काठमाडौं। नेपाल बिमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बिमालाई सामूहिक बिमा कोष (पूल) मार्फत् सञ्चालन सुरु गरेको छ। प्राधिकरणले कम्पनीहरुको वैदेशिक रोजगार बिमाबाट प्राप्त बिमाशुल्कमध्ये ३१ प्रतिसत मात्र सम्बन्धित कम्पनीलाई दिने व्यवस्था गरेको हो। बाँकी ६९ प्रतिशत बिमाशुल्क भने दामासाहीमा १७ कम्पनीले बाँड्ने छन्।हाल पुलमा १४ जीवन बिमा कम्पनी र ३ लघु जीवन बिमा कम्पनी गरि १७ कम्पनी सहभागि छन्। पुल निर्देशिकाले पहिलो वर्ष ६९ः३१ को अनुपातमा आम्दानी र दायित्व बाँडफाँड गरेपनि दोस्रो र तेस्रो वर्षका लागि फरक अनुपात निर्धारण गरेको छ।
यद्यपी प्राप्त बिमाशुल्कको एक प्रतिशत कोष प्रवन्धकलाई दिनुपर्ने छ। कोष प्रवन्धकलाई दिएको रकम पछि मात्रै समानुपातिक हिसाबले बाँटफाँड गरिनेछ। बिमालेख जारी गर्ने कम्पनीहरुले दोस्रो वर्ष १५.५ प्रतिशत र तेस्रो वर्ष ०.१० प्रतिशत बिमाशुल्क आफुसँग राखेर आम्दानी र दायित्व बहन गर्ने व्यवस्था गरिएको छ। पहिलो वर्ष ४.६ प्रतिशतका दरले ६९ प्रतिशत रकम बाँडिने छ भने दोस्रो वर्ष ५.७ प्रतिशतका दरले ८५.५ प्रतिशत र तेस्रो वर्ष ६.९९ प्रतिशत गरी ९९.९ प्रतिशत रकम बाँटफाँड हुने छ।
आर्जित बिमाशुल्क पुलमा नगई एउटै बिमा कम्पनीले लिँदा अस्वस्थ प्रतिस्पर्धा भएको आरोप लाग्दै आएको थियो। त्यति मात्रै होइन कम्पनीहरुले अनावश्यक रुपमा बिमा अभिकर्ता सिर्जना गरेर अधिक खर्च गर्ने गरेको आरोपसमेत लाग्दै आएको थियो। वैदेशिक रोजागार जीवन बिमालेखमा समस्या देखिएपछि प्राधिकरणले यसअघि बैदेशिक रोजगार म्यादी जीवन बिमा सामुहिक बिमा कोष (पूल) स्थापना तथा संचालन सम्बन्धी निर्देशन, २०८१ जारी गरेको थियो। त्यसअुरुप साउन १ गतेदेखि बिमाशुल्क कम्पनी र पुलमा जाने व्यवस्था कार्यान्वयन आएको हो।
प्राधिकरणका प्रवक्ता सुशिलदेव सुवेदीले बिमा कम्पनीहरुद्वारा जारी वैदेशिक रोजगार म्यादी बिमालेखको दायित्व र आम्दानी पुलमा गएसँगै अस्वस्थ प्रतिस्पर्धा अन्त्य भएको बताए। ‘साउन १ देखि नै वैदेशिक रोजगार म्यादी जीवन बिमालेखको दायित्व र आम्दानी पूलमार्फत् विभिाजन गरिएको छ,’ प्रवक्ता सुवेदीले भने, ‘व्यवसाय संकलन गर्ने कम्पनीलाई केही प्रतिशत राखेर बाँकी सबै कम्पनीमा समानुपातिक तबरमा विभाजन गर्ने व्यवस्था भएको छ।’
पुल निर्देशिकाअनुसार बिमालेख बिक्री गर्ने कम्पनीले ३१ प्रतिशत आफूसँग राखेर बाँकी रकम पुलमा पठाउनु पर्नेछ। पुलमा गएको व्यवसायलाई ३ आर्थिक वर्षमा विभाजन गरी दायित्व र आम्दानी बाँडफाँड गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ। वैदेशिक रोजगार म्यादी जीवन बिमा व्यवसायमा भित्रिएको ‘कमिसन विकृति’ रोकी पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन पुलको स्थापना गरिएको हो। जीवन बिमा कम्पनीहरुले सम्पूर्ण व्यवसाय बढाउन वैदेशिक रोजगार म्यादी जीवन बिमालेखमार्फत् प्राप्त बिमाशुल्कको ८५ प्रतिशतसम्म कमिशनमा खर्च गर्ने गरेका थिए।
साउन १ देखि पुलमा जम्मा भएको बिमाशुल्कले वैदेशिक रोजगार म्यादी जीवन बिमाको दावी व्यवस्थापन गर्न बिमा कोष स्थापना हुनेछ। दावी व्यवस्थापनको जिम्मेवारी प्राधिकरणले जीवन बिमक संघलाई दिएको छ भने संघले कोष स्थापनाको प्रक्रिया अघि बढाएको छ। पूलमार्फत् वैदेशिक रोजगार म्यादी जीवन बिमा व्यवसाय गर्न जीवन बिमा कम्पनीहरु वैदेशिक रोजगार विभागमा सूचीकृत भएको अर्को महिनादेखि सामुहिक बिमा कोषमा सहभागि हुन पाउनेछ।
बिमा कम्पनीहरुले साउन १ देखि भदौसम्म २१ लाख ५५ हजार २ सय १५ वटा बिमालेख विक्री गरी ४९ करोड २६ लाख रुपैयाँ बिमाशुल्क उठाएका छन्। त्यसमध्ये सबैभन्दा धेरै हिस्सा सन नेपाल लाइफको ३०.३२ प्रतिशत छ भने नेपाल लाइफको १७.२७ प्रतिशत, आइएमई लाइफको १२.४४ प्रतिशत, सुर्यज्योति लाइफको १०.०९ प्रतिशत, सानिमा रिलाइन्सको ७.२४ प्रतिशत, नेशनल लाइफको ६.५७ प्रतिशत र रिलायबल लाइफको ५.८१ प्रतिशत छ। सामान्यतयाः वैदेशिक रोजगार म्यादी जीवन बिमा ३ वर्षका लागि विक्री गरिन्छ र त्यसपछि स्वतः खारेज हुन्छ। निर्देशिकाले पुल संचालनका लागि छुट्टै बैंक खाताको व्यवस्था गरेको छ। कम्पनीहरुबाट दैनिक बिमाशुल्क प्राप्त भएको आधारमा प्राप्त ब्याज आम्दानी र दावी भुक्तानीको रकम मासिक रुपमा बाँटफाँड हुनेछ।
त्यस्तै, हरेक कम्पनीले आफुले जारी गरेको म्यादी बिमालेखको विवरण दैनिक रुपमा कोष प्रवन्धक समक्ष पेश गर्नु पर्नेछ। ३ महिनासम्म वैदेशिक म्यादी जीवन बिमा जारी नगरेमा पुलमा सहभागि गराइने छैन। कामका लागि विदेश जाने हरेक नेपालीले अनिवार्य रुपमा वैदेशिक रोजागार म्यादी जीवन बिमालेख किनेको हुनुपर्छ। बिमालेख नदेखाए वैदेशिक रोजगार विभागले विदेश जान रोक लगाउन सक्छ।