काठमाडौं । वर्षैपिच्छे घटिरहेको दुईपांग्रे सवारीसाधन आयात विगतको तुलनामा दोब्बरले बढेकाे छ। विगत वर्षमा घटिरहेको दुईपांग्रे सवारीसाधनआयात चालू आर्थिक वर्षको दुई महिनामा उल्लेख्य बढेको हो।
विगतमा आर्थिक मन्दी, क्रयशक्तिमा आएको शिथिलता, बढ्दो बेरोजगारीलगायतले पनि दुईपांग्रेको बजारमा असर देखिएको थियो। विस्तारै सुधार हुँदै गएको अर्थतन्त्र र बढ्दै गएको व्यक्तिको आवश्यकताका कारण आयात वृद्धि भएको देखिन्छ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा ४७ हजार ९२५ युनिट मोटरसाइकल तथा स्कुटर नेपाल भित्रिएका छन्। दुई महिने अवधिमा ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको दुईपांग्रे सवारीसाधन नेपाल भित्रिएका छन्। त्यसबाट सरकारले ५ अर्ब ७२ करोड बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा २ अर्ब ९९ करोड रुपैयाँ बराबरको २६ हजार ७३७ युनिट मोटरसाइक तथा स्कुटर नेपाल भित्रिएको थियो। गत वर्षको तुलनामा यस वर्ष भित्रिएको मोटरसाइकल तथा स्कुटरको संख्या २१ हजार १८८ युनिटले बढी हो।
हाल नेपाली बजारमा विभिन्न नयाँ ब्रान्डका दुईपांग्रे सवारीसाधन छन्। नयाँ–नयाँ ब्रान्डको इन्ट्री भएका कारण पनि दुईपांग्रे सवारीसाधनको आयातमा वृद्धि भएको हंसराज हुलासचन्द एन्ड कम्पनीका बजार हेड अमितराज चालिसे बताउँछन्।
‘अहिले धेरै ब्रान्डका नयाँ–नयाँ बाइक तथा स्कुटर आएका छन्। दसैं तिहारको समय अटो क्षेत्रमा अलि धेरै चहलपहल हुन्छ,’ उनले भने, ‘पहिलेभन्दा अहिले अधिकांश कम्पनीले ग्राहक लक्षित विभिन्न स्किम ल्याएर भारी छुट दिएकाले सबै कम्पनीको बिक्री बढिरहेको छ। बिक्री बढेपछि आयातमा वृद्धि हुने हाे।’
दुईपांग्रे सवारीसाधन न्यून अायस्तर भएका मानिसले पनि प्रयोग गर्ने भएकाले आयातमा वृद्धि भएको लुयान स्कुटरका मार्केटिङ हेड शकंर शर्मा बताउँछन्।
‘विगतमा ईभी र आइसिई इन्जिन दुईपांग्रे सवारीमा तुलना गर्ने र कसरी फाइदा होला भनेर ब्रान्डमा अल्झिरहेका थिए। तर, अहिले विश्वका राम्राराम्रा ब्रान्ड पनि नेपालमा रहेछन् भन्ने थाहा भएपछि ग्राहकमा विश्वास बढ्दै गएकाले बिक्रीमा वृद्धि आएको छ,’ उनले भने, 'बजारमा ग्राहकको विश्वास बढ्दै गएकाले आयातमा वृद्धि भएको होला।’
नेपाल भित्रिने दुईपांग्रे सवारीसाधनमा ५० देखि २०० सिसी क्षमताका ठूलो मात्रामा आउने गरेको छ। भन्सार तथ्यांक अनुसार दुई महिने अवधिमा ५० देखि २०० सिसीका ४४ हजार ५८६ युनिट मोटरसाइकल तथा स्कुटर नेपाल आयात भएका छन्। त्यस्तै, २०० देखि ८०० सिसी क्षमताको ३ हजार ३३९ युनिट दुईपांग्रे सवारी साधन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।