क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
यो साता सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। एक सातादेखि लगातार उकालो लागेको सुनको मूल्य असोज ११ मा प्रतितोला ५०० ले बढेर नेपाली बजारमा हालसम्मकै उच्च भएको हो। गत साता असोज ४ मा) प्रतितोला १ लाख ५७ हजार १ सयमा कारोबार भएको छापावाला सुन असोज ११ मा प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराध मुद्दामा प्रहरीले पक्राउ गरेको छ। प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरो टोलीले असोज ६ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। सामाजिक सन्जाल दुरुपयोग आरोपमा पक्राउ परेका प्रसाईलाई काठमाडौं जिल्ला अदालतले असोज १० मा पाँच दिन थुना राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ।
७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने सरकारको लक्ष्य ६ वर्षपछि पूरा भएको छ। एभरेष्ट बैंकले असोज ११ मा बझाङको साइपालमा शाखा विस्तार गरी कारोबार सुरु गरेसँगै सबै स्थानीय तहमा बैंकिङ सेवा विस्तार भएको हो। राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म बैंकलाई सबै स्थानीय तहमा शाखा विस्तार गर्न निर्देशन दिए पनि आवश्यक पूर्वाधार विस्तार नहुँदा २०८१ मा मात्रै कार्यान्वयन भएको हो।
नवलपरासीको सुस्तामा देशकै लामो झोलुंगे पुल निर्माण गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासीको सुस्ता गाउँपालिका पुगेर असोज १० मा उद्घाटन गरेको झोलुंगेको लम्बाइ १५५७ मिटर छ। २०८० फागुन १२ मा उद्घाटन भएको सिरहा र धनुषा जोड्ने कमला नदीको १५.४४ मिटरको पुललाई नेपालको सबैभन्दा लामो मानिएको थियो। अब सुस्तामा निर्माण भएको झोलुंगेले नेपालको सबैभन्दा लामो पुलको रेकर्ड राखेको छ। पुल निर्माणपछि नेपाल आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताबाट सुस्ताबासी मुक्त भएका छन्।
एसियाली विकास बैंक (एडीबी)ले नेपालको चालू वर्ष आर्थिक वृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ। एडीबीले असोज ९ मा एसियन डेभलपमेन्ट आउटलुक २०२४ सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धि प्रक्षेपण गरेको हो। गत आर्थिक वर्ष ३.९ प्रतिशत आर्थिक वृद्धि भएको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ। चालू वर्ष सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिएको छ। चालू वर्षको बजेट सार्वजनिक भएपछि दातृ निकायले आर्थिक वृद्धिको प्रक्षेपण गरेको यो पहिलो हो।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सहारा बहुउद्देश्यीय सहकारीबाट ४४६ बचतकर्ताको साढे ३७ करोड बढी रकम अपचलन अभियोगमा जितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले चितवनमा रहेको सहारा सहकारीबाट रकम अपचलन प्रमाणित भएपछि असोज ९ मा ठगी कसुरमा उनीहरुविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएको हो।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले असोज ९ मा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै दिगो विकासमा एकजुट हुन विश्व समुदायलाई आह्वान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताए। उनले विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनुपरेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने माग गरे।
यो साता सेयर बजारमा ९० अंकको गिरावट आएको छ। साताको पाँच कारोबार दिनमध्ये दुई दिन बढेर तीन दिन सेयर बजार ९० अंकले घटेर २४८६.७६ बिन्दुमा सीमित भएको छ। गत साताको तीन कारोबार दिनमा तीन दिन नै घट्दा ६१.०३ अंकले घटेर सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५७६.७६ बिन्दुमा रोकिएको थियो। यो साता नेप्सेमा कुल २५ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता २२ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ। असोज ९ गते कार्यालयको स्थलगत अनुगमन गर्दा नक्कली डाक्टर भनी चिनाउने व्यक्तिसहित १७ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।