काठमाडौं। सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाले काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन्।
काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रु हितलाई ध्यानमा राख्दै सहायता कक्ष स्थापना गरिएको सिप्रदियनले जनाएको हो।
दसैं मनाउन उपत्यका छोड्ने यात्रु संख्या उल्लेख्य बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ–बसपार्क, गौशाला, चापागाउँ, हल्चोक, चावहिल, जावलाखेल, बाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको छ।
विगत वर्षभन्दा यो वर्ष यात्रु संख्या अधिक बढ्ने देखिएकाले यात्रुलाई टिकट बुकिङका क्रममा विभिन्न समस्या र अन्योल नपरोस् भनेर यात्रु कक्ष स्थापना गरिएको हो।
उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासा महँगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभन्न रुटमा लागू हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ।
यात्रु आउजाउका क्रममा सर्वसाधारणलाई सुरक्षासम्बन्धी सूचना दिन यात्रु सहायता कक्षले मनिटरिङ गर्नेछ।