काठमाडौं। भदौ ३१ गते काठमाडौंमा भएको नेपाल–अमेरिका ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) को सातौं बैठकमा अमेरिकाले नेपालमा कुखुराको मासु निर्यात प्रस्ताव राखेपछि नेपाली पक्षले त्यसमा सकारात्मक भएको जनाउ दियो।
द्विपक्षीय लगानीसम्बन्धी वार्तामा अमेरिकाले कुखुराको मासु निर्यात प्रस्तावलाई सहजै स्वीकार गरिदिएको छ। जबकि, नेपाल कुखुराको मासुमा पूर्ण आत्मनिर्भर मुलुक हो।
वित्तीय क्षेत्रको अर्बौ लगानी, लाखाैं किसान, हजारौंं फार्ममार्फत मुलुक कुखुराको मासुमा आत्मनिर्भर मात्रै छैन, आयात पनि प्रतिबन्ध छ। आकलझुक्कल भारतबाट अन्डा, चल्ला तथा मासुसमेत भित्रिँदा मुलुकको पोल्ट्री इन्ड्रष्टी धर्मराउँछ।
तर, अमेरिकी अधिकारीहरुले राखेको प्रस्ताव सहजै स्वीकार गर्दा नेपाली उद्योग अवस्था के हुन्छ भन्ने सामान्य आकलनसमेत नगरिएको पोल्ट्री किङ गुणचन्द्र विष्ट बताउँछन्। नेपालको लगानी र नेपाली किसानलाई डुबाएर विदेश धकेल्ने नीतिअनुरुप सरकारले अमेरिकाबाट मासु आयात खोल्न लागेको व्यवसायीले बताएका छन्।
द्विपक्षीय वार्तामा नेपाली पक्षले नेपालले खुुला नीति अंगिकार गरेको अवस्थामा कुनै पनि वस्तुको आयात नरोक्ने बताए। यद्यपि, अहिले कुखुराको मासु आयात पूर्ण प्रतिबन्ध छ। उक्त बैठकमा नेपालको नेतृत्व गरेका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीका अनुसार नेपालमा अमेरिकी व्यवसायीहरुले सुँगुर र कुखुराको मासु एवं मासुजन्य वस्तु निर्यात गर्न चाहेको देखियो।
अमेरिकीहरुको प्रस्तावमा हामीले गुणस्तर कायम गरेर नेपाल पठाउन चाहन्छ भने भविष्यमा त्यसका लागि सकारात्मक छौं भन्ने जवाफ दिएका थियौं,’ कार्कीले भने, ‘एक हिसाबले प्रतिबद्धता जनाएका छौं।’ उनले नेपालले खुला व्यापारको नीति अवलम्बन गरेकाले कुनै देशको कुनै विशेष उत्पादनका लागि कुनै बन्देज नलगाइएको स्पष्ट पारेको जानकारी दिए।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा समेत नेपालले अमेरिकी सुँगुर र कुखुराको मासु आयातमा कुनै प्रकारको प्रतिबन्ध नरहेको पुष्टि गरिएको छ।
नेपालको पोल्ट्री व्यवसायमा १ खर्ब ५० अर्बभन्दा बढी लगानी भइसकेको छ। यसमध्ये आधाभन्दा बढी बैंकको ऋण छ। उत्पादित वस्तु लागत मूल्यमा बिक्री गर्न नसकेपछि व्यवसायीले दुई वर्षयता एकोहोरो नोक्सान बेहोर्दै आएका छन्। एकातिर यस्तो अवस्थाबाट नेपालका व्यवसायी अघि बढिरहेका बेला सरकारले अमेरिकाबाट आयात गर्न बाटो खोल्न लागेको हो।
नेपाल पोल्ट्री महासंघका अध्यक्षसमेत रहेका विष्टले सबै कुखुराजन्य उत्पादनमा नोक्सान रहेको जानकारी दिए। दैनिक घाटा बेहोरिरहेको, बैंकले थप लगानी नगरेको, जग्गा बिक्री नभएको र खोरमा राखिएका कुखुरा बचाउनसमेत मुस्किल परेको उनको गुनासो छ।
नेपालमा २३ वर्षदेखि पोल्ट्री व्यवसाय आत्मनिर्भर भए पनि अहिले मारमा परेको अवस्था छ। नेपालमा आधाभन्दा बढी व्यवसाय बन्द भइसकेको महासंघले जनाएको छ। ३८४ ह्याचरी उद्योगमध्ये अहिले २०० मात्रै सञ्चालनमा रहेको र ती पनि पूर्ण सञ्चालन हुन नसकेको विष्टको भनाइ छ।
भारत सरकारले कुखुरापालन गर्न जग्गा खरिददेखि सबै कार्यमा अनुदान दिने हुँदा सस्तोमा कुखुराजन्य उत्पादन हुने गर्दछ। भारतमा लागत कम रहेकाले नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेर थलिएको अवस्थामा अमेरिकाबाट आयात गर्न बाटो खोल्नेतिर सरकार लागेको उनी बताउँछन्।
देशभर बोइलरका २५ हजार फार्म रहेकामा आधाभन्दा बढी बन्द छन्। नेपालमा लेयर्स अन्डा उत्पादन गर्ने फार्म २ हजार ५०० रहेकामा ७० प्रतिशत हाराहारी बन्द भइसकेका छन्। यसले ७५ प्रतिशत अन्डा उत्पादन गर्दछन्।