काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अगाडि बढाएको छ। सरकारले यसअघि व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागि नभएका तीन आकांक्षीलाई पुनः अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि बोलाएको हो।
सेबोन अध्यक्ष सिफारिस छनोट समिति बैठकले बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई असोज १८ मा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो।
यसअघि, २०८० फागुन १५ मा सिफारिस समितिले बोर्ड अध्यक्षका लागि १५ दिन (फागुन ३० सम्म) को समय दिएर आवेदन मागेको थियो जुन अवधिमा १९ जनाको आवेदन परेको थियो। उक्त आवेदक मध्येबाट सेबोनका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी र मुक्ति श्रेष्ठ, नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र व्यवसायी सन्तोषनारायण श्रेष्ठ ‘सर्टलिस्ट’मा परेका थिए।
यसपछि, चैत २५ मा सर्टलिस्ट गरिएका व्यक्तिलाई असार २ मा अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि बोलाइएको थियो। तर, अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्रै सहभागि भए। सिफारिस समितीले अरु प्रतिस्पर्धीलाई सहभागी गराउन असार ५ मा पुनः बोलाइए पनि कोही पनि सहभागि भएनन्।
सर्टलिस्टमा परेका तीन सहभागि नभएपछि छनोट समितिले महान्यायधिवक्ताको राय लिएर नियुक्ति प्रक्रिया रद्ध ग¥यो। तर, अन्तर्वार्तामा सहभागी सन्तोष नारायण छनोट समितिको निर्णयविरुद्ध सर्वोच्च अदालत गए। सर्वोच्चले पनि असार १८ गते बोर्डको अध्यक्ष नियुक्ति प्रत्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दियो। मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन छ।