काठमाडौं। बिहीबारदेखि शनिबारसम्म परेको निरन्तरको् वर्षापछि गएको बाढीपहिरोमा परेर हालसम्म २१७ जनाले ज्यान गुमाएको पछिल्लो विवरण गृह मन्त्रालयले सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर २८ बेपत्ता र १४३ जना घाइते भएका छन्।
बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा अंग परिचालित भइरहेको गृहका प्रवक्ता ऋषिराम तिवारीले बताए। बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतलीन राहत सामग्री उपलब्ध गराउन थालिएको र मन्त्रिपरिषद् निर्णयअनुसार घाइतेको निःशुल्क उपचार भइरहेको उनले जानकारी दिए।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीको भनाइ छ।
दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेको छ।
सडक मर्मत गरेर आज बिहान ९ बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। सडक मर्मतलाई निन्तरता दिइने र आजै दुईतर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए।
सडक अवरुद्ध भएसँगै यात्रु अलपत्र परेपछि गए राती ११ः बजेदेखि नै सडक मर्मतकाम सुरु गरिएको थियो। सडक डिभिजन, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको टोलीले भासिएको सडकमा पुगेर मर्मत सुरु गरेको छ।
अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्ने जंगलमा पूर्वपश्चिम मुख्य राजमार्ग भासिएको छ। सोमबार साँझ सडक भासिँदा सवारी आउजाउ पूर्ण रूपमा अवरुद्ध भएको हो।