काठमाडौं। बुधबार करिब ५० अंकले बढेको सेयर बजार बिहीबार भने घटेको छ । नेप्से सूचक ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा झरेको छ । ट्रेडरहरुले नाफा बुक गर्दा बजार घटेको जानकारहरुको भनाई छ ।
केही ऋणपत्रहरु बजार भाउ भने बढेको छ । बैंकले मुद्दति खातामा दिने ब्याजदर भन्दा ऋणपत्रमा पाउने ब्याज धेरै भएको हुँदा डिबेन्चरमा लगानीकर्ता आकर्षित भएको हुन सक्ने बजार विश्लेषकहरु बताउँछन् ।
२३ वटा ऋणपत्रहरुको भाउ बढेको छ । यद्दपि, दोस्रा बजारमा ऋणपत्रहरुको कारोबार भने धेरै हुने गरेको छैन । सेयर बजार गत अगस्ट १५ देखि लगातार जसो घटेको छ । ३०४८.१६ विन्दुको हाईसम्म पुगेको मार्केट २४८६.७६ अंकमा झरेको छ । इन्डेक्ससँगै कारोबार रकममा पनि गिरावट देखिएको छ ।
आज ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । करिब ३० अर्ब रुपैयाँसम्म पुगेको दैनिक कारोबार रकम अहिले ४-५ अर्बमा सीमित बनेको छ । बजारको आकर्षक वृद्धिपछि भएको यो स्वभाविक करेक्सन भनिरहेका छन् ।
छोटो समयमा लगातारजसो घट्दा सेयर मूल्य फेरि निकै सस्तो भइसकेको छ । भाउ सस्तो भएकाले अब विस्तारै संस्थागत र ठूला लगानीकर्ता पनि आकर्षित हुन सक्ने सम्भावना देखिन्छ । सस्तो मूल्यमा धमाधम क्रेताहरु आउन थाले भने बजारमा खरिदपक्ष मजुबत हुन जान्छ । जसले समग्र सेयर बजारलाई माथि लैजानलाई सहयोग गर्न सक्छ ।
सूचकको वृद्धि टिक्नका लागि कारोबार रकम पनि बढ्दै जानुपर्ने हुन्छ । कारोबार बढेमा मात्र बजारले गति लिन सक्ने देखिन्छ । कारोबार रकम वृद्धि हुनुको अर्थ बजारमा क्रेता तथा बिक्रेता दुवैको सहभागिता बढ्दैछ भन्ने नै हो ।
विशेषगरी खरिदपक्ष मजबुत भयो भने बजारमा आएको आपूर्ति सहजै खपत हुन सक्छ, जसले बजारलाई थप बलियो बनाउन सहयोग गर्छ । यसअघि प्रोफिट बुक गरेका लगानीकर्ताहरुले निकै विस्तारै सेयर खरिद गरिरहेको अनुमान गरिएको छ । विशेषगरी ठूला र संस्थागत लगानीकर्ताको प्रवेश नभई बजारले गति लिन सक्ने देखिंदैन ।
बजारमा आपूर्तिपक्ष ठूलो छ । साना तथा व्यक्तिगत लगानीकर्ताले खरिद गरेको आधारमा मात्र नेप्सेले गति लिन सक्दैन । सेयर बजारले गति लिनका लागि ठूलोमात्रामा खरिदकर्ता आउन जरुरी हुन्छ । उनीहरुले बजारमा आएको आपूर्तिलाई सजिलै किनिदिन सक्छन् । यही माहोलमा साना र मध्यमस्तरका लगानीकर्ताले समेत खरिद गर्दा बजारमा माग पक्ष बलियो हुन जान्छ, फलस्वरुपः बजारले गति लिन सक्ने अवस्था उत्पन्न हुन्छ ।
पछिल्ला केही दिनको बजार हेर्दा प्यानिक सेल भने कम हुँदै गएको देखिन्छ । नेप्से बढ्न थालेपछि मात्र कारोबारमा पनि तेजी आउन सक्ने देखिन्छ । सस्तोमा पाइने भएपछि सबैथरिका लगानीकर्ता आकर्षित हुने र यसले अन्ततः सेयरको माग बढाउन सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । करेक्सन तथा साइडवेजको चरण पूरा भएपछि भने बजार माथितिरै जान सक्नेमा लगानीकर्ता आशावादी देखिएका छन् । किनभने बजारका लागि सबैभन्दा महत्वपूर्ण कुरा ब्याजदर र सहज बैंकिङ तरलता निकै अवस्थामा छन् ।
ब्याजदर घटेको घट्यै छ । बैकिङ प्रणालीमा अधिक तरलता भएकाले यसको व्यवस्थापनका लागि केन्द्रीय बैंकले दिनहुँजसो पैसा खिचिरहेको छ । सरकार पनि पुँजी बजार सुधारप्रति प्रतिबद्ध देखिएको छ । केन्द्रीय बैंकले सेयर बजार सुधारका लागि सहयोग पुग्ने गरी नीतिगत सुधारहरु गरिरहेको छ ।
ब्रोकरको संख्या बढेको छ भने यससँगै नयाँ लगानीकर्ताहरु पनि थपिन थालेको तथ्यांकले देखाएको छ । लाभांशको सिजन सुरु भएको छ । अहिले सेयरधनी हुनेले अब तत्कालै लाभांश पाउन सक्ने अवस्था छ । यस दिन ३२२ कम्पनीको १ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । अपि पावरको सबैभन्दा धेरै ४७ करोड ९९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यता, विन नेपाल लघुवित्तको सेयर भाउ भने सबैभन्दा धेरै ९.८५ प्रतिशतले बढेको छ ।