काठमाडौं। अमेरिकाले चिनियाँ विद्युतीय गाडी (ईभी)को प्रविधिमा प्रतिबन्ध लगाउन थालेको छ। विद्युतीय गाडीले चालकलाई जासुसी गर्ने आशंका गरेर अमेरिकाले प्रतिबन्ध आह्वान गरेको हो।
ईभी गाडीमा क्यामेरा, माइक्रोफोन, जीपीएस ट्रयाकिङ र इन्टरनेटसँग जडान भएका विभिन्न खालका प्रविधि छन्। ती प्रविधि प्रयोग गरी कुनै विदेशीले राष्ट्रिय सुरक्षा र नागरिकको गोप्यतामा गम्भीर खतरा पुर्याउन सक्ने आकलन अमेरिकाको छ। यी परिस्थितिमा विदेशी दुश्मनहरूले अमेरिकामा चलिरहेका सबै गाडी एकैचोटि बन्द गर्न वा नियन्त्रणमा लिन सक्ने अनुमान गरेको छ।
केही दिनअघि मात्रै लेबनानस्थित हिजबुल्लाह लडाकुविरुद्ध व्यक्तिगत पेजर र वाकी–टाकीलाई विस्फोट गराएर आक्रमण भएको थियो। यसलाई इजरायलले समन्वय गरेको भनिए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन। अमेरिकी अधिकारीले चिनियाँ ह्याकिङ अभियानबारे चिन्ता व्यक्त गरेका छन्। चिनियाँ ह्याकिङ समूहले विभिन्न देशमा रहेको विश्वविद्यालय, सरकारी संस्था, र टेलिकम कम्पनीलाई लक्षित गर्दै ह्याक गरेको थियो।
घरमा प्रयोग गरिने कम्प्युटर, इन्टरनेट राउटर, र वेब क्यामेराजस्ता उपकरणमा आक्रमण गरिएर संवेदनशील डेटा चोरी गर्ने र प्रयोगकर्ताको गतिविधि ट्रयाक गर्ने प्रयास भएको थियो। साथै, चिनियाँ ह्याकिङ समूहले महत्त्वपूर्ण पूर्वाधार बिजुली आपूर्ति प्रणाली र ढल प्रशोधन प्लान्टमा समेत आक्रमण गरेको थियो।
एफबीआईका निर्देशक क्रिस रेले भनेका छन्, ‘चिनियाँ सरकार आफंैले वा आफ्नो एजेन्टमार्फत संगठन र हाम्रो पूर्वाधारमा आक्रमण गर्न सक्छन्।’ चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले विश्वकै ठूलो अर्ध–स्वचालित र विद्युतीय सवारी साधन उत्पादन गर्ने कम्पनीको रूपमा स्थापित भई एलन मस्कको टेस्लालाई पछाडि पारे पनि चीनले अझै अमेरिकी बजारमा राम्रो पकड बनाउन सकेको छैन।
साइबर हमला र आपूर्ति शृंखला
अमेरिकी वाणिज्य सचिव रैमन्डोले सडकमा रहेको २० लाख (दुई मिलियन) गाडीको सफ्टवेयर बन्द गरि विनाशकारी परिणाम आउन सक्ने चेतावनी दिएकी छन्। चिनियाँ प्रविधिमा अमेरिकी सरकारको प्रस्ताव अनुसार २०२७ सम्म चिनियाँ सफ्टवेयरमा, २०२९ सम्म हार्डवेयरमा प्रतिबन्धमा लागू हुनेछ।
यो प्रतिबन्ध ब्लुटुथ, स्याटेलाइट, वायरलेस इन्टरनेट, र स्वचालित गाडी चलाउने कृत्रिम बुद्धिमत्ता जस्ता सुविधासहितका गाडीहरूमा लागू हुनेछ। चीनले भने यसलाई व्यापार प्रतिबन्धको रूपमा हेरेको छ। अमेरिकाले हालै चिनियाँ गाडीमा १०० प्रतिशतसम्मको कर बढाएको थियो। अमेरिकाको यस कदमलाई चीनले लुकेको व्यापार प्रतिबन्ध भनेको छ।
चुनौतीपूर्ण भविष्य
