काठमाडौं। नेपालबाट हुने निर्यात ९.६ प्रतिशतले घटेको छ। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल वस्तु निर्यात ९.६ प्रतिशतले घटेर १२ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ८.७ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १०.६ प्रतिशत, ५९.८ प्रतिशत र ३.५ प्रतिशतले कमी आएको छ।
वस्तुगत आधारमा पार्टिकल बोर्ड, पिना, चिया, ऊनी गलैंचा, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, पाम तेल, जिंक शिट, जुटका सामान, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ।
चालू आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु आयातमा ०.६ प्रतिशतले कमी आई १ खर्ब २८ अर्ब ३८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.६ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४.४ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.० प्रतिशत र ०.४ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा रासायनिक मल, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, अन्य मेशिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने धान तथा चामल, हवाइजहाजका स्पेयर पार्टपुर्जा, हट रोल्ड शिट इन क्वाइल, एम. एस. तार र छड लगायतका वस्तुको आयात घटेको छ।
निर्याततर्फ वीरगञ्ज, कैलाली, कृष्णनगर, तथा नेपालगञ्ज भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ कैलाली, मेची, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।
नेपाल राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ०.४ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.५ प्रतिशत पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो। १४. समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ९८ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७ अर्ब ३० करोड बराबरको भएको थियो।