काठमाडौं। बीवाईडीले ९० लाख गाडी उत्पादन गरेको छ। कम्पनीले दुई महिनामै १० लाख गाडी उत्पादन गरी ९० लाख पुगेको तथ्यांक सार्वजनिक गरेको हो। याङवाङ यु–९ सुपरकार सार्वजनिक गर्दै बीवाईडीले आफ्नो उत्पादन संख्या ९० लाख पुगेको जनाएको छ।
यसअघि गत असार अन्त्यमा थाइल्यान्डको प्लान्टबाट बीवाईडीले ८० लाख सवारी साधनको रुपमा बीवाईडी डल्फिन ईभी सार्वजनिक गरेको थियो। उत्पादन र बिक्रीको वर्तमान गतिलाई हेर्दा यो वर्ष १ करोड गाडी उत्पादन गर्ने अनुमान कम्पनीले गरेको छ।
बीवाईडीले उत्पादन गरेको याङवाङ यु–९ विद्युतीय सुपरकारको डेलिभरी सुरु भइसकेको छ। याङवाङ यु–९ चीनको पहिलो न्यु इनर्जी सुपरकार उत्पादन गर्ने शेनशानको नयाँ कारखानामा उत्पादन भइरहेको छ। सन् २००८ देखि सवारी उत्पादन थालेको बीवाईडीले सन् २०२१ को मे महिनामा १० लाख सवारीसाधन उत्पादन गरेको थियो।
त्यसपछि तीन वर्षकै अवधिमा ८० लाख सवारी साधन उत्पादन गर्न सफल भएको छ।
बीवाईडीले उत्पादन गरेको यु–९ मा ४ वटा विद्युतीय मोटरहरू जडान गरिएका छन्। हरेकमा २४० किलोवाट पावर रहेको कम्पनीले दावी गरेको छ। याङवाङ यु–९ सुपरकारको मूल्य १६.८ मिलियन युआन (२३९,१०० अमेरिकी डलर) तोकिएको छ।
यसमा ई–४ प्लेटफर्म र डिसस एक्स सस्पेन्सन सिस्टम जडित गरिएको छ। यो सिस्टमले याङवाङ यु–९ लाई चल्न मद्दत गर्नुका साथै आवश्यक परे तीन पांग्रामा चल्न मद्दत गर्छ। यसका लागि ८० किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। जसले ४५९ किलोमिटर रेन्ज दिने सीएलटिसीले प्रमाणित गरेको छ।
यु–९ ले ५०० किलोवाट सम्मको डुअल–गन चार्जिङको सपोर्ट गर्छ। यो गाडी १० मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यु–९ चीनको पहिलो कार्बन फाइबर बडी स्ट्रक्चरल पार्टस् प्रयोग गर्ने मास–प्रोडक्सन मोडल हो। यसमा संसारकै ठूलो मोनोकोक कार्बन केबिन प्रयोग गरिएको छ।