करिब तीन दशक लामो यात्रा पार गरेको नेपाली पुँजीबजार अझै सबल बन्न सकेको छैन। वर्षौंदेखि पुँजीबजार सुधारका लागि गरिने भनेका र सरकारका नीतिमा परेका कार्यक्रमहरु छोटो समयको चर्चासँगै गुमनाम बन्ने गरेका छन्। पुँजीबजारसँग सम्बन्धीत निकाय, नियामक, लगानीकर्ता, स्टेकहोल्डहरुले समग्र पुँजीबजारलाई सबल बनाउने विषय मागीखाने भाँडोकारुपमा मात्रै प्रयोग गरेका छन्। बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र कारोबार बढ्दा बजार राम्रो भएको र घट्दा नराम्रो भएको भन्ने भाष्य नेपाली सेयर बजारमा व्याप्त छ।
सेयर बजारका लागि धितोपत्र औजारको विविधीकरण गर्ने, डेरिभेटिभ बजार सञ्चालन गर्ने, सर्टसेलको व्यवस्था, नेप्से ३० र एसएमई प्लेटफर्म सञ्चालन, मार्जिन कारोबार, ट्रेडिङ (एक दिनमै सेयर किनेर बेच्ने मिल्ने) जस्ता दजनौं मुद्दा अगाडि बढ्न सकेका छैनन्। अझ, यी विषय कार्यान्वयमा नआउनु त टाढाको कुरा हो। सेयर खरिदबिक्री गर्ने समयमा लगानीकर्ताको टिएमएस नचल्ने, नेप्से सिस्टममा समस्या आउने जस्ता आधारभूत समस्यासमेत समाधान हुन सकेका छैनन्। लगानीकर्ताले सेयर कारोबारमा नयाँ प्रविधि, नयाँ प्रकृति र विस्तारीत क्षेत्रको अनुभूती गर्न पाएका छैनन्।
खासगरी, नेप्सेको प्रणालीमा वाईको प्रवेश गरेर बजार प्रभावित पार्ने गरेको, नेप्सेको सिस्टममा पटकपटक समस्या आउने गरेको, नेप्सेले आफ्नो काम कर्तव्य सही ढंगमा निर्वाह गर्न नसकेको गुनासो लगानीकर्ताबाट उठिरहन्छ। पछिल्लो पटक सेयर बजार अस्वभाविक ढंगमा घटेको गुनासो बढेपछि सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वयम् नेप्से गएर निरीक्षण गरे। नेप्सेले बजारका समस्या तथा लगानीकर्ताको गुनासो सम्बोधन नगरेको विषय अहिले पनि उठिरहेको छ। यहि, सन्दर्भमा नेपाली सेयर बजारको समस्या, नेप्सेले बजारका लागि खेलिरहेको भूमिका, आगामी उद्देश्य, योजना र सेयर लगानीकर्ताको गुनासोका विषयमा केन्द्रीत रहेर क्यापिटल नेपालका पदम भुजेलले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णबहादुर कार्कीसँग गरेको कुराकानीको सम्पादीत अंश:
सेयर बजार निरन्तर घटेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेप्सेसम्मै आइपुग्नुभयो। अर्थमन्त्रीलाई बजार घट्नुको कारण के दिएर पठाउनु भयो?
