काठमाडौं। करिब २ वर्षअघि पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्टक ब्रोकर (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)को चुक्ता पुँजी ३० गुणाले वृद्धि गरेको थियो। सेबोनले नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स खुलाएर पुरानालाई पनि ३ वर्षभित्र २० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो। त्यसअघि ब्रोकर कम्पनीको चुक्ता पुँजी २ करोड रुपैयाँ हुनुपर्ने प्रावधान थियो।
सेबोनले पुँजी वृद्धि गर्न दिएको समयसीमा समाप्त हुन अब १० महिना मात्रै बाँकी छ। बोर्डले चुक्ता पुँजी वृद्धि गरी पुराना ५० वटा स्टक ब्रोकर कम्पनीलाई २०८२ असार मसान्तसम्म तोकिएको पुँजी कायम गर्न निर्देशन दिएको हो। तर, अझै ३९ स्टक ब्रोकरले तोकिएको पुँजी वृद्धि गर्न सकेका छैनन् भने कतिपयले पुँजी वृद्धिका लागि हालसम्म कुनै पहल गरेका छैनन्।
बोर्डले २०७४ मा धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरेर ब्रोकर कम्पनीको २० लाख रुपैयाँ चुक्ता पुँजीलाई २ करोड कायम गरेको थियो। सोही पुँजीलाई बोर्डले २०७९ भदौमा २० करोड बनाएको थियो। सेबोनले नयाँ ब्रोकरलाई सेवाअनुसार तीन तहमा विभाजन गरी २० करोडदेखि १ अर्ब पुँजी तोकेर लाइसेन्स दिँदै पुरानालाई पनि ३ वर्षभित्र २० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको हो।
दिइएको समयमा जसरी भएपनि पुराना ब्रोकर कम्पनीहरुले तोकिएको चुक्ता पुँजी कायम गर्नु नै पर्ने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. नवराज अधिकारी बताउँछन्।
‘नयाँ ब्रोकर कम्पनीहरु २० करोड पुँजी कायम गरी सञ्चालनमा आउँदा पुरानालाई ३ वर्षको समय दिइएको हो। यसबीचमा पुँजी पुर्याउन नसक्ने कम्पनीलाई छुट हुँदैन,’ बोर्डका प्रवक्ता अधिकारीले क्यापिटल नेपालसँग भने, ‘ब्रोकर कम्पनीले जसरी भए पनि २०८१ असार मसान्तसम्म २० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न पर्छ। यसमा बोर्डबाट कुनै पनि छुट हुँदैन।’
बोर्डले पछिल्लो पटक नियमावली संशोधन गरेर ब्रोकर कम्पनीलाई ‘फ्रि इन्ट्री र एक्जिट’को व्यवस्था गरेको थियो। तोकिएको पुँजी कायम गर्न नसक्ने ब्रोकर कम्पनीलाई मर्जर बजारबाट बाहिरिन मर्जर तथा प्राप्ति नीति वा अन्य नीतिगत व्यवस्था गर्न छलफल गरिने उनको भनाइ छ।
पुराना ब्रोकर कम्पनीको चुक्ता पुँजी
बोर्डले तोकेको चुक्ता पुँजी कायम गरेर ४२ नयाँ ब्रोकर कम्पनी सञ्चालनमा आइसकेका छन्। हाल पुँजी बजारमा धितोपत्र दलाल व्यवसाय गर्ने ९२ ब्रोकर कम्पनी छन्। बजारमा नयाँ ब्रोकर कम्पनीसँग प्रतिस्पर्धा गर्दै व्यवसाय गर्ने पुरानाले पुँजी थप्न सकिरहेका छैनन्।
समान उद्देश्यले तथा प्रयोजनमा बोर्डबाट इजाजतपत्र लिएका कम्पनीको चुक्ता पुँजीमा एकरुपता ल्याउन थप नीति बनाइने बोर्ड प्रवक्ता अधिकारी बताउँछन्।
बोर्डबाट लाइसेन्स लिएका पुराना ब्रोकर कम्पनीले २०७९ असार मसान्तसम्म पुरानो व्यवस्थाअनुसार सबैले २ करोड चुक्ता पुँजी कायम गरेका थिए। बोर्डद्वारा संशोधित धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली २०७९ भदौ २३ देखि कार्यान्यवनमा आएको हो।
उक्त समय २९ नम्बर ब्रोकर कम्पनी दीपशिखा धितोपत्र कारोबारको मात्रै २० करोड रुपैयाँ चुक्ता पुँजी कायम थियो। साथै, ७ वटा कम्पनीको चुक्ता पुँजी १० करोडमाथि थियो। बाँकी ४३ कम्पनीको चुक्ता पुँजी २ करोडमाथि १० करोड कायम थियो। बोर्डले यी कम्पनीलाई पुँजी वृद्धि गर्न दिएको समय सकिन ९ महिना मात्रै बाँकी छ।
यस्तै, ११ वटा ब्रोकर कम्पनीले २० करोड रुपैयाँ पुँजी कायम गरे भने बाँकी ३९ लाई तोकिएको पुँजी पुर्याउन दबाब छ। २०७९ असार मसान्तयता २०८१ असार मसान्त अर्थात् २ वर्षबीचमा २५ ब्रोकर कम्पनीको ३ करोडदेखि ५८ करोड रुपैयाँसम्मले चुक्ता पुँजी थप भएको छ।
यसमा सबैभन्दा बढी सनी सेक्युरिटिजले थप्दा सबैभन्दा कम जेएफ सेक्युरिटिजको छ। २ वर्षअघि २ करोड चुक्ता पुँजी भएको सनी सेक्युरिटिज धेरै चुक्ता पुँजीको कम्पनीका रुपमा स्थापित भएको छ।
बोर्डले पुँजी बढाउन निर्देशन दिए पनि २५ ब्रोकर कम्पनीले हालसम्म १ रुपैयाँ पनि थपेका छैनन्। उक्त समय १८ करोड रुपैयाँ चुक्ता पुँजी कायम रहेको श्रीकृष्ण सेक्युरिटिजलगायत २ करोडदेखि १३ करोड चुक्ता पुँजीका ब्रोकर कम्पनीले २ वर्ष बीचमा पुँजी नथपेका हुन्।