काठमाडौं। नेपालमा पाँचतारे होटल दुसित प्रिन्सेस सञ्चालन गर्दै आएको पालजोर ग्लोबल समूहले रणनीतिक साझेदारको रुपमा दुसित इन्टरनेसनललाई भित्र्याएको छ।
दक्षिण एसियाली मुलुकमा दुसित इन्टरनेसनलको सम्भावना अध्ययन, विस्तार सँगै हस्पिटालीटी एजुकेसनतर्फ पनि सहकार्य गर्ने उद्देश्यले रणनीतिक साझेदारको रुपमा थाई ब्रान्डलाई नेपाल भित्र्याइएको पालजोर समूहका अध्यक्ष दोर्जे ग्यालजेन लामाले जानकारी दिए।
दुसितको असाधारण आतिथ्य, शिक्षाका लागि अवसर अन्वेषण गरेर पाहुना, विद्यार्थी र समुदायको जीवनस्तर वृद्धि गर्न मात्र नभई नेपालमा दिगोपनको नयाँ मापदण्ड सेट गर्ने लक्ष्य राखिएको उनकाे भनाइ छ।
दुसित इन्टरनेसनलका प्रमुख अपरेटिङ अफिसर गिल्स क्रेटालाजले रणनीतिक साझेदारीले दक्षिण एसियामा दुसितको प्रतिबद्धता र आतिथ्य उद्योगमा वृद्धिलाई अगाडि बढाउन बलियो स्थानीय साझेदारीको लाभ उठाउने क्षमतालाई जोड दिने विश्वास व्यक्त गरे।
पालजोर ग्लोबल कर्पजस्ता विश्वसनीय साझेदारसँग सामेल भएर स्थानीय बजारसँग मिल्ने, यस क्षेत्रको आर्थिक विकासमा योगदान गर्ने असाधारण आतिथ्य अनुभव उपलब्ध गराउने, खाद्य उत्पादन बजारमा ल्याई दिगो रूपमा उद्योगको आवश्यकता पूरा गर्नेसमेतको प्रतिबद्धता उनीहरूले जनाएका छन्।
दुसित इन्टरनेसनअन्तर्गत नेपालमा लाजिम्पाटमा दुसित प्रिन्सेस र धुलिखेलमा दुसित थानीको व्यवस्थापन भइरहेकाे छ भने विश्वभर ३०० होटल सञ्चालित छन। विश्वभर १८ मुलुकमा दुसितको ८ वटा ब्राण्ड सञ्चालित छन्।
पालजोर ग्लोबलकी प्रबन्ध निर्देशक डोल्मा छिरीङ लामाले दुसित एजुकेसन र दुसित फुड्स विस्तारमार्फत दक्षिण एसियाली क्षेत्रमा विशेष प्रभाव पर्ने बताइन्।
सम्झौतासँगै मुलुकमा दुसित थानी, दुसित डिट,लाइफस्टायल, मिडस्केल, दुसित प्रिन्सेस, दुसित सुइट्स, असाइ होटल्स, देवराना, दुसित रिट्रिट, दुसित बेस्कोप लक्जरीलगायत ब्राण्ड विस्तारको योजना रहेको उनले जानकारी दिइन्।
यही ब्राण्डलाई पालजोरले बंगलादेश, म्यानमार, श्रीलंका, तिब्बत, भुटान र उत्तरी भारतमा विस्तार गर्ने योजना रहेको कार्यक्रममा जानकारी दिइयाे। सहकार्यमार्फत आतिथ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि संकायसहितको दुसित थानी कलेज सञ्चालनमा ल्याउने योजना रहेको उनले बताइन। पालजोर ग्लोबल कर्पअन्तर्गत होटल तिब्बत इन्टरनेसनल, याकेती याक होस्टल सञ्चालित छ।