काठमाडौं। बिहीबारदेखि शनिबारबारसम्म निरन्तरकाे वर्षाले मुलुकको अधिकांश भूभाग डुबानमा परेका छन्। वर्षाले घर, सडक मात्र डुबानमा पारेन, धेरै सवारी साधनसमेत डुबे।
देशका अधिकांश स्थान डुबानमा पर्दा करिडोर आसपासका घर, पार्किङ स्थल, सर्भिस सेन्टर, ग्यारेजहरूमा सयौंको संख्यामा कारहरू डुबानमा परे। बाढीका कारण सयौंको संख्यामा कार क्षति भएका छन्। हालसम्म कति गाडी डुबानमा परे र कति क्षति भयो भन्ने यकिन विवरण आउन सकेको छैन।
तर, पछिल्लो समय धेरैको चासोमा रहेको विद्युतीय (ईभी)गाडी डुबानमा पर्दा समस्या आउँछ वा आउँदैन भन्ने छ किनकि अहिले नेपालमा विद्युतीय गाडी किन्ने बढिरहेका छन्। त्यसैले वर्षाका बेला विद्युतीय गाडी चलाउन हुन्छ कि हुँदैन, डुबानमा पर्दा कति समयमा गाडी बनिसक्छ र कति असर गर्छ भन्ने चासो धेरैको छ।
ईभी गाडी डुबानमा पर्दा त्यसको ब्याट्रीमा समस्या आउन सक्ने सम्भावना धेरै रहेको हुन्छ। सामान्य अवस्थामा थोरै पानिले ईभी गाडीमा समस्या नआए पनि डुबानमा नै पर्दा भने समस्या आउन सक्छ। गाडी डुबानमा परेपछि धेरै किसिमका समस्याहरु सृजना हुन सक्छन्।
बीवाइडी गाडी विक्रेता साइमेक्स इंकका विक्रि उपप्रमुम सुशिल तण्डुकारले डुबानमा परेका गाडीहरु सामान्यतया १० देखि १५ दिन भित्रमै मर्मत गरी चलाउन मिल्ने बनाइसक्ने बताउछन्। यसअघिको डुबानमा सिमित श्रोत साधनले २० देखि ३० दिन भित्रै गाडी ग्राहकलाई दिएको बताउदै अहिले सहज भैसकेकोले दुई साता भित्रै जिम्मा दिन सकिने उनको भनाइ छ।
दसैं अगाडि नै सबै गाडी ग्राहकलाई दिने गरी आफ्ना जनशक्ति तयार पारिएको र अहिलेसम्म ८ देखि १० वटा गाडी मर्मतका लागि सम्पर्कमा आएकोसमेत उनले बताए। ईभी गाडी डुबानमा पर्दा क्रिटिकल नै हुन्छ। ईभीको ब्याट्री कम्पोनेन्ट तल हुने भएकाले पानिमा डुब्दा बिग्रिएको हुन्छ। नेपालको बाटोको अवस्था राम्रो नभएकाले ठोक्किएर प्वाल पर्ने सम्भावना हुन्छ।
कुनै पनि गाडी डुबानमा पर्दा त्यस गाडी मर्मतको लागि कति समय लाग्छ भन्ने यकिन गर्न नसकिने लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक दिपक थपलिया बताउँछन्।
‘गाडीहरुमा पानी पस्दा गाडी कति ड्यामेज भएको छ र कति समयसम्म डुबानमा बस्यो र त्यसले गाडीलाई कति असर ग¥यो त्यो हेरिहेरि हुन्छ,’ प्रबन्ध निर्देशक थपलियाले भने, ‘सबै कुराहरु चेक गरेर बनाउँनु पर्ने भएकाले कम्तिमा पनि ७ दिन देखि २ महिनासम्म लाग्न सक्छ त्यो गाडीको ड्यामेज हेरेर भर पर्छ।’
कुनै पनि गाडी भित्र पानी पस्दा वा डुबानमा पर्दा इन्जिन गाडी होस वा ईभी त्यसमा भएको ड्यामेजको आधारमा सर्भिसिङ गर्नुपर्ने हुन्छ। गाडी डुबानमा पर्दा इन्जिन र ईभी दुवै गाडीमा असर पु¥याएको हुन्छ।
पारामाउन्ट मोटर्सका मार्केटिङ हेड सन्दिप क्षेत्री गाडीको नर्मल रेगुलर सर्भिसिङ गर्न ३ घण्टा लाग्छ। तर, डुबानमा परेको गाडीहरुमा के समस्या छ। कुन पार्ट विग्रीएको छ। कुन पार्टमा कस्तो समस्या आएको छ त्यो नहेरि मर्मतको लागि कति समय लाग्छ भन्ने कुराहरु थाहा पाउन मुश्किल रहेको बताउँछन्। ‘गाडीको अवस्था र त्यसमा आएको समस्या हेरेर मर्मत गरिन्छ। सामान्य ड्यामेज भए त्यो बन्नको लागि खासै समय लाग्दैन।’
देशव्यापी आइपरेको बाढी तथा डुबानका कारण क्षति भएका गाडीहरुको घरमै गएर जेकजाँच र मर्मत गर्ने व्यवस्था सिप्रदी ट्रेडिङले गरेको छ। नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक रहेको सिप्रदीले बाढीका कारण टाटाका गाडीमा आएको समस्यालाई ध्यानमा राख्दै आपतकालिन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार टाटा मोटर्सका सर्भिस टिमले घरमै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्ने र यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लगेर पनि गाडीलाई पूर्ण मर्मत गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
चार्जिङ स्टेसनमा क्षति
लगातार तीन दिनसम्म परेको वर्षाले चार्जिङ स्टेसन पनि प्रभावित भएका छन्। नेपाल विद्युत प्राधिकरणको उपत्यका र बाहिर गरी ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा छन्। प्राधिकरणको एक ठाउँको मात्र चार्जिङ स्टेसन अवरुद्ध भएको प्राधिकरणका निर्देशक टेकनाथ तिवारीले जानकारी दिए।
‘प्राधिकरणले सञ्चालन गरिरहेको ५१ वटा चार्जिङ स्टेशन मध्ये खुर्काेटको चार्जिङ स्टेशन मात्र बाढीले अवरुद्ध गरेको छ,’ निर्देशक तिवारीले भने ‘त्यसबाहे प्राधिकरणको अन्य ठाउँको चार्जिङ स्टेशन भने चलिरहेको छ।’ उनका अनुसार प्राधिकरणले राखेको खुर्काेटको एक चार्जिङ स्टेशन बाहेक अन्य ठाउँको चार्जिङ स्टेशन अवरुद्ध भएको छैन। लाइन मात्र डिस्टर्व भएको हो।