काठमाडौं। दुई दिनदेखि जारी वर्षाका कारण विभिन्न जिल्लामा बाढीपहिरो जाँदा हालसम्म १० जनाले ज्यान गुमाएका छन् भने ११ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ।
बाढीपहिरोपछि फसेका नागरिकको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालबाट १ हजार ६ सय ३० जनशक्ति परिचालन गरेको गृह मन्त्रालयले बताएको छ।
बाढीपहिरोका कारण १६२ स्थानमा भौतिक क्षति भएको छ। सुरक्षा फौजले ७६० जनाको सकुशल उद्धार गरेको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका अनुसार पाँचथरका विभिन्न ठाउँमा २ जनाको मृत्यु, १ ठाउँमा भौतिक क्षति भएको छ। सो स्थानमा उद्धारका लागि १० जना सुरक्षा फौज खटिएका छन्। ओखलढुंगामा पनि एक स्थानमा भौतिक क्षति भएको छ।
धनकुटामा पहिरोका कारण २ जना वेपत्ता, २ जनाको मृत्यु र एक स्थानमा भौतिक क्षति भएको छ। उद्धारका लागि १३ जनाको सुरक्षा फौज खटिएको छ।
झापाका विभिन्न ठाउँमा डुवानमा परी ७७ स्थानमा भौतिक क्षति, १ जनाको मृत्यु भएको छ। ४३ जनाको सुरक्षा फौजले ३ सय २५ जनाको सकुशल उद्धार गरेको छ।
मोरङका विभिन्न ठाउँमा डुबानमा परी ५८ स्थानहरुमा भौतिक क्षति भएको छ। २३ जनाको सुरक्षाकर्मीले एक सय ७६ जनाको सकुशल उद्धार गरेको छ। रौतहटका १० स्थान डुवानमा परी भौतिक क्षति भएको छ। उद्धारका लागि १५ जना सुरक्षा फौज परिचालन गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार धादिङमा खोलाले बगाई एक जना बेपत्ता भएका छन्। एक जनाको मृत्यु भएको छ। २ जनाको सकुशल उद्धार गरिएको छ। गोरखामा उद्धारका लागि २५ जना सुरक्षा टोली परिचालन गरिएको गृहले बताएको छ।
सिन्धुलीमा आएको बाढीले ५ स्थानमा भौतिक क्षति भएको छ। ११ जनाको सुरक्षा फौज परिचालन भई ३३ जनाको सकुशल उद्धार गरेको छ। काभ्रेमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। ७ स्थानमा भौतिक क्षति भएको छ। उद्धारका लागि १५ जना सुरक्षाकर्मी परिचालित छन्।
काठमाडौंका विभिन्न स्थानमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ एक जना बेपत्ता भएका छन् । १ हजार ४ चार ७४ जना सुरक्षाकर्मी उद्धारमा परिचालित छन्। २ सय २४ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ।
ललितपुरका विभिन्न ठाउँमा आएको पहिरोले १ जनाको मृत्यु भएको छ। ललितपुरमा ६ जना बेपत्ता भएका छन्। २ स्थानमा भौतिक क्षति भएको प्रहरीको भनाइ छ। उपत्यकाको ३ वटै जिल्लामा मोटरबोटसहितको सशस्त्र प्रहरी बल नेपालको टोली उद्धारमा परिचालित रहेको सशस्त्र प्रहरी सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
यसैबीच कार्यवहाक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निरन्तरको वर्षापछि आएको बाढीपहिरोबाट ज्यान गुमाउनेप्रति समवेदना व्यक्त गर्दै उद्धारमा खटिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्।
उनले भनेका छन्, ‘मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको र केही जिल्लामा मानवीय क्षति भएको छ। सडक, पुलपुलेसा पनि भत्किएका छन्। प्राकृतिक विपदको यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लीन छ। यात्राका क्रममा अलपत्र परेकाहरुलाई उद्धार गरी गन्तव्यमा पु¥याउने प्रयास भइरहेको छ। त्यसका लागि गृह मन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी छ।’
गृहमन्त्री, सुरक्षा अंगका प्रमुख, मुख्यसचिव, सचिवसहित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अंग पूर्ण रुपमा परिचालन गरिएको उनले बताएका छन्।
मौसमविद्का अनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्त भएकाले थप क्षति हुनबाट जोगिनका लागि अत्यावश्यक काम बाहेक हिँड्डुल नगर्न उनले सचेत गराएका छन्।