काठमाडौं । एक दशकमा बैंकिङ क्षेत्रले होटल तथा पर्यटन क्षेत्रमा ६ गुणा बढीले ऋण बढाएका छन्। सरकारले पर्यटन क्षेत्रको विकास तथा विस्तारलाई प्राथमिकतामा राखेसँगै बैंक तथा वित्तीय संस्थाले पनि यो क्षेत