काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङको विकास र समृद्धिमा पाथिभरा केबलकार कोसेढुंगा साबित हुने बताएका छन्। ताप्लेजुङ सरोकार केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
उनले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केबलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सरोकारवालालाई आग्रह गरे। उनले पाथीभरा केवलकारमा स्थानीयलाई शतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको बताए।
संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारी ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शतप्रतिशत प्राथमिकता दिने उनको भनाइ थियो। सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउन काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने उनले बताए।
उनले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्न सके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राखे। उनले पाथीभरामा केबकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि काम गरिरहेको जानकारी दिए। उनले स्थानीयलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताए।
उनले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको अध्यक्ष ढकालको धारणा थियो। उनले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको बताए। उनले केबकार निर्माण गर्ने काम सुरु भएको १५ महिनाभित्र सम्पन्न गर्ने तयारी रहेको सुनाए।
पाथीभरा केबकार आयोजना आइएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ, कोसी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताए।
उनले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना, व्यावसायिक गतिविधि र राजस्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन सुरुवात गरेको बताए।
‘हामी एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबलकार निर्माण गरी मुलुकमा पर्यटन विकास गर्ने र रोजगारी सिर्जना गर्ने अभियानमा छौं। समग्र मुलुकको पर्यटन प्रवर्द्धनमा केवकारले ठूलो भूमिका निर्वाह गर्छ। अहिले नेपालमा वैदेशिक लगानी भित्र्याउन ठूलो खर्च गरिरहेका छौं। तर, हामी स्वदेशी लगानी विकास गर्छौं भनेर निजी क्षेत्र ताप्लेजुङ जाँदा चन्द्र ढकालको व्यक्तिगत फाइदाका लागि भनियो। मैले मेरो फाइदालाई मात्रै हेर्ने भए अन्य ठाउँमा पाँचतारे होटल खोल्ने थिए। होटल बनाएको भए यति धेरै झमेला आउने थिएन। सम्भावना भएको ठाउँमा पर्यटन र स्थानीय विकासका लागि हो। फाइदा मात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेका छौं। सकेसम्म शतप्रतिशत स्थानीयलाई रोजगारी दिन चाहन्छौं।’