काठमाडौं। ११ वटा ब्रान्डका पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरले विक्रीमा रोक लगाएको छ। भदौ १२ र २८ गतेबीच विभिन्न स्थानबाट २१ वटा पानीको नमूना लिएर गरिएको परीक्षणपछि पिउन अयोग्य रहेको पुष्टि भएको भन्दै बिक्रीमा रोक लगाइएको हो।
उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।
प्रति १ सय मिलिलिटर नमूना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सीएफयू) मापदण्ड विपरीत देखिएको छ। कोलोनी फर्मिङ् युनिट (सिएफयु) सुक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो। पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो।
जरिवाना र विक्री वितरणमा रोक लगाइएका पानीका ब्राण्डमा व्याच नं. १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ् युनिट (सीएफयू) देखियो। पञ्चरत्न ग्रुपले टोखा नगरपालिका ८ बाट यो पानी उत्पादन गरिरहेको छ। व्याच नं. १२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० कोलोनी फर्मिङ् युनिट (सीएफयू) देखियो। अक्वा पिस टोखा ८ मा रहेको पिस स्प्रिङ् वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा, टोखाकै अक्वा एस. एन. एस. वेभरेजले उत्पादन गरिरहेको छ।
कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फुड एण्ड वेभरेजद्वारा सञ्चालित व्याच नं. ६ को कोलभोतेश्वर व्राण्डको पानीमा कोलिफर्मको मान ११६ कोलोनी फर्मिङ् युनिट (सीएफयू) छ। यो पानी उत्पादन गरेको हो।
गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिवी, कागेश्वरी मनोहरा ६ मा रहेको स्नो क्युव ड्रिङ्किङ् वाटरले उत्पादन गर्ने अकुवा, गोकर्णेश्वरमा रहेको स्तुपा इष्डष्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिङिकङ् वाटर र गोकर्णेश्वरमा सञ्चालित मुन लाइट स्प्रिङ् मिनरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटिएको छ।
अक्वा कपन र अक्वा गौरशंकरमा पनि कोलिफर्म भेटियो। अक्वा कपन एम. के. मिनरल वाटर उद्योगले बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रबाट उत्पादन गर्छ। अक्वा गौरी शंकर, गोकर्णेश्वरमा रहेको कोशी मिनरल उद्योगले उत्पादन गर्छ।
खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ। फिकल कोलिफर्म दिशामा पाइन्छ। दिशामा पाइने सुक्ष्मजीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ ।