काठमाडौं। बिहीबार रातीदेखि परेको अविरल वर्षासँगै देशैभरको जनजीवन प्रभावित भएको छ। निरन्तर पानी परेपछि विभिन्न स्थानका राजमार्ग, विद्य’त् आयोजना, आन्तरिक हवाई सेवा र जनधनको समेत क्षति भएको गृह मन्त्रालयको पछिल्लो ब’लेटिनमा उल्लेख छ।
बाढीपहिरोले देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ७ जना बेपत्ता भएका छन् ।
काभ्रेको तेमाल गाउँपालिका–७ मा भीम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको हो।
पाँचथरको फिदिम नगरपालिका–४ स्थित भदौरेमा पहिरोले घर पुरिँदा २ जना मृत्यु भएको छ । उनीहरूको पहिचान खुल्न सकेको छ छैन । उक्त स्थानमा नं. २ गुल्म पाँचथरबाट १० जनाको टोली खटिएको छ।
काभ्रेको पनौती नगरपालिका–११ थुम्की भन्ने स्थानमा पहिरोले ५÷६ वटा घर पुरिँदा ४÷५ जना बेपत्ता भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। विपद् उद्धार बेस पनौतीबाट १५ जनाको टोली उद्धारका लागि खटिएको छ।
धनकुटाको पख्रिबास नगरपालिका–५ स्थित गुराँसे बस्ने सन्तोष तामाङको कच्ची घर पहिरोले पुरिँदा उनीको श्रीमती ३२ वर्षीया आशा तामाङ र आमा ५० वर्षीया राम कुमारी तामाङ बेपत्ता भएका छन् । नम्बर ६ गुल्म धनकुटाबाट खाटिएका १३ जना तथा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा उद्धार कार्य भइरहेको छ ।
अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । सुनकोसी नदीले खतराको तह पार गरेको छ। अरनिको राजमार्गलगायत अन्य सहायक मार्गमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। इन्द्रावती नदीमा आएको बाढी इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पस्दा आयोजना बन्द भएको आयोजनाका कर्मचारी विनोद कार्कीले जानकारी दिए।
मेलम्ची खोलामा आएको बाढीले मेलम्ची–७ र हेलम्बु गाउँपालिका–४ जोड्ने तालामाराङ डाँडापसलको झोलुङ्गे पुल उच्च जोखिममा रहेको स्थानीय तारा गिरीले जानकारी दिए।
जलसतह खतरास्तर नजिक
अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित वाणगंगासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ।
जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ।
विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको उल्लेख छ । अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ । विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ।
ललितपुरको किस्ट अस्पतालनमा पानी पस्यो
ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ। स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ।
लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किरारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ। प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ।
विगत २४ घण्टादेखि निरन्तर भइरहेको वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ। उपत्यकाका नाका सडक अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पहिरो खसेको छ।
त्यसैगरी, भक्तपुर कटुन्जेको घट्टेखोलामा बहाव बढ्न गई स्थानीयको घरमा पानी पसेको छ। उपत्यकाका सबैजसो खोला एवं नदी किनारमा रहेका बस्तीमा पानी पसेको र स्थानीयलाई सुरक्षित रहन प्रहरीले माइकिङ गरिएको प्रहरीले जनाएको छ।
आन्तरिक उडान बन्द
अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द भएका छन्। वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले बताए।
अन्तर्राष्ट्रिय तर्फ शनिवार दोहाबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। एयर अरेबिया पनि ल्यान्ड गर्ने क्रममा रहेको शेर्पाले बताए।
नागढुंगाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध
चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।
नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छभने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन्।
मुग्लिन–नारायणगढ सडक भासियो
वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। नौकिलोमा सडक जमिनबाट २ फिट तल भासिएको छ। थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ। साना तथा हलुका सवारी मात्रै चलाउने सकिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।
सोही स्थानमा जुगेडीबाट मुग्लिन तर्फ आउँदै गरेको प्र–३–०१–०२४ च ३०५६ नम्बरको बलेरो जिप पल्टिएकाले त्यसलाई उठाउने प्रयास भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरमा पहिरो आएर अवरुद्ध भएको सडक २ वटा स्काभेटर लगाएर पन्छाउने काम भइरहेको छ ।
त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो
त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिपर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिपर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिए । ‘साँझतिर एउटा एक्साभेटर र एउटा टिपर बगाएको थियो,’ उनले भने, ‘सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुईवटा टिपर पनि राती करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ।’
३ राजमार्गका ६ स्थानमा यातायात सञ्चालन रोकियो, मध्यपहाडीको यात्रा उच्च जोखिममा
बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका ३ राजमार्गका यातायात सञ्चालन पूर्ण रुपमा अवरुद्ध भएको छ। ३ राजमार्गका ६ स्थानमा पूर्ण रुपमा बाटो अवरुद्ध भएको सडक विभागले जनाएको हो।
अवरुद्ध हुने राजमार्गहरुमा नौविसे–मुग्लिन¬–पोखरा सडक, मध्यपहाडी राजमार्ग र तमोर करिडोर छन्। तमोर करिडोरमा पर्ने मोरङको चतारा पुलदेखि बराह क्षेत्रसम्म जाने सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।
नौविसे–मुग्लिन-पोखरा सडकको नागढुंगा, कमेरे र ७ किलो गरी ३ स्थानमा सडक अवरुद्ध छ। साथै मध्यपहाडी राजमार्गअन्तरगत सिन्धुलीको फिक्कल र कुखुरेटार गरी देशभरीका ६ स्थानमा सवारी सञ्चालन हुन नसकेका सडक विभागले जनाएको छ।
२०८१ वैशाखदेखि भने देशका ३६ राजमार्ग अवरुद्ध भएका छन्। जसमध्ये ३४२ स्थानमा अहिले पनि एकतर्फी मात्रै सवारी चलाउन सकिने अवस्था रहेको विभागको भनाइ छ। मध्यपहाडी राजमार्गका अधिकांश स्थानहरुमा सडक अवरुद्ध हुने खुल्नेक्रम भइरहेको छ।
मध्यपहाडीका धेरै स्थानमा अहिलेपनि एकतर्फी मात्रै सडक सञ्चालनमा छ। सडक विभागको मर्मत सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालका अनुसार पहाडी क्षेत्रमा पर्ने भएकाले मध्यपहाडी राजमार्गमा पहिरो जाने बढी जोखिम छ।
त्यस्तै धनगडी–स्याउले–दार्चुला–तिङ्कर राजमार्गको डोटीमा सडक एकतर्फ सञ्चालन छ। ढडेल्धुरा क्षेत्र, बागलुङ, बाजुरा, हुम्लाका विभिन्न स्थानमा पनि सडक एकतर्फी सञ्चालन हुँदा यात्रामा ध्यान दिन विभागले आग्रह गरेको छ।