काठमाडौं। हरेक वर्षझै शनिवारबाट यस वर्ष पनि दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो। तर, बिहीबार रातीदेखि देशभर परेकाे ठूलाे वर्षाका कारण जनजीवन अस्त व्यस्त बन्यो।
टिकट खुलेकै दिन शनिबार मध्यान्ह्सम्म वर्षाका कारण राजधानीलगायत मुलुकभरका विभिन्न क्षेत्रमा यातायात अवरुद्ध भइसकेको थियो। शनिबार साँझबाट काठमाडौंलगायत अन्य क्षेत्रहरुमा वर्षा रोकिएर केही सहज महसुस भएपनि यातायात चल्ने छाँटकाँट अझै देखिएको छैन।
संघ र प्रदेश सरकारले अवरुद्ध सडक खुलाउन पहल गरेपनि आइतबार साँझसम्म काठमाडौं उपत्यकालाई जोड्ने कुनैपनि सडकहरु खुलेका छैनन्। सरकार उद्धार र राहतकै काममा व्यस्त छ। यस्तो बेला तत्काल सडक सुचारु हुने सम्भावना न्यून छ।
सवारीधनीले आफैं सामान्य सडक मर्मत गर्दै यात्रुलाई गतव्यसम्म पुर्याउने प्रयास गर्दै आएका छन्। यो दीर्घकालिन समाधान होइन र राज्यले अवरुद्ध सडक कहिलेसम्म खोलिसक्छ टुङ्गो छैन।
अझ सरकारले आइतबाट शैक्षिक संस्था ३ दिन बन्द गर्ने निर्णयसँगै देशभरिका विद्यार्थी आफ्नो थातथलो जान आतुर छन्। त्यसो त असोज १७ गते घटस्थापना भएकाले उक्त दिनबाट विद्यालय तथा विश्वविद्यालयहरु बन्द गर्ने कार्यतालिका नै थियो। अर्थात् यो साताबाट दसैंका लागि गाउँघर फर्किनेहरुको चाप स्वतह बढ्ने छ।
अन्योलमा यातायात व्यवसायी
सडक अवरुद्ध छन्। सवारी साधन चलेका छैनन्। हवाइ यात्रा सर्वसाधारणको पहुँच बाहिर छ। यस्तो अवस्थामा अग्रिम टिकट बिक्री गर्ने गरी सुरु गरिएको प्रक्रिया कसरी अगाडि बढाउने भन्नेमा यातायात व्यवसायी नै अन्योलमा देखिन्छन्।
भाडा समायोजन र सडक राम्रो नभएको भन्दै यो वर्ष अग्रिम टिकट बुकिङ खुलाउने विषयमा व्यवसायीले केही दिन ढिलाइ गरेका थिए। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले छठ पछि भाडा समायोजन गर्ने र सडक विभागले घटस्थापना अघि सडक मर्मत गर्ने प्रतिबद्धता जनाएपछि मात्रै यातायात व्यवसायी अग्रिम टिकट बुकिङ खुलाउन तयार भएका थिए। तर, बुकिङ खुलेकै दिनबाट सडक लथालिङ्ग पछि व्यवसायीहरु अन्योलमा परेका हुन्।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला कसरी सवारी चलाउने भन्ने विषयमा आफुहरु अन्योलमा रहेको बताउँछन्। ‘अग्रिम टिकट बुकिङ सुरु भएको छ तर, सवारी चलाउने कसरी हो थाहा छैन’ वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘सरकारले यो विषयमा छलफल गर्ने प्रतिक्षमा हामी छौं।’ उनकाअनुसार सडक अवरुद्ध भएपनि टिकट बुकिङ रोकिएको छैन। २०÷२१ गते अर्थात् घटस्थापना पछिबाट उपत्यका छोड्ने यात्रुको संख्या बढ्ने यातायात व्यवसायी बताउँछन्।
सडक मर्मत तिब्र:भौतिक मन्त्रालय
सडक विभगको तथ्यांकअनुसार आइतबार साँझसम्म १८ वटा राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध छ। १७ वटा राजमार्गका ४७ स्थानमा यातायात सेवा पूर्ण टुटेको छ भने ४०१ स्थानमा एकतर्फी मात्रै यातायात चलाउन सकिएको विभागले जनाएको छ। त्यस्तै शनिबार र आइतबार गरी ५ वटा मोटोरेवल पुल बगाएको विभागको तथ्यांक छ।
भौतिक मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार देशभरी २६४ वटा इक्यूपमेन्ट प्रयोग गरेर सडक मर्मत एवं उद्धार भइरहेको छ। दसैं नजिकिदै गएकाले सडक मर्मत, वैकल्पिक बाटो प्रयोगको विषयमा मन्त्रालय र विभाग लागिरहेको उनले बताए। ‘आइतबार बिहान ११ बजे कसरी सडक खुलाउने भनेर भौतिक मन्त्रालयमा बैठक बसेको थियो तर, अहिले नै कहिलेसम्म राजमार्गहरु खुल्छन् भन्न सक्ने अवस्था छैन’ प्रवक्ता ढकालले भने।
साथै सडकसञ्जालमा बाढीले पुर्याएको क्षतिको विवरण पनि भन्न नसकिने उनको भनाइ छ। यद्यपि सडकहरु मर्मत गर्ने तथा बाढीले बगाएका पुलहरुमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र विभाग लागि रहेको उनको भनाइ छ।
यात्रा नभए पैसा फिर्ता
यातायात व्यवस्था विभागले खुल्ला भएको अग्रिम टिकट बुकिङ निरन्तर हुने जनाएको छ। विभागका निर्देशक एवं सूचना अधिकारी ईश्वरीदत्त पनेरु मौसममा क्रमिक सुधार भएकाले अब यातायात सञ्चालन हुने बताउँछन्। ‘मौसममा सुधार भएको छ सडक बन्ला, यात्रुले पनि आफ्नो क्षेत्रको बाटोको अवस्था बुझेर टिकट लिएका होलान्’ क्यापिटल नेपालसँग सूचना अधिकारी पनेरुले भने, ‘सवारी चल्न नसेकेको अवस्थामा व्यवसायीले पैसा फिर्ता गरेनन् भने विभागले एक्सन लिन्छ।’ आइतबारसम्म काठमाडौं उपत्यकाबाट बाहिर जाने कुनैपनि राजमार्ग सञ्चालन हुन सकेका छैनन्।