काठमाडौं। सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले घटेको छ। प्रि–ओपन सेसनबाटै घट्न थालेको नेप्से मध्यान्हसम्म निरन्र घट्दै सवा १२ बजेटसम्म २४४२.६३ विन्दुसम्म झरेको थियो।
तर, त्यसपछि बढ्दो माहोल बनाएको नेप्सेले पौने २ बजेतिर बिहीबार रोकिएको सूचक २४८६.७६ अंकभन्दा माथि २४९४.५७ विन्दुसम्म पुग्यो। उकालो लाग्दै गरेको बजार सूचक धेरै बेर टिकेन र फेरि निरन्तर ओरालो लाग्यो।
यद्यपि, अन्तिम समयमा केही अंक उचालिएजस्तो भएर बिहीबारको तुलनामा २२.३६ अंकले घट्दै २४६४.४० बिन्दुमा बन्द भयो। आइतबार सेयर बजारमा कुल ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये ४६ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आइतबार वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक अर्थात् ६.६५ प्रतिशतले बढ्दा कुमारी सबल योजनाको सेयर मूल्य ६.४९ प्रतिशतले बढेको छ।
यस्तै, आइतबार अपर स्यांगे हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक अर्थात् ९.९९ प्रतिशतले घटेको छ। आइतबार उत्पादन समूहको सेयर मूल्य १.०३ प्रतिशतले बढ्नुबाहेक अन्य सबै समूहको घटेको छ।
आज बैंकिङ समूहको सेयर मूल्य ०.७४ प्रतिशत, विकास बैंक समूहको ०.८९ प्रतिशत, फाइनान्स समूहको १.९१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४७ प्रतिशत र जलविद्युत समूहको सेयर मूल्य २.३६ प्रतिशतले घटेको छ।
यस्तै, लगानी समूहको सेयर मूल्य १.४० प्रतिशत, जीवन बिमा समूहको ०.३१ प्रतिशत, लघुवित्त समूहको ०.१८ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य ०.१५ प्रतिशतले घटेको छ।