अष्ट्रेलियाका प्राविधिक विशेषज्ञ जेसन भान डे सिफ चीनबाट धेरै समग्री आयात गर्ने भएकाले कुनै पनि इलेक्ट्रोनिक उपकरणलाई निर्माणदेखि प्रयोगकर्तासम्मको बाटोमा कुनै पनि समय बिगार्न सक्ने हुँदा अस्ट्रेलियाका लागि यो चुनौतीपूर्ण अवस्था भएको बताउँछन्।
अर्काे प्राविधिक विश्लेषक क्रिस टेलर भन्छन्, ‘तोडफोडको जोखिम धेरै गम्भीर छ। आपूर्ति शृंखलामा भएको समस्या समाधान गर्न सैन्य तयारी र सुरक्षामा खर्च गरिने स्रोतहरू कमजोर बनाउन सकिन्छ,’ उनले भने, ‘यो एक प्रकारको रणनीति हो, जसले स्रोतलाई गलत दिशामा खर्च गराएर देशको रक्षात्मक क्षमतालाई कमजोर बनाउँछ।’
कुनै पनि इलेक्ट्रोनिक जडित सामाग्री जस्तै राउटर, यूएसबी, मोबाइल फोन वा गाडी निर्माणदेखि अन्तिम प्रयोगकर्तासम्मको जुनसुकै समय कुनै पनि बिन्दुमा तोडफोड गर्न सकिन्छ।
टेलरको विचारमा यो सबै सुरक्षा उपाय लागू गर्न र परीक्षण प्रणालीमा खर्च गर्न धेरै महँगो पर्छ। तर, राष्ट्रले आफ्नै सुरक्षाका लागि तिर्नुपर्ने बताउँछन्। विशेषगरी युक्रेनलाई समर्थन गर्ने युरोप र अमेरिकाका हतियार कारखानामा भएका रहस्यमयी आगलागीलाई रुसी तोडफोडको शंकासँग जोडिएको छ। यसले देखाउँछ, अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा यस्ता जोखिम उच्च छन्।
अष्ट्रेलियाली प्राविधिक विज्ञका अनुसार ईभी जोखिमको साँचो हो। उनीहरूले चिनियाँ उपकरणमा आधारित आपूर्ति शृंखलामा तोडफोड गर्न सकिने चेतावनी दिएका छन्। अहिलेको डिजिटल युगमा तोडफोड गरेर सैन्य वा राजनीतिक लाभ प्राप्त गर्ने प्रयास बढिरहेको छ।
अर्थतन्त्र र जोखिम सन्तुलन
चिनियाँ प्रविधिको पहुँचलाई कम गर्दा आपूर्ति शृंखलामा ठूलो समस्या आउन सक्छ। विशेषगरी ती वस्तुको आपूर्तिमा कुनै पनि देशले ठूलो मात्रामा निर्भर गरेको छ। त्यसैले, सुरक्षा स्रोतलाई प्रभावकारी रूपमा प्रयोग गर्नु र आर्थिक चापको बीच सन्तुलन कायम गर्नु चुनौतीपूर्ण हुन्छ। क्रिस टेलर भन्छन्, ‘सुरक्षा उपाय लागू गर्दा ठूलो आर्थिक खर्च हुन्छ। यो खर्च हरेक देशले व्यवस्थापन गर्न सक्छ कि सक्दैन भन्नेमा निर्भर गर्छ। यसले मात्र रक्षात्मक क्षमतालाई कमजोर बनाउने होइन। तर, व्यापार र अन्य विकासका अवसर पनि प्रभावित हुन सक्छन्।
साइबर सुरक्षा र भविष्यको तयारी
अमेरिकाले जस्तै अन्य देशहरूले पनि अहिले साइबर सुरक्षा खतराबाट जोगिन प्रविधिमा ध्यान दिइरहेका छन्। चीनजस्ता देशहरूले प्रविधिको माध्यमबाट जासुसी र तोडफोड गर्न सक्ने सम्भावना बढ्दै गएका छन्।
अमेरिकाले यसै कारण आफ्नो महत्त्वपूर्ण पूर्वाधार बिजुली आपूर्ति प्रणाली, ढल प्रशोधन प्लान्ट र सैन्य उपकरणको सुरक्षा बलियो बनाउन खोजिरहेको छ। यसमा चीनले राख्ने सम्भावित जोखिमबाट जोगिन प्रविधिमा प्रतिबन्ध लगाइएको छ।
