काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले जोखिम भएकै आधारमा वातावरणीय तथा जलवायु प्रतिरोधी बैंकिङ परियोजनालाई नलिएको बताएका छन्।
नेपाल बैंकर्स संघ र इम्प्याक्ट फर इन्भेष्ट नेपालले संयुक्त रूपमा आयोजना गरेको नेपालको बैंकिङ क्षेत्रमा क्लाइमेट फाइनान्स र ग्रिन फाइनान्स ट्याक्सनोमी विषयक सेमिनारमा उनले यस्तो बताएका हुन्।
वित्तीय क्षेत्रले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्नुपर्ने उनको भनाइ छ।
‘बैंकिङका लागि समाधान गर्न नसक्ने रिस्क कम हुन्छ। बैंकिङ क्षेत्रका साथीहरुले सामाजिक र वातावरणीय जोखिमलाई कुनै पनि हालतमा बेवास्ता गर्नुहुँदैन,’ गभर्नर अधिकारीले भने, ‘सामाजिक र वातावरणीय रिक्स क्रेडिट रिस्क होस् वा अप्रेसनल रिस्क। मार्केट रिस्कभन्दा यो जटिल बन्न सक्छ। एउटा रिस्कका कारणले बैंकहरुको वित्तीय विवरणसँगै संस्था नै उथलपुथल हुन सक्छ।’
यसले बैंकिङ प्रणालीलाई नै तलमाथि गराउन र अर्थतन्त्रलाई तलमाथि गराउन पनि सक्ने उनको धारणा छ।
बैंकहरुले सामाजिक र वातावरणीय जोखिमका लागि चनाखो हुँदै त्यसलाई घटाउँदै लगेर कर्जा लगानी गर्नुपर्ने उनको भनाइ छ।
‘जोखिम छ भनेर आएको परियोजनै नलिने भन्ने हुँदैन। सजिलो भनेको जोखिम छ जाँदै नजाओ भन्ने हुन्छ। जोखिम हुन्छ तर, त्यसलाई राम्रोसँग व्यवस्थापन गर्दै काम गर्नुपर्छ,’ उनले भने, ‘बैंकिङले समाधान गर्न नसक्ने कुनै रिस्क हुँदैन, रिस्कलाई देखाएर बैंकले कामै नगर्ने, बहाना बनाएर प्रोजेक्टै नलिने भन्ने कुरा हुँदैन। प्रत्येक चुनौतीहरुलाई समाधान गर्ने उपाय छन्।’
वातावरण विषय बारम्बार आउने र कयौं अवस्थामा दिगो वित्तीय क्षेत्रको वृद्धिका लागि पूर्वसर्त रहेको उनले औंल्याए।
नेपाल राष्ट्र बैंकले ग्रिन फाइनान्स प्रवद्र्धनका लागि विभिन्न नीति र मार्गदर्शन लागू गरेको उनले बताए। राष्ट्र बैंकले हरित वित्त प्रवद्र्धनका लागि २०१८ मा लागू गरेको वातावरणीय र सामाजिक जोखिम व्यवस्थापन मार्गनिर्देशन २०२२ थप परिमार्जन गरेको उनले जानकारी दिए।
राष्ट्र बैंकले बैंकरुलाई कृषि, जलविद्युत्, विद्युतीय सवारी साधन र सौर्य ऊर्जाजस्ता परियोजनामा प्राथमिकता दिएर कर्जा प्रवाह गर्न निर्देशन दिनुका साथै उल्लेखित क्षेत्रमा प्रवाह हुने कर्जामा नीतिगत सहुलियत र सहजीकरण गरेको उनले बताए।
कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालका बैंकहरुले हरित वित्तीय लगानीलाई प्राथमिकतामा राखेर नियामकीय प्रावधानमा रहेर कर्जा प्रवाह गरेको दाबी गरे। उनले विशेषगरी नेपालका बैंकहरुले कृषि र उर्जा क्षेत्रमा अर्बौ रुपैयाँ कर्जा प्रवाह गरेको र अन्य क्षेत्रमा कर्जा प्रवाह गर्दा वातावरणीय तथा सामाजिक जोखिमलाई न्यूनीकरण गर्दै कर्जा प्रवाह गरेको उनको भनाइ छ।
उक्त अवसरमा नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डानियल मेउली, नेदरल्यान्डस् एफएमओका सीईओ माइकल जोंगेजेलले हरित वित्तीय लगानीसम्बन्धी धारणा राखेका थिए।