काठमाडौं । निर्माण सम्झौता भएको झन्डै १० वर्षपछि सुस्तामा झोलुंगे पुल बनेको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपालकै लामो झोलुंगे पुल बनेको हो। पुलको असोज १० मा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दैछन्।
पुल निर्माणसँगै सुस्तावासीलाई वडा कार्यालय जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। नारायणी नदीमा एक हजार पाँच सय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि स्थानीय हर्षित बनेका छन्।
‘पुल हाम्रा लागि लाइफलाइन हो,’ सुस्ताका रवीन्द्र जयसवालले भने, ’निर्माण ढिलो भए पनि विगतमा आफ्नै देशको भूमिभित्र जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। त्यो बाध्यताबाट मुक्त भएका छौं।’
२०७० सालमा झोलुंगे पुल तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता थियो। साढे २३ करोडमा त्रिशुली आश्रय जेभी कन्ट्रक्नसले निर्माण ठेक्का पाएको पुल असारमा निर्माण सम्पन्न भएको हो।
जयसवालका अनुसार २०७४ सालको दोस्रो संविधान सभा निर्वाचनबाट यही क्षेत्रबाट निर्वाचित सांसद देवकरण कलवारले पुलको काम अगाडि बढाउन निर्माण कम्पनीलाई दबाब दिनुका साथै सरकारसँग निरन्तर पहल गरेका थिए।पछिल्लो दुई वर्षयता पुल निर्माणको कामले गति लिएको हो।
यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आएका थिए। उनले सहरी विकास मन्त्रालयलाई आवश्यक बजेट निकासाका लागि पहल गर्नुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका थिए।
सांसद चौधरीले सुस्ता पुलले नेपाली भूमि जोड्ने काम गर्नुका साथै यहाँका नागरिकको दैनिकीमा ठूलो प्रभाव पार्ने बताए। ‘आफ्नै भूमिभित्र जान अर्को देशको बाटो प्रयोग गर्नुपर्ने पीडादायी अवस्था र बाध्यता अन्त्य भएको छ,’ उनले भने, ‘ढिलै भए पनि पुल निर्माण हुँदा नागरिकको जीवनमा खुसी ल्याउनेछ। पुल यस क्षेत्रकै आकर्षक पर्यटकीय गन्तव्य बन्नेछ।’
उनले पुलले सुस्ताको भूगोल मात्रै नजोडी यहाँका नागरिकको भावनालाई पनि जोडेको बताए।
नारायणी नदीमा पुल बनेपछि सुस्तापारि पहिलो पटक बिजुली पुगेको छ। करिब ३५० घरधुरी रहेको सुस्तापारि पुलकै बाटो भएर बिजुली लगिएको हो। झोलुंगे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा विद्युत् पुर्याइएको हो।
सांसद चौधरीले निर्वाचित भएलगत्तै विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङसँग सुस्ताम विद्यतुीकरणका लागि पहल गरेका थिए।
यसैबीच सांसद चौधरीले सुस्तापारिका बासिन्दालाई सहुलियतमा बिजुली उपलब्ध गराउन सरकारसँग पहल सुरु गरेका छन्। उनले ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलाई लिखित पत्र पठाउँदै सहुलियतको बिजुलीका लागि आग्रह गरेका हुन्।
‘हाम्रो पहिलो प्राथमिकतामा सुस्तालाई पुलले जोड्ने र त्यही पुलबाट बिजुली लैजाने प्रबन्ध गर्ने थियो। यो दुवै काम एकैपटक सम्पन्न भएको छ। अब सरकारले यहाँका नागरिकलाई सहुलियतको बिजुली उपलब्ध गराउनुपर्छ, त्यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण रुपमा पहल भइरहेको छ। यसमा पनि सकारात्मक परिणाम आउने विश्वास छ,’उनले भने। सुस्ता पुलले यहाँको पर्यटन विकासमा ठूलो योगदान पुग्ने स्थानीयको विश्वास छ।