काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन दिवस अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री सिंहले यस्तो बताएका हुन्।
आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने उनको भनाइ छ।
‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ। कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ, त्यसतर्फ लाग्नुपर्ने आवश्यक्ता छ,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘पर्यटन क्षेत्रमा काम गर्दा परेको अप्ठ्यारो पहिचान गरेर सरकारले हटाउँछ। सहज रुपमा व्यवसाय गर्न सक्ने अवस्था बनाइन्छ।’
उनले नेपाल साहसिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको भन्दै यसमा के गर्दा राम्रो हुन्छ, त्यसमा लाग्नुपर्ने सुझाव दिए। पर्यटन क्षेत्रमा सक्रिय निजी क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था बनाउन सरकारले ध्यान दिने पनि उनले बताए।
सहरी विकासमन्त्रीसमेत रहेका कार्यवाहक प्रधानमन्त्री सिंहले देशमा परिवारसँगै बसेर आर्थीक जीवन उकासने वातावरण बनाउन सरकार लागिरहेको दाबी गरे।
अस्थिरताका कारण देशमा समस्या देखिएकैले अहिले राजनीतिक स्थायित्वका लागि संसदका दुई ठूला दल मिलेर सरकार बनेको भन्दै उनले सरकार जनताको पक्षमा सशक्त रुपमा अघि बढ्ने बताए।