काठमाडौं। बिहीबारदेखि शनिबारसम्मको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर हालसम्म १९२ को मृत्यु भएको र ३० जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। प्राकृतिक प्रकोपमा परेर १९४ जना घाइते भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका हुन्।
बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ। सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ। यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए।
खोटाङमा पहिरो जाँदा तराईसँग सीधा सम्पर्क विच्छेद
अविरल वर्षासँगै आएको बाढीपहिरोले जिल्लामा ३३ घर पुरिएका छन् भने दुई घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको छ।
मानवीय क्षति नभए पनि करोडौं मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। बाढीपहिरोले जिल्लामा ठूलो क्षति पुगे पनि पूर्ण विवरण अझै आई नसकेको उनको भनाइ छ।
खोटाङमा बाढीपहिरोबाट दुई घाइते भएका छन् भने १८ वटा पशुचौपाया मरेका छन्। विस्थापितको उद्धारमा तीनै सुरक्षा निकायका टोली परिचालन गरिएको खोटाङ प्रहरीलाई उद्धृत गर्दै नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
बाढी पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार साँझ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ।
बाढीपहिरोले घर बगाएर विस्थापित १३५ स्थानीयलाई नजिकको विद्यालय तथा आफन्तकामा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए। बाढीपहिरोले एउटा पक्की बगाउनुका साथै पाँचवटा झोलुंगेमा क्षति गरेको छ।
बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारको पक्की पुल बगाएको छ। खोटाङ र उदयपुर जोड्ने वंशिलाघाट, ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुंगा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुंगे बगाएको छ।
फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सीधा यातायात सम्पर्क विच्छेद भएको छ।