काठमाडौं। अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक रूपमा बैठक बोलाएका हुन्।
बैठकमा गृहमन्त्री, सुरक्षा अंगका प्रमुख, मुख्यसचिव, सचिवसहित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत कार्यालयका पदाधिकारी सहभागी छन्।
सरकारले विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अंग पूर्ण रुपमा परिचालन गरिएको जनाएको छ।
गृह मन्त्रालयका अनुसार दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ६६ जनाको मृत्यु भएको छ भने ७९ घाइते भएका छन्। त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन्।
नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन्। उनले देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिए।
प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ। अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ।