काठमाडौं। प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलपछि सरकारले सुस्तापारिका ३५० घरधुरीलाई निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ । ऊर्जामन्त्री दीपक खड्काले सांसद चौधरीको मागअनुसार सुस्तापारिका घरधुरीलाई एक वर्षका लागि निःशुल्क बिजुली दिने घोषणा गरेका हुन्।
नारायणी नदिमा पुल बनेपछि सुस्तापारी पहिलो पटक बिजुली पुगेको हो। सांसद चौधरीले पुल निर्माण सम्पन्न भएसँगै ऊर्जामन्त्री खड्का र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग सुस्तामा निःशुल्क बिजुली उपलब्ध गराउन पहल गरेका थिए।
बिहीबार सुस्ता गाउँपालिका–५ मा सुस्ता जोड्ने झोलुंगे पुल र विद्युत् सेवा शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले भने, ‘यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले यहाँका जनतालाई निःशुल्क विजुली उलपब्ध गराउन माग गर्नुभएको छ। म यहीबाट एक वर्षका लागि निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा गर्दछु।’
प्रतिनिधिसभा सदस्य चौधरीले कार्यक्रममा निःशुल्क बिजुली उपलब्ध गराउन ऊर्जामन्त्रीको ध्यानाकर्षण गराएका थिए। ‘यो क्षेत्रमा पहिलो पटक बिजुली पुगेको छ। यहाँका ३५० घरधुरीमा केही वर्षका लागि निःशुल्क बिजुली सेवा उपलब्ध गराउन सरकारसँग माग गर्दछु’, उनले भने।
पुल शिलान्यास र बिजुली सुरुआत कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, ऊर्जामन्त्री खड्का उपस्थित थिए।
नारायणी नदीमा पुल निर्माण सम्पन्न भएसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको छ। नारायणी नदीमा एक हजार पाँच सय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा खुुसी छन्।
‘यो पुल हाम्रा लागि लाइफलाइन हो, सुस्ताका रविन्द्र जयसवालले भने, ’निर्माण ढिलो भएपनि विगतमा आफ्नै देशको भूमिभित्र जान पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो। अब बाध्यताबाट हामी मुक्त भएका छौं।’ साढे २३ करोडमा त्रिशुली आश्रय जेभी कन्ट्रक्नसले निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो।
पछिल्लो दुई वर्षयता पुल निर्माणको कामले गति लिएको हो। यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आएका थिए।
देशकै लामो झोलुंगको बिहीहबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन्। स्थानीय पूर्वाधार विभागले निर्माण गरेको पुलको लम्बाइ १५ सय ५७ मिटर छ। २०८० फागुन १२ मा उद्घाटन भएको सिरहा र धनुषा जोड्ने कमला नदीको १५ सय दशमलव ४४ मिटर लामो पुललाई नेपालको सबैभन्दा लामो मानिएको थियो। अब भने सुस्तामा निमित पुल नेपालको सबैभन्दा लामो झोलुंगे भएको हो।