काठमाडौं। ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने सरकारको लक्ष्य ६ वर्षपछि पूरा भएको छ। एभरेष्ट बैंकले बझाङको साइपालमा शाखा विस्तार गरी कारोबार सुरु गरेसँगै सबै स्थानीय तहमा बैंकिङ सेवा विस्तार भएको हो।
सरकारले २०७३ मै संघीय संरचनाअनुसार ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार गर्ने लक्ष्य राखेको थियो। त्यसपछि राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म बैंकलाई सबै स्थानीय तहमा शाखा विसतार गर्न निर्देशन दिएको थियो।
त्यतिबेला बैंकहरु स्थानीय तहको नामसहित सरकारले आवश्यक पूर्वाधार विस्तार गरेपछि शाखा स्थापना गर्ने प्रतिबद्धता राष्ट्र बैंकसामु गरेका थिए। तर, बैंकलाई शाखा स्थापना गरेर कारोबार सुरु गर्न सडक, बिजुली, इन्टरनेटलगायतका पुर्वाधार स्थानीय सरकारले समयमै विस्तार नगर्दा बैंकहरुले प्रबिवद्धता पूरा गर्न सकेका थिएनन्।
राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० असार मसान्तसम्म ७५२ स्थानीय तहमा बैंक पुगिसके छन्। तर, अति दुर्गम बझाङको साइपालमा बैंकले शाखा विस्तार गर्न सकेका थिएनन्। एभरेष्ट बैंकले शाखा विस्तार गर्ने प्रतिबद्धता गरेको थियो। साइपालमा सडक र बिजुलीको पहुँच नपुगेपछि समयमै शाखा स्थापना गरी सञ्चालनमा ल्याउन समस्या भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए।
‘तीन दिन पैदल यात्रा गरेपछि मात्रै बझाङको साइपाल पुग्न सकिन्छ। हामीले हेलिकोप्टरमार्फत शाखाका सामान लगेर स्थापना गरेका हौं,’ खालिङले क्यापिटल नेपालसँग भने, ‘स्थानीय सरकारले नै बिजुली लैजान ढिलाइ गर्दा शाखाबाट कारोबार सुरु गर्न समय लागेको हो। बुधबारदेखि बैंकिङ सेवा सुरु गरेका छौं।’
साइपाल शाखा पुग्न धनगढीबाट ३ दिनको यात्रा गर्नुपछ। बर्खायाममा पानी र पहिरोले जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ। शाखाको औपचारिक उद्घाटन बर्खायाम सकिएपछि गरिने सीईओ खालिङले जानकारी दिए।