काठमाडौं। पहिरोले २३ वटा राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात सेवा एवं जनजीवन प्रभावित बनेको छ।
निरन्तरको झरीका कारण २३ वटा राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा गोंगुब नयाँ बसपार्क र अन्य क्षेत्रबाट सञ्चालन हुँदै आएका लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताएका हुन्।
उनका अनुसार आज काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खुबाट सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधन सञ्चालन भएनन्।
विभिन्न राजमार्ग हुँदै सञ्चालनमा आएका सार्वजनिक सवारीसाधन र अन्य सवारीसाधन बगाउनुका साथै पहिरोले पुरिएका छन्।
उनले सरकारले रात्रिकालीन सवारीसाधन नचलाउन आग्रह गरेका कारण कतिपय सवारीसाधान दुर्घटना हुनबाट जोगिएको बताए। उनले देशभरका यातायात व्यवसायी, चालक तथा सहचालकलाई जोखिम मोलेर सार्वजनिक सवारीसाधान नचलाउनसमेत आग्रह गरे।
अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ। सडक विभागका अनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकमा यातायात आवागमन प्रभावित भएका छन्।
विवरणअनुसार २३ सडक ६३ स्थानमा अवरुद्ध भएका छन् भने काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएको विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले बताए।
बिपी राजमार्गमा नेपालथोक नजिकै रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगाएको उनले जानकारी दिए।
नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिम अवस्थामा रहेका उनले बताए।
सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ। सिर्सिया–पथलैया–हेटौँडा–भैंसे–पालुङ–नौबिसे–काठमाडौं खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको छ। त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध छ। धादिङको कमेरेमा पहिरो गएपछि उक्त सडक अवरुद्ध भएको हो।
अरनिको राजमार्गअन्तर्गत काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ। उक्त राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल विच्छेद भएको हो।
कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकमा पर्वतको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
राप्ती राजमार्गअन्तर्गत अमेलिया–शीतलपाटी–थारमारे मुसिकोट खण्डअन्तर्गत सल्यानको राम्रीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक अवरुद्ध छ।
पुष्पलाल (मध्यपहाडी राजमार्ग) अन्तर्गत ओखलढुंगाको भडारे क्षेत्रमा पहिरो जाँदा सवारी आउजाउ प्रभावित भएको छ भने भेडेटार–रवि–राँके सडकअन्तर्गत पाँचथरमा सडक अवरुद्ध छ।
यस्तै, ठोरी–भण्ठारा–मलेखु–गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुबेंसी खण्डअन्तर्गत घादिङको भुट्टार क्षेत्र तथा बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेंसी खण्डअन्तर्गत नुवाकोटको ३५ किलो र ताँदी पुलमा आएको बाढीका कारण सडक अवरुद्ध भएको विभागले जनाएको छ।
विभागका अनुसार विभिन्न स्थानमा भेरी करिडोरअन्तर्गत छिन्चु–कुदु–जाजरकोट–दुनै–तिन्जे–मरिम सडक पश्चिम रुकुमको त्रिवेणीमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ।
कान्ति राजपथअन्तर्गत हेटौँडा–बागमती–टिकाभैरव–भैंसीपाटी–एकान्तकुना सडक खण्ड पनि अवरुद्ध छ। ग्वार्को–लुभु–लाकुरीभन्ज्याङ–कुशादेवी–पनौती–दाहालटार सडक खण्डअन्तर्गत ललितपुरको लाकुरीभञ्न्याङस्थित मानेदोभान क्षेत्रमा बाढीपहिरोका कारण यातायात सञ्चालन हुन सकेका छैनन्।
पानी पर्न छाड्याे
तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ। बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने बताए।
नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उनको भनाइ छ। अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यस वर्षको मनसुन बाहिरिनेछ।
बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको पराजुलीको भनाइ छ। पछिल्ला तीन दिनमा मुलुकभर ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको शाखाको तथ्यांक छ।