काठमाडौं। भिनफास्टले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार भीएफ–३ विश्व बजारमा सार्वजनिक गरेको छ। भिनफास्टले आफ्नो उपस्थितिलाई विस्तार गर्दै फिलिपिन्समा भीएफ–३ सार्वजनिक गरेको हो।
जनवरीमा भीएफ–३ सार्वजनिक गरेपछि यो कार भियतनामको बजारमा मात्र नभई इन्टरनेटमा पनि धेरै चर्चित बनेको छ। यसले ‘फोर्ड ब्रङको जस्तो’ डिजाइनका कारण लोकप्रियता पाएको हो। भिनफास्टका बिक्री र मार्केटिङ उप–प्रमुख, ट्रान माई होआका अनुसार यो कार ‘व्यावहारिकता र व्यक्तित्वलाई महत्त्व दिने युवा चालकलाई लक्षित गरिएको छ।’
मे महिनामा भिनफास्टले भीएफ–३ को प्रि–अर्डर खोल्दा यसको प्रारम्भिक मूल्य २३५ मिलियन भियतनामिज् दोङ (४९,२४८ डलर) राखेको थियो। यो मूल्य ब्याट्री सब्सक्रिप्सन मोडलका लागि थियो। ब्याट्रीसहित मोडलको मूल्य ३१५ मिलियन भियतनामिज् दोङ (४१२,३९० डलर) थियो।
भिनफास्टको भीएफ–३ ले भियतनाममा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत ध्यान खिचिरहेको छ। यो सानो इलेक्ट्रिक एसयूभीको डिजाइनले युवा पुस्तालाई विशेष आकर्षित गरिरहेको छ। भी एफ–३को ‘मिनी फोर्ड ब्रङको’ जस्तै देखिने डिजाइनले यसलाई अरू कारभन्दा भिन्न बनाएको छ। यसको सस्तो मूल्यले पनि धेरै ग्राहकलाई आकर्षित गरेको हो।
यो इलेक्ट्रिक एसयूभीले विशेषगरी सहरभित्रको आउतजाउलाई सजिलो बनाउने उद्देश्य राखेको छ। सानो साइजका कारण पार्किङमा समस्या नहुने र दैनिक कामकाजका लागि उपयुक्त मानिएको यो कारले नयाँ पुस्तालाई प्राथमिकतामा राखेको छ।
भीएफ–३ को सफलता भिनफास्टका लागि महत्त्वपूर्ण उपलब्धि हो। यसले कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने अवसर दिएको छ। कम्पनीले फिलिपिन्समा पाएको सफलतापछि भविष्यमा अन्य दक्षिण–पूर्वी एसियाली र अन्तर्राष्ट्रिय बजारमा पनि यो कारलाई विस्तार गर्ने योजना बनाएको छ।
नेपालमा भिनफास्टको आधिकारिक वितरकमा विशाल र मुरारका ग्रुपअन्तर्गतको पारामाउन्ट मोटर्स नियुक्त भएका छन्। केही समयअघि भिनफास्टको आधिकारिक वितरक बनेको पारामाउन्ट मोटर्सले भिनफास्टका विभिन्न मोडल घरेलु बजारमा उतार्ने तयारी गरिरहेको छ।