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदबहाली हुनेवित्तीकै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को लाइभ ट्रेडिङ हेर्छु भनेर भेटका क्रममा भन्नु भएको थियो। तर, नेप्सेको कार्यालय आईपुग्दा बजार परिसूचक घटेको समय पर्यो जुन संयोग मात्रै हो। बजार घटेको भन्दै चासो जनाएर उहाँ आउनु भएको होइन। नेप्से आउने योजना उहाँको पहिल्यै देखिको भएपनि यहाँ आउँदा बजार घटेको संयोग परेकाले धेरैले बजार घटेपछि अर्थमन्त्री नेप्से पुगे भन्ने ढंगमा चर्चा गरेका हुन्। अर्थमन्त्रीले यहाँको सिस्टम, डाटा सेन्टर, कार्यालय अवस्था लगायतका विषय निरीक्षण गर्नुभयो।
अर्को पक्षमा बजार घट्नुका कारणहरु के छन्? नेप्सेका समस्याहरु केके छन्? बजार सुधारका लागि नेप्सेले गर्ने नीतिगत कुराहरु के कस्ता छन्? लगायतका कुरामा जिज्ञासा राख्नुभयो। अर्थमन्त्री नेप्सेमा आउँदा उहाँसँगै धितोपत्र बोर्डका अध्यक्ष पनि हुनुहुन्थ्यो। नेप्से, सेबोन र अर्थमन्त्रालय एकै ठाउँमा भएको हुनाले बजारमा रहेका बाधाअवरोधका कुराहरुलाई सम्बोधन गरौं भन्ने पक्षबाट पनि छलफल भयो। बजारका समग्र समस्या के छन् र कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा नै अर्थमन्त्री बढी केन्द्रीत हुनुहुन्थ्यो।
बजार प्रतिस्पर्धी भनिएपनि अझै सीमित समूह र व्यक्तिले आफ्नो काबुमा राखेको र कतिपय बेला नेप्सेले पनि वाईकोमार्फत् बजारलाई आफ्नो नियन्त्रणमा राख्ने गरेको आरोप लाग्ने गर्छ। यसमा कति सत्यता छ? यस्तो आरोप किन लाग्ने लागि रहन्छ?
हामीले यी कुरा गर्दै गर्दा सुरुमा हाम्रो बजारलाई हेर्नुपर्ने हुन्छ। बजारमा अहिले ६३ लाखले डिम्याट खाता खोेलेका छन्। ३८ लाख भन्दा बढीले दोस्रो बजारमा कारोबारका लागि अनुमति लिएका छन्। २० लाख अनलाईन ट्रेडिङ गर्ने छन् भने दुई लाख जतिले हाम्रो अनलाइन सिस्टम ट्रेडिङमा दैनिक लगइन गरेको पाइन्छ। हाम्रोमा करिब ८ हजार संस्थागत लगानीकर्ता छन् भने बजारको क्षेत्र निकै ठुलो भइसकेको छ। यसर्थ, यहाँ कुनै व्यक्ति वा समूहको नियन्त्रणमा बजार चल्छ भन्ने विषय आशंका मात्रै हो। त्यसमा कुनै किसिमको सत्यता छैन। बजारलाई कसैले आफ्नो नियन्त्रणमा राख्न सक्दैन।
बजार आफ्नै गतिमा चल्छ र त्यसलाई हाम्रो प्रणालीले पनि सपोर्ट गरेको छ। बजारलाई कसैले नियन्त्रण गर्छ भन्ने कुुरालाई हाम्रो सिस्टमले कुनै पनि हालतमा सहयोग गर्दैन। यस्तै, वाइकोमार्फत् नेप्सेले बजार नियन्त्रण गर्छ भनेर हजुरले जुन प्रश्न उठाउनु भयो त्यसमा पनि कुनै सत्यता छैन। वाईको हाम्रो सिस्टम डेभलपर हो। उसले प्रणाली विकास गरेपछि त्यसलाई हस्तान्तरण गरिसकेको छ। सिस्टम डेभलपर भएकोले केहिलेकाँहि समस्या आउँदा हामीले उक्त समस्या समाधानका लागि वाईकोको सहयोग लिने गरेका छौं।
अन्यथा, वाइकोमार्फत् नेप्सेले बजार नियन्त्रणमा राख्न सक्दैन र गर्दा पनि गर्दैन। हामीले हरेक दुई वर्षका आईटी (सूचना प्रविधि) प्रणाली अडिट गराउनुपर्ने हुन्छ। यसको अडिट पनि स्वतन्त्र अडिटरले गर्दछ। हामीले नियमितरुपमा यो अडिटको काम गर्दै आएका छौं। विगतको वर्षमा सेबोन र अर्थमन्त्रालयले यहाँ छुट्टै कमिटी गठन गरेर आईटी सिस्टमको निरीक्षण गर्ने काम भएको थियो। त्यो समयमा पनि खास समस्या देखिएको थिएन र हालसम्म त्यस्तो गम्भिर किसिमको समस्या छैन।
खासगरी बजार बढ्ने समयमा र बजार घट्न नचाइरहेको समयमा वाईकोले बजार घटाउन भूमिका खेलेको भन्ने विषय पनि बेलाबेला लगानीकर्ताले उठाइरहेका हुन्छन्। यस्तो प्रश्न खडा हुनुको कारण के हो?
यस प्रश्नको जवाफ अघिल्लो प्रश्नमा नै करिबकरिब आइसकेको छ। वाईकोले सिस्टम विकास गरेर हामीलाई दिइसकेको छ। पहिला म आउनु भन्दा अगाडि नेप्से कार्यालयमै १५ देखि २० जनाको वाईकोका कर्मचारी बसेर काम गर्नुहुन्थ्यो। तर, म आएदेखि वाईकोका कर्मचारीले गर्ने काम हाम्रो कर्मचारीमार्फत् नै हामीले गराउँदै आएका छौं। हुनतः त्यो समयमा वाईकोले नेप्से कार्यालयबाट कतिपय काम गर्दा पनि बजार प्रभावित काम गर्ने काम हुँदैन थियो। आशंका गर्ने ठाउँ भने हुन्थ्यो।
वाईकोले केही गर्नुपर्ने देखियो भने नेप्सेले लगइन गर्नका लागि निश्चित समयका लागि मात्रै चल्ने पासपोर्ट दिन्छ र त्यसको आधारमा काम गर्ने हुन्छ। सो काम सकिएपछि स्वतः उसको पहुँच बन्द हुन्छ। नेप्सेको अनुमति बिना वाईको आफैंले सिस्टममा पहुँच पुर्याउन वा कुनै परिवर्तनको काम गर्न पनि सक्दैन। यसर्थ, वाईकोले बजार घटाउन वा बढाउन भूमिका खेल्यो भन्ने विषयमा सत्यता छैन।
सेयर लगानीकर्ता र ब्रोकरबीच समयमा भुक्तानी नगरिएको विषय वर्षौंदेखि बल्झिदै आएको छ। पछिल्लो पटक पनि यो विषय सिआईबीसम्म पुग्यो। तोकिएको सीमा भित्र (३ दिन भित्र) भुक्तानी राफसाफ गर्ने र सेयर नामसरी गर्ने काममा वा यस्तो समस्या आउन नदिन तपाईंहरुले भूमिका खेल्नु पर्दैन?
सेटलमेन्टमा हामीले टी प्लस टूलाई अपाएका छौं। यसबाट कसैलेपनि दायाँबायाँ गर्न पाउँदैन। ब्रोकरले बिक्री गरेको छ भने त्यो पनि टी प्लस टूभित्रै ग्राहकलाई दिनुपर्ने हुन्छ र ग्राहकले लिएको छ भने ब्रोकरलाई नि त्यहि समयमा दिनुपर्ने हुन्छ। कहिलेकाँही हामीले विभिन्न गुनासोहरु पनि सुन्ने गरेका छौं।
यस्ता गुनासो आउनसाथ हामी तत्कालै त्यसलाई हेरेर सुधार गर्न समयसिमा नै तोक्ने काम गर्छौं। भुक्तानीको समस्या केही मात्रामा केहिलेकाँही आउने गर्छ। वास्तावमा, भुक्तानी हुन नसकेको खण्डमा बजार चल्नै सक्दैन। यस्तो किसिमको सीमित गुनासो हामीले हाम्रोतर्फबाट समाधान गर्ने गरेका छौं।
सेयर बजार सुधारका विविध पक्षमध्ये नेप्से संरचना, नेप्सले काम गर्ने प्रवृत्तिमा पनि सुधार गर्नुपर्ने विषय उठ्दै आएको छ। नेप्सेले आफूलाई सुधार गर्न केले रोकेको छ?
नेप्से पुनर्संरचनाको विषय हामीले अर्थमन्त्रालयमा पेस गरेका छौं। अहिलेको सेयर संरचनालाई फराकिलो बनाएर लग्दा प्रभावकारी हुन्छ भन्नेमा छलफल गरेर, विभिन्न देशका असल अभ्यासलाई हेरेर सोही किसिमको योजना अर्थमा पेस गरेका छौं। सर्वसाधारणको सहभागिताका लागि सेयर जारी गर्नेदेखि राम्रो विदेशी स्टक एक्सचेञ्जसँग रणनीतिक साझेदारी गर्नेसम्मको योजनामा हामी छौं। राम्रो विदेशी स्टक एक्सचेञ्जसँग रणनीतिक साझेदारी गर्ने अभ्यासले अरु देशमा पनि राम्रो भएको देख्न सकिन्छ। यसैले, रणनीतिक साझेदारीमा जाने र अहिले भइरहेको सेयरलाई पनि प्रतिस्पर्धाको आधारमा बेचेर स्वामित्व घटाएर अन्य संघसंस्थालाई आवद्ध गर्ने प्रस्ताव हाम्रो छ।
नेप्सेको सेयर सर्वसाधारणमा लग्ने कुरामा हामीले प्रतिशत छुट्याएर पठाएका छौं। अब कसरी स्वीकृत हुन्छ भन्ने विषयले त्यसको निर्धारण गर्नेछ। कर्मचारीको कुरा गर्दा हाम्रो जनशक्तिमा तालिमको केही कमि भएको हुनसक्छ। अन्यथा, त्यस्तो खास किसिमको समस्या आइसकेको छैन। धेरै काम सिस्टम र आईटीबाट नै हुन्छ। म धेरै ठाउँमा काम गरेर आएकोले त्यहाँ र यहाँ तुलना गर्दा यहाँ धेरै छिटो काम हुने गरेको देखिन्छ। गुनासो गर्ने ठाउँ रहनेगरी हामीले काममा ढिलासुस्ती गरेका छैनौं।
सर्टसेल, इन्ट्राडे ट्रेडिङ, डेरीभेटीभ जस्ता उपकरण हाम्रोमा प्रयोगमा ल्याउन नसक्नुको कारण के हो? चर्चा हुने तर, कार्यान्वयनमा आउन नसक्ने किन हुुन्छ?
हामीले यी सबै कुराहरु कार्यान्वयका विषयमा विभिन्न पाटोबाट अध्ययन गरिरहेका छौं। यी कुरा कति आवश्यक छन्? अगाडि जानलाई के गर्नुपर्छ? सम्भावना कस्ता छन्? के कस्ता पूर्वाधार तयार हुनुपर्छ? जोखिम के आउन सक्छ? जस्ता कुराको अध्ययन गरिरहेका छौं। यी विषयलाई सम्बोधन गर्नका लागि हाल नीतिगत व्यवस्था नै नभएको अवस्था छ।
धितोपत्र ऐन, विनियमावली संशोधन गरेर यी कुरालाई सम्बोधन गरेमा र प्रविधि पनि सोहीअनुसार भित्र्याएको खण्डमा मात्रै यसतर्फ जान सकिन्छ। साथै, यसका लागि जनशक्ति पनि सोहीअनुसारको तयार गर्नुपर्ने हुन्छ। यी सबै विषयका बारेमा चर्चा भएपनि कार्यान्वयमा जानका लागि भने केही समय लाग्ने देखिन्छ। ऐन, नियम संशोधन गरेर जानुपर्ने भएकाले यी केही समय लाग्ने विषय हुन्।
हाम्रोमा मार्जिन लेन्डिङ नहुँदा राष्ट्र बैंकले सीमा तोकेर सेयर कर्जा दिनुपर्ने अवस्था छ। खासगरी, मार्जिन लेन्डिङमा जान केले रोकेको छ? सीमा तोकेर सेयर कर्जा दिनुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ?
