काठमाडौं। आर्क्स फुडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकिज बिक्री सुरु गरेको छ। स्थानीय उत्पादन कोदो र चक्की आटाको मिश्रणबाट बनेको बिस्कुट एवं कुकिज उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ख्याल गरेर बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ।
‘उपभोक्तालाई स्वस्थ स्न्याकिङ विकल्प दिने दिशामा कोदोको बिस्कुट र कुकिजमार्फत कदम चालेका छौं’, आक्र्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठ भन्छन्, ‘अहिलेका उपभोक्ता खानाबारे सचेत छन् भने उनीहरु स्वस्थ विकल्प खोजिरहेका छन्। यही माग पूर्ति गर्न बजार अध्ययनपछि कोदोको बिस्कुट र कुकिज बजारमा ल्याएका हौं।’
कोदो पौष्टिक अन्न भएकाले प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। यसले मधुमेह नियन्त्रण, पाचन प्रक्रियमा सुधार, वजन नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा पनि यो बिस्कुट बेच्ने तयारी गरिरहेको जनाएको छ।
हालसम्म आक्र्स फुडले अष्ट्रेलियामा निर्यात सुरु गरिसकेको छ भने भारत र दुबईमा पनि स्याम्पल पठाइसकेको छ। ती मुलुकबाट राम्रो प्रतिक्रिया आएकाले चाँडै उत्पादन पठाउने तयारी भएको कम्पनीले बताएको छ। आक्र्स फुडका कोदो बिस्कुट र कुकिज नेपालभरका प्रमुख सुपरमार्केट, भाटभटेनी, किराना पसल र अनलाइन किनमेल प्लेटफर्ममा उपलब्ध छन्।
काठमाडौंको भृकुटी मण्डपमा भइरहेको स्टक क्लियरेन्स मेलामा पनि कोदोको बिस्कुट र कुकिजको प्रवर्द्धन भइरहेको र यसमा ‘फ्री टेस्टिङ’ साथै दुईवटा किन्दा एउटा निःशुल्क दिने अफर चलिरहेको छ।