काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजस्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ।
चेम्बरले वार्षिक २५ करोड रुपैयाँसम्म कारोवार भएका निकाय र अन्य करदाताको मंसिर मसान्त सम्म मात्र म्याद थप हुने व्यवस्था एवं वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोवार गर्ने करदाताको सम्बन्धमा पुस २० सम्म मात्र म्याद थप हुने व्यवस्थाप्रति सहमत नभएको बताएको हो।
मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेको एवं निजी क्षेत्रको मनोबल खस्किरहेको वर्तमान अवस्थामा विद्यमान कानुनी व्यवस्था विपरित भएको विभागको पछिल्लो निर्णयले व्यवासायिक क्षेत्रमा गम्भिर असर गर्ने चेम्बरले उल्लेख गरेको छ । आन्तरिक राजश्व विभागको निर्णय सच्याउन समेत चेम्बरले आग्रह गरेको छ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आयकर ऐन, २०५८ को दफा ९८(१)मा आय विवरण दाखिला गर्ने म्याद थप गर्ने सम्बन्धमा “दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्याद भित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिव माफिकको कारण भए विभागले आय विवरण दाखिला गर्नुपर्ने म्याद थप गरिदिन सक्नेछ । यसरी म्याद थप का लागि दिएको निवेदन सम्बन्धमा विभागले गरेको निर्णयको जानकारी निवेदकलाई लिखित रुपमा दिनु पर्नेछ भन्ने कुरा हुँदाहुँदै विभागले सूचना जारी गरी विगतमा दिएको म्याद थपको सुविधा कटौती गरेकामा उद्योगी व्यवसायी मर्कामा पर्ने निश्चित छ।’
शिथिल रहेको अर्थतन्त्रलाई पुनःजागरण गराई राजस्वका स्रोत बढाउनुपर्नेमा विभागको पछिल्लो निर्णय आन्तरिक राजस्व नीतिको प्रतिकूल रहेको चेम्बेरको ठहर छ।
सानो र ठूला कारोबारीबीच हिसाब मिलान गर्नुपर्ने अवस्थासमेत रहेको परिपे्रक्ष्यमा विभागको सप्mटवेयर क्षमता अभिवृद्धि गर्नुपर्ने र विगतमा झै आय विवरण दाखिलाको समय साविकबमोजिम गर्र्नेे व्यवस्थाका लागि पनि चेम्बरले विभागको ध्यानाकर्षण गराएको छ।