काठमाडौं। बिहीबार रातीदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको विवरण प्रहरीले सार्वजनिक गरेको हो। विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले पुष्टि गरे।
बाढीपहिरो तथा डुबानमा परेका एक हजार तीन सय १५ जनाको उद्धार गरिएको उनले बताए। बाढीपहिरोबाट काठमाडौंमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।
काठमाडौंमा १ हजार ३२४, ललितपुरमा ५०० र भक्तपुरमा ४१७ गरी उपत्यकामा २ हजार २४१ घर डुबानमा परेका छन्।
विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० प्रहरी खटिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए।
सुरक्षा संयन्त्र सक्रिय
अविरल वर्षाका कारण उत्पन्न परिस्थितिलाई काबुमा ल्याउन र तत्काल उद्धार तथा राहतका काम प्रभावकारी रूपमा सञ्चालन गर्न सुरक्षा निकाय एवं संयन्त्र सक्रियतापूर्वक प्रभावित स्थानमा परिचालन भएको गृह मन्त्रालयले जनाएको छ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोष्ट’को बैठकले वर्षाबाट भएको जनधनको क्षतिको विवरण संकलन गर्ने तथा उद्धार एवं राहतका कामलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। गृहमन्त्री लेखकले अवरुद्ध सडक यथाशीघ्र खुलाउनेतर्फ विशेष ध्यान दिन निर्देशन दिए।
काठमाडौं उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले ७५० बढीको उद्धार गरेको गृहमन्त्री लेखकले जानकारी दिए।