काठमाडौं। नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीलाई बाढीले पुर्याएको क्षति संकलन गरी तल्काल दाबी भुक्तानी दिन निर्देशन दिएको छ। प्राधिकरणले पछिल्लो पटकको अविरल बर्षाका कारण देशभर आएको बाढी र पहिरोले पुर्याएको भौतिक तथा मानविय क्षति संकलन गरी बीमितलाई दावी भुक्तानी गर्न निर्देशन दिएको हो।
गत साताको बिहीबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको कति क्षति भयो हालसम्म एकिन तथ्यांक संकलन भएको छैन। बाढी तथा पहिरोको क्षति विवरण संकलन गरी दाबीबापत भुक्तान गर्नुपर्ने दायित्व वहन प्राधिकरणले निर्जीवन बिमक संघलाई बोलाएरै निर्देशन दिएको हो। कम्पनीले बाढीपहिरोबाट भएको भौतिक सम्पत्तिको क्षति विवरण संकलन सुरु गरिसकेको बिमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल अधिकारीले बताइन्।
‘बिमा कम्पनीलाई पछिल्लो पटकको बाढी पहिरोले पुर्याएको क्षतिमा आफ्नो दायित्व वहनलाई प्राथमिकता दिन निर्देशन दिइसकेका छौं,’ प्राधिकरण निर्देशक ढुंगेलले क्यापिटल नेपाललाई बताइन्, ‘अहिले निर्जीवन बिमा कम्पनीहरुसँगमात्रै बाढीको दावीबारे छलफल गरेर तथ्यांक पढाउन पत्रचार गरेका छौं, आवश्यक पर्दा मानवीय क्षतिमा बीमितलाई दावी भुक्तानीबारे सहजीकरण तथा प्राथमिकताबारे समन्वय गछौं।’
प्राधिकरणले सम्पत्ति, मोटर, कृषि तथा पशुपक्षी, इन्जिनीयरिङ लगायतमा बिमा गरिएको सम्पत्तिको क्षति संकलन गरी प्राथमिकता निर्धारण गरी दावी भुक्तानी गर्न निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दिएको हो।
प्राधिकरणले पहिलो चराणमा बिमा कम्पनीलाई क्षतिको विवरण संकलन गरी तथ्यांक पठाउँन समयसीमा दिएर पत्रचार गरेको हो। विरण प्राप्त भएपछि क्षतिअनुसार दावी भुक्तानीको प्राथमिकता तय गरी सोहीअनुसार भुक्तान गर्न कम्पनीलाई पत्रचार गरिने उनको भनाइ छ।
पछिल्लो तथ्यांकअनुसार बाढीपहिरोको कारण १४८ जनाको मृत्यु भएको छ भने, अर्बौ रुपैयाँ बढी निजी सम्पत्तिको क्षतिग्रस्त भएको अनुमान गरिएको छ। साथै, सरकारी परियोजनाअन्तर्गतका सडक, पुल, भवन, जलविद्युत परियोजनालगायतमा क्षति पुगेको छ।