काठमाडौं । सञ्चालनमा आएको २५ वर्षपछि पाँचतारे लक्जरी होटल हायात रिजेन्सीको स्तरोन्नति हुने भएको छ। काठमाडौंको बौद्धमा सञ्चालित हायात रिजेन्सीमा रहेका २८० कोठा, बैंक्वेट हल र रेस्टुरेन्टको स्तरोन्नति गर्न लागेको हो।
तारागाउँ रिजेन्सी होटल्स सञ्चालक समिति सदस्य सुरेशलाल श्रेष्ठले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित स्तरोन्नतिको काम सुरु भएको बताए। होटल निर्माण सुरु भएको २८ वर्ष र सञ्चालनमा आएकै २५ वर्ष भइसकेकोले सबै कोठाको स्तरोन्नति गरी नयाँ बनाउन लागिएको उनको भनाइ छ।
‘तीन महिना अघिबाट सुरुमा तीन वटा कोठालाई तीन डिजाइनमा स्तरोन्नति सुरु गरिएको छ,’सञ्चालक श्रेष्ठले भने, ‘हायातले स्तरोन्नति गरिएका कोठा निरीक्षणपछि अन्य कोठाको काम सुरु हुन्छ।’
३०० रोपनी क्षेत्रफलमा फैलिएको होटलमा एउटा प्रेसिडेन्टल, एउटा एक्जुकेटिभ गरी ८ स्वीट्स, ४२ क्लब रुम, ३८ भ्यू रुम र बाँकी १९२ वटा हायात स्ट्यान्डर्ड रुम छन्।
होटलका कुनै कोठा वा रेस्टुरेन्टको कुनै डिजाइन परिवर्तन वा संरचना थप गर्दा हायातको अनुमति अनिवार्य हुन्छ। अर्थात् व्यवस्थापनको रुपमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त हायात रिजेन्सी रहेकोले उसको अनुमति र सुझावअनुसार अगाडि बढ्नुपर्ने हुन्छ।
स्तरोन्नतिपछि २८० वटै कोठाको स्वरुप परिवर्तन हुनेछ। २५ वर्षअघिका सामान पुराना भइसकेकोले नयाँ राखिनेछ भने अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त लक्जरी सामान राख्ने तयारी होटलको छ।
हाल रहेको बैंक्वेट हलको पनि स्तरोन्नति गरिनेछ। अहिलेको पुरानो संरचनामा रहेकोले नयाँ डिजाइन अनुसार काम गरिने उनको भनाइ छ। कोठा, बैंक्वेट हल र रेस्टुरेन्ट स्तरोन्नति गर्दा करिब ३ अर्बभन्दा बढी लगानी थप हुने अनुमान सञ्चालक समितिको छ।
पछिल्लो समय नयाँ/नयाँ लक्जरी होटल प्रवेश बढिरहेका बेला हायातले पनि सोही अनुसारका कोठा बनाउन लागिएको जनाएको छ। खासगरी काठमाडौंमा पाँचतारे होटल म्यारियटको प्रवेशपछि मार्केट लिड हायातको हातबाट खोसिएको छ।
विदेशी एवं स्वदेशी पर्यटकको मुख्य रोजाइ हायात परिरहेको बेला म्यारियट भित्रिएपछि केही खस्किएको थियो। त्यसैलाई लक्षित गरेर हायातका कोठा स्तरोन्नति गरी नेपालको पहिलो नम्बर पाँचतारे होटलको रुपमा पुनः परिभाषित गर्ने उद्देश्य रहेको सञ्चालक श्रेष्ठको दाबी छ।
२०५२ पुस १२ मा शिलन्यास गरेर २०५३ साल माघ १९ देखि निर्माण सुरु भएको होटल २०५७ असोजमा उद्घाटन गरिएको थियो।