समार्फत विहान ८ बजेदेखि राती ११ बजेसम्म बिजुलीको बिल तिर्न सकिन्छ ।
‘हालसम्म १६० आय संकलन केन्द्रमा स्मार्ट बिलिङ सिस्टममार्फत महशुल तिर्न सकिन्छ’ उनले भने, ‘यो बर्ष १ सय ७२ ओटै केन्द्रमा अनलाइन पेमेन्ट सिस्टम लागू गर्ने लक्ष्य छ ।’ इन्टरनेटको पहुँच पुगेका पहाडी क्षेत्रबाट सजिलै अनलाइमार्फत नै भुक्तानी गर्न सकिन्छ । चाडै नै २० लाख ग्राहक यो सेवाबाट लाभान्वित हुने श्रेष्ठले बताए ।
प्रतिमहिना १ अर्ब महसुल संकलन
दुइबर्षदेखि सुरु गरिएको कम्प्युटर बिलिङ सिस्टमबाट अहिले दुर्गम पहाडी इलाकाका ग्राहकले सुविधा लिएका छन् । प्रतिमहिना ६ लाख ग्राहकबाट करिव १ अर्ब रुपैयाँ विद्युत् महसुल संकलन हुने गरेको श्रेष्ठले बताए । सवै आय संकलन केन्द्रमा प्रणाली विस्तार भएमा ४ अर्ब रुपैयाँ महशुल संकलन हुने प्राधिकरणले जनाएको छ ।
सहरी क्षेत्रमा रिडिङ अनलाइन मिटर
प्राधिकरणले विद्युत् चुहावट हटाई सेवालाई भरपर्दो र पारदर्शी बनाउन हरेक ग्राहकका घरमा रिडिङ अनलाइन मिटर जडान गर्ने प्रक्रिया समेत अघि बढाएको छ । खासगरी काठमाडौं उपत्यका र मुख्य पकेट क्षेत्रहरुमा नयाँ प्रविधियुक्त रिडिङ अनलाइन मिटर जडान गर्न लागिएको श्रेष्ठले बताए । ३ सय देखि ४ सय रिडिङ अनलाइन मिटर खरिदका लागि टेन्डर भइ प्रक्रिया अघि बढेको छ ।
अनलाइन मिटर जडान भएपछि विद्युत् चुहावट न्यूनीकरण हुने, ग्राहकले खपत गरेको युनिट र महसुल तत्काल सर्भरमा आउने र कर्मचारी दायित्व घट्ने प्राधिकरणले जनाएको छ ।