चिनियाँ ईभी गाडीमा प्रतिबन्ध लगाउन प्रस्तावित गर्नुका कारण भविष्यमा हुने सम्भावित खतराबाट जोगिन पनि हो। जब गाडीमा इन्टरनेट जडान, जीपीएस र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता प्रविधि जडान गरिएको हुन्छन्, तिनलाई नियन्त्रणमा लिन र तोडफोड गर्न सजिलो हुन्छ।
यसैले भविष्यमा यस्ता खतराबाट बच्न अमेरिकाले आफ्नो सुरक्षा रणनीति कडा बनाएको छ। यसमा प्राविधिक सुरक्षा मापदण्ड, आपूर्ति शृंखलामा विविधता ल्याउने प्रयास र देशभित्र उत्पादन प्रणालीलाई सुदृढ बनाउने योजना पनि समावेश छन्। तर, यसले व्यापारमा ठूलो असर गर्ने सम्भावना छ। चीनले यसलाई व्यापार प्रतिबन्धको रूपमा लिएकाले दुवै देशबीचको व्यापार युद्धलाई थप गहिरो बनाउनेछ।
अस्ट्रेलिया र चीनबीचको चुनौती
अस्ट्रेलियाली प्रविधि विज्ञले चिनियाँ प्रविधिको खतरालाई गम्भीर रूपमा लिइरहेका छन्। अस्ट्रेलियाले धेरै सामान आयात चीनबाट गर्ने भएकाले उनीहरुले अहिले आफ्नो महत्त्वपूर्ण पूर्वाधारलाई सुरक्षित गर्न सुरक्षात्मक कदम चाल्नुपर्ने आवश्यकता महसुस गरेका हुन्।
विशेषज्ञ जेसन भान डे सिफले अस्ट्रेलियाको सुरक्षा चीनसँगको आपूर्ति शृंखलामा निर्भर भएकाले चीनले निर्यातलाई अवरोध गर्न चाहे देश गम्भीर संकटमा पर्न सक्ने बताएका छन्। उनका अनुसार कुनै पनि इलेक्ट्रोनिक सामान गाडी होस् वा स्मार्ट फोन। चिनियाँ प्रविधिमा आधारित भए तोडफोडको खतरा सधैं रहन्छ।
ब्लक चेन प्रविधि
अस्ट्रेलियाले आफ्नो आपूर्ति शृङखला सुरक्षा गर्न ब्लक चेन प्रविधिको प्रयोगलाई सुदृढ बनाउनुपर्नेछ। ब्लक चेनले उत्पादनको सम्पूर्ण यात्रा ट्र्याक गर्न मद्दत गर्छ। यसले गर्दा उपकरणमा हुने सम्भावित तोडफोड सजिलै पत्ता लगाउन सकिन्छ।
साथै, सबै इलेक्ट्रोनिक उपकरणमा सुरक्षा परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने भए पनि सजिलो काम भने होइन। जेसन भान डे सिफका अनुसार सुरक्षा परीक्षण र ब्लकचेन प्रविधिको प्रयोग महँगो पर्छ। यस्ता उपाय कार्यान्वयन गर्दा देशले ठूलो आर्थिक चाप सहनुपर्ने हुन्छ।
आर्थिक प्रभाव
चिनियाँ प्रविधिमाथि प्रतिबन्ध लगाउनाले धेरै देशको आर्थिक अवस्थामा ठूलो असर पर्नेछ। यस्ता प्रतिबन्धले व्यापारलाई सीमित गर्छ। यसले वैकल्पिक आपूर्तिकर्ताको खोजी गर्नुपर्ने हुन्छ। क्रिस टेलरजस्ता विशेषज्ञहरू भन्छन्– खर्च राष्ट्रिय सुरक्षाको लागि खर्च गर्नुपर्ने हुन्छ। जब देशको सुरक्षा जोखिममा हुन्छ, आर्थिक नोक्सानीभन्दा पनि देशको अस्तित्वलाई प्राथमिकतामा राख्नुपर्छ।
हरेक देशले आफ्नो आपूर्ति शृंखला र प्रविधिमा ध्यान दिनु जरुरी छ, किनकि भविष्यका सम्भावित खतरामा साइबर आक्रमण र प्राविधिक तोडफोड प्रमुख हुने निश्चित छ।