काठमाडौं। काठमाडौंसँग पूर्वी नेपाल जोड्ने लाइफलाइन राजमार्ग मानिँदै आएको बिपी (सिन्धुली–बर्दिवास) राजमार्ग अविरल वर्षाका कारण असोज १२ बाट अवरुद्ध छ। काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने भकुन्डे–नेपालथोक बीचमा डेढ किलोमिटर बढी सडक रोशी खोलाल बगाएपछि काठमाडौंसँग पूर्वी नेपालको सडक सम्पर्क विच्छेद भएको छ।
नजिकिँदै गरेका चाडवाडमा सामान्य अवस्थाभन्दा यात्रु चाप बढ्ने हुँदा तत्काल सडक निर्माण गर्नुपर्नेछ। तर, सडक विभागले सोमबार सूचना जारी गर्दै उक्त स्थानमा नयाँ ट्रयाक खोल्नुपर्ने भएकाले केही समय लाग्ने जनाएको छ।
ट्राफिक प्रकरी कार्यालय बनेपा काभ्रेका प्रहरी निरीक्षक विकासकुमार तामाङका अनुसार सामान्य दिनमा बिपी राजमार्ग भएर १ हजारदेखि १२ सय र दसैं÷तिहारका बेला करिब २५ सय वटा सानाठूला सवारी साधन सञ्चालन हुन्छन्। बिपी राजमार्ग प्रयोग गरेर काभ्रे, सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर, खोटाङ, झापा, मोरङ, सर्लाही, धनुषा, सिराहा, सुनसरीलगायत बागमती, कोसी र मधेस प्रदेशका अधिकांश ठाउँको यात्रा हुन्छ।
तर, डेढ किलोमिटर सडक रोशी खोलाले बगाउँदा संघीय राजधानी काठमाडौंसँग पूर्वी तथा मध्य नेपालको सम्बन्ध असोज १२ गतेबाट टुटेको छ। बिपी राजमार्गमा पर्ने काभ्रेको भकुण्डे–सिन्धुलीको नेपालथोकबीच (३० किलोमिटर) मा फसेका यात्रुको उद्धार भइरहेको काभ्रे प्रहरीले जनाएको छ।
सडकलाई पूर्ववत् अवस्थामा फर्काउने विषय हालसम्म अनिश्चित रहेको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ।
बिपी मर्मतमा १० मेसिन प्रयोग हुँदै
बिपी रागमार्ग खुलाउन १० वटा मेसिन प्रयोग गर्न लागिएको विभागले जनाएको छ। हाल १ लोडर, ५ ब्याकहो लोडर, १ एक्जाभेटर गरी ७ वटा मेसिन प्रयोग भइरहेका छन्। जनकपुरबाट २ एक्जाभेटर र १ लोडर हेईडी नेपालथोकतर्फ ल्याइँदै छ।
१२ गते रोशी खोलाले सडक बगाएको क्षेत्रमा खोलाको वहाब घटेको छैन। अर्थात्, सडक भएको ठाउँबाट खोला बगिरहेको छ। खोलामा पानी घटेर बगर बने त्यहीँबाटै अस्थायी रुपमा सवारी सञ्चालन गरी दसैं यात्रा सहज बनाउने विभागको योजना छ। तर, कहिलेबाट अस्थायी बाटो खुलाउन सकिन्छ भन्नेबारे अन्योल रहेको विभागको मर्मत सम्भार महाशाखा प्रमुख अर्जुनप्रसाद अर्यालले बताउँछन्।
‘बिपीको सडक बगेको क्षेत्रमा दसैंअघि नयाँ ट्रयाक खन्ने सम्भावना छैन। खोलाको बहाव घट्यो भने बगरबाट यातायात चलाउन सकिन्छ कि भन्ने सोच्दै छौं,’ प्रमुख अर्याल भन्छन्, ‘प्राविधिक स्थलगत अनुगमनमा जानुभएको छ। बुधबार बेलुकाबाट खोलाको अवस्था हेरेपछि मात्रै थप भन्न सकिएला।’
विकल्प बन्ला रामेछापको मध्यपहाडी राजमार्ग
सुनकोसी नदी किनार हुँदै काभ्रे, सिन्धुलीमा बिपी राजमार्ग सञ्चालन भएपछि सरकारले नदीपारि अर्थात् रामेछापमा मध्यपहाडी राजमार्गको ट्रयाक खोलेको छ। न
दीको दुवैतर्फ सडक बनाउनुको अर्थ दुवै सडक एकअर्कामा विकल्पका रुपमा प्रयोग गर्न सकियोस् भनेरै हो। भौतिक मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकाल भन्छन्, ‘रामेछापमा मध्यपहाडी राजमार्ग बनाएको कारण नै बिपीको विकल्पका लागि हो, त्यता पनि मन्त्रालयले सोचेको छ।’
सिन्धुलीको मूलकोटबाट सुनकोसीको पुल तरेपछि मध्यपहाडी राजमार्ग अर्थात् रामेछापको खाँडादेवी, खैरेनीघाट हुँदै काभ्रेको दोलालघाटबाट काठमाडौं जोड्ने सडक छ। तर, उक्त सडक बीचको किर्नेमा करिब ३ सय मिटर बाटो पूर्ण रुपमा भत्किएको छ।
रामेछापमा निर्माणाधीन मध्यपहाडी राजमार्ग दुई लेन हो। तर, नयाँ ट्रयाक खोलिएकाले तत्काल ठूला यात्रुवाहक सवारी सञ्चालन गर्न सकिने अवस्था छैन। त्यहाँ पनि सानाठूला पहिरा गएकाले सहज अवस्था नरहेको मध्यपहाडी आयोजनाले जनाएको छ। यद्यपि मध्यपहाडी राजमार्ग कार्यालयले सडक मर्मत गरिरहेको छ।
क्यापिटल नेपालसँग मन्त्रालयका प्रवक्ता ढकाल भन्छन्, ‘पहिलो प्राथमिकता रोशीको बगरबाटै सवारी चलाउने हो। सकिएन भने विकल्पमा रामेछापतर्फको मध्यपहाडी राजमार्गलाई तायार गर्दै छौं।’
तर, उनले कहिलेबाट सवारी चलाएर बिपी वा रामेछापतर्फको मध्यपहाडी राजमार्ग यात्रुका लागि खुल्छन् अहिले नै भन्न नसकिने बताए। यद्यपि दसैं यात्राका लागि सडक बनाउन मन्त्रालय र सडक विभाग प्रयासरत रहेको प्रवक्ता ढकालको भनाइ छ।