पुँजी बजारमा दुई प्रकारबाट कर्जा प्रवाह हुने गरेको छ। एउटा कर्जा सेयर खरिद गरिसकेपछि सोही सेयर धितो राखेर लिइन्छ जुन हाम्रो अभ्यासमा छ। अन्यत्र, सेयर किन्नलाई कर्जा पाइन्छ। मार्जिन लेन्डिङमा जानका लागि विभिन्न समयमा छलफल पनि भएको छ। तर, मार्जिन लेन्डिङमा जानका लागि प्रविधि, जनशक्ति र सञ्चालन गर्ने सम्बन्धीत कारोबार सदस्य पनि सोही हिसाबमा तयार हुनुपर्ने हुन्छ।
ब्रोकरहरु पनि यसका लागि प्रविधि, जनशक्ति र पूर्वाधारमा सक्षम हुनुपर्छ। त्यो भन्दा अगाडि हाम्रो नियमनकारी निकायहरुले त्यसका लागि आवश्यक नीति निर्माण गर्न जरुरी छ। कानुन तथा अन्य धेरै कुराहरुमा हामीले यसतर्फ जाने तयारी गर्नुपर्ने आवश्यक्ता छ। तर, सबैले आफ्नोआफ्नो तर्फबाट काम गरेमा र सहकार्य गरेर अगाडि बढेमा यसतर्फ जानका लागि धेरै समय भने लाग्दैन।
नेप्से ३० रोकिनुपर्ने कारण के हो? तपाईंहरुले सरकारलाई बुझाउन नसक्नु भएको हो?
नेप्से ३० कार्यान्वयनमा नआएको हुनाले रोकिएको भन्न मिल्दैन। यसलाई सञ्चालनमा ल्याउनका लागि नेप्से सञ्चालक समीतिले एउटा उपसमिती गठन गरेर धेरै देशको अभ्यास हेर्ने र हाम्रो देशको औचित्यबारे अध्ययन गर्ने काम गरेको थियो। तर, पछि सरोकारवालसँग छलफल गर्दा यसलाई केही समय पछि ल्याउँदा राम्रो हुन्छ भन्ने सुझाव आएको हुनाले हाल होल्ड मात्रै गरिएको हो। परीक्षणमा गएपछि पनि सरोकारवालासँग छलफल गर्दा केही समय पछाडि ल्याउँदा उपयुक्त हुने भनिएपछि हामीले अहिल्यै ल्याउन बल गरेर पनि हुँदैन। यसर्थ, यो अहिले नेप्से ३० होल्ड अवस्थामा छ।
कर्नरीङ, पुलिङ, पम्पिङ एन्ड डम्पिङ न्यूनिकरणका लागि नेप्सेले के कस्ता काम गरिरहेको छ? की यी कुराहरु हाम्रो बजारका लागि आवश्यक छन्?
हामीले दुई किसिमले बजारको सुपरीवेक्षण गर्ने गरेका छौं। एउटा अनसाइड अर्थात् यहिँबाट सुपरीवेक्षण गर्छौं र अर्को अफसाइड अर्थात् स्थलगत सुपरीवेक्षण गर्छौं। सुपरीवेक्षणका क्रममा आएको गुनासा, देखिएका समस्या, लगानीकर्ताको गुनासा तथा सुझावलाई जतिसक्दो छिटो समाधान गर्ने काम हामीले गरिरहेका छौं। कर्नरीङ, पुलिङ, पम्पिङ एन्ड डम्पिङ बजारका लागि आवश्यक होइनन्। यी नकरात्मक विषय भएकाले आवश्यक हुने कुरा पनि भएनन्। बरु यस्ता क्रियाकलापलाई कानुनी दायरामा ल्याउनुपर्ने हुन्छ।
ओटीसी मार्केटको अनलाइन कारोबार गर्ने प्रक्रिया कहाँ पुगेर बसेको छ? किन सुरु हुन सकेन?
ओटीसी मार्केट भनेको दोस्रो सेयर बजारमा नगएका तथा दोस्रो बजारमा गएर डिलिस्टेड भएका कम्पनीहरुका लागि सञ्चालन हुने बजार हो। यो छुट्टै बजार सञ्चालन हुन्छ भन्ने होइन। ओटीसी अनलाइन कारोबार पनि हाम्रो अहिलेको दोस्रो बजार जस्तै हो। यसमा करिब २०० बढी कम्पनी दर्ता भइसकेका छन्। हामीले यसको कार्यान्वयनका लागि विगतका वर्षमा प्रणाली तयार गरेर परीक्षण पनि सकिसकेको छ। अहिले कार्यान्वयनका चरणमा छौं। परीक्षणमा गइसकेकोले अब छिट्टै कार्यान्वयनमा आउँछ।
सूचीकृत कम्पनीको अध्यावधिक विवरण राख्न नेप्से चूकिरहेको छ। यसले पनि बजार म्यानुपुलेसनमा सहयोग पुगेको जस्तो लाग्दैन?
सूचीकृत कम्पनीको अध्यावधिक विवरण राख्न नेप्से चूकिरहेको छ भन्ने विषयमा म खासै सहमत छैन। हामीले सम्बन्धीत कम्पनीको आधिकारीक व्यक्तिलाई युजरनेम र पासपोर्ट दिन्छौं। हामीले तोकेको विवरण फेरबदल हुनसाथ उसले त्यहिँबाट अपेडट गर्छ र हाम्रो सिस्टममा बस्छ। यसका लागि हामीले एकदमै प्रभावकारी माध्यम प्रयोग गरेका छौं। चिठी लेख्नुपर्ने, फोन गर्नुपर्ने झन्झट छैन।
यद्यपि, ग्रामीण भेगमा रहेका कतिपय कम्पनीले भने यसरी सहजै अध्यावधिक गराउन नसकेको समस्या हामीले महसुस गरेका छौं। खासगरी, ग्रामीण क्षेत्रमा रहेका जलविद्यतु र लघुवित्त कम्पनीहरुबाट विवरण अध्यावधिक हुन केही समस्या देखिन्छ। तर, हामीले उनीहरुको विवरण पनि अध्यावधिक गराउन एकदमै ताकेता गरिरहेका हुन्छौं।
नेप्सेले सूचीकृत कम्पनीहरुको ग्रेडिङ गरेर राखेको हुन्छ। तर, केको आधारमा त्यो ग्रेडिङ गरिएको हो? कम्पनीहरुको ग्रेडिङ हेर्दा सहि तरिकाबाट नगरिएको देखिन्छ?
कम्पनीले बुझाउने विवरण, कम्पनीको नाफा लगायतका धेरै कुराहरु हेरेर हामीले ग्रेडिङ गरेका हुन्छौं। हामीले कार्यविधिले तोकेअनुसार नै ग्रेडिङ गरेर नेप्सेमा राख्ने गर्दछौं।
तपाईं सरकारकै अंगको एउटा जिम्मेवारी पदाधिकारी भएर अर्को सरकारी संस्था (सेबोन) को अध्यक्षको जिम्मेवारीका लागि आवेदन हाल्नुभयो। तर, प्रक्रिया नै रद्ध हुनेगरी त्यसको अन्तर्वार्तामा असहयोग गर्नुभयो। यस्तो गर्नुको कारण के हो? पुनः बोलाएको छ अब जानुहुन्छ वा हुँदैन?
म धितोपत्र बोर्डको अध्यक्षका लागि योग्य थिए र योग्यता पुगेको थियो। मलाई सञ्चालक समितिले पनि सहमति दिएको थियो। त्यसपछि मैले बोर्ड अध्यक्षका लागि आवेदन हालेको हो। आवेदन हालेपछि सर्टलिस्टेड पाँच जना भित्र म छनौट भए। तर, तत्कालीन छनौट तथा सिफारिस समितीले एकदमै छोटो समयमा र आजको भोली नै गरेर अन्तर्वार्तामा बोलायो। तर, त्यो समयमा म सेयर सचेतना कार्यक्रममा लागि कर्णाली प्रदेशमा गएको थिए। ग्रामीण भेगमा भएको कारणले गर्दा सम्पर्क पनि हुन सकेन होला। त्यो कारणले उपस्थिति हुन नसकेको हो। मैले असहयोग गरेको भनेर यसमा भन्न मिल्दैन।
म लोकसेवा पास गरेर आएको व्यक्ति पनि हो। मानिस लिखित दिने, नाम निस्केपछि अन्तर्वार्तामा नजाने गर्छन्। नियुक्ती दिएपछि पनि व्यक्तिको चाहना भएन भने उसले काममा नजान पनि सक्छ। अर्थात् यो व्यक्तिको नितान्त व्यक्तिगत इच्छा हो। यसमा असहयोग गरेको भन्ने मिल्दैन। पहिला अन्तर्वार्ताको सार्वजनिक सूचना पनि आएको थिएन। अहिले भने सूचना आएको छ र म यहिँ छु। यद्यपि, यो व्यक्तिको नितान्त निजी विषय हो। असहयोग गर्नुभयो भनेर प्रश्न गर्नुपर्ने विषय नै होइन।
सेबोन अध्यक्षका लागि आवश्यक, तोकिएका सबै मापण्ड पुरा भएको, अनुभव, तालिम लिएको व्यक्ति भएको हुनाले म सर्टलिस्टमा परेको हु। पहिला पनि पुँजी बजारमा एकदमै रुची राख्ने व्यक्ति थिए। नेप्सेको सिइओ भएर आएपछि यस क्षेत्रमा थप बुझ्ने र केही काम गर्ने मौका पाए। यसले बोर्ड अध्यक्षका लागि थप म सक्षम भएको ठानेर अध्यक्षका लागि आवेदन दिएको हुँ। नेप्से अपरेटर हो र सेबोन नियमनकारी निकाय हो। सेबोन गएपछि नेप्सेलाई सहजीकरण गर्ने काम हुन्छ। अनुगमन, निर्देशन, सहयोग गर्ने काम हुन्छ। तर, सेबोनबाट समग्र पुँजी बजारको नीति, अनुगमनको काम हुन्छ। त्यसैले, सेबोनको जिम्मेवारीमा रहेर काम गर्ने मेरो इच्छा हो।
अहिले अर्को स्टक एक्सचेञ्ज ल्याउने विषय पनि उठिरहेको छ। तपाईं यसको आवश्यक्ता र औचित्य कत्तिको देख्नुहुन्छ?
यो विषय सरकारको नीति र योजनासँग जोडिएको विषय हो। सरकारले नीतिगतरुपमा कसरी यसलाई सम्बोधन गर्छ भन्ने विषय नै मुख्य हुन्छ। हामीले अन्तर्राष्ट्रिय प्रवृत्ति हेर्ने हो भने अहिले धेरै भएका स्टक एक्सचेञ्जहरु पनि मर्ज भइरहेका छन्। प्रविधिले सहयोग गरेको कारण पनि यस्तो कम हुँदा पनि सहजै काम हुने भएको छ। हाम्रो सूचीकृत कम्पनी र बजारलाई हेर्दा अर्को अपरेटर आवश्यक होइन भन्ने जस्तो पनि देखिन्छ। यद्यपि, आगामी दिनमा यी सबै विषयलाई मध्येनजर सरकारबाट गरेर उपयुक्त नीति आउँछ भन्ने विषयमा म विश्वस्त छु।
कारोबार समयमा लगानीकर्ताको टिएमएसमा बारम्बार समस्या आउने गरेको छ। नेप्सेलाई सोध्दा हाम्रोमा समस्या छैन ब्रोकरको समस्या हो भन्ने उत्तर आउँछ। ब्रोकरको प्रविधिस्तर कस्तो छ र समस्या किन आउँछ भनेर नेप्सेले हेर्नुपर्दैन? लगानीकर्ताको पटकपटकको यो समस्या कसरी समाधान हुन्छ?
हाम्रोमा नेप्से अनलाईन ट्रेडिङ सिस्टम (नट्स) र टिएमएस गरी दुई प्रणाली छन्। यदि, सबै ब्रोकरको सिस्टममा समस्या आयो भने नेप्सेकोमा पनि समस्या आयो भनेर बुझ्नुपर्दछ। तर, केही ब्रोकरमा मात्रै समस्या आयो भने त्यो ब्रोकरको समस्या हुन्छ। पहिला १० देखि १२ अर्बको कारोबार हुँदा पनि धेरै समस्या आउने गरेको थियो। तर, अहिले ३० अर्बको कारोबार हुँदा पनि समस्या आएको छैन। ब्रोकरले जसरी आफूलाई अपेग्रड गर्नुपर्ने थियो त्यो नगरेको कारणले समस्या आउने गर्दछ। यद्यपि, हामीले समस्या आएका ब्रोकरलाई समस्या नआउनेगरी काम गर्न ताकेता गरिरहेका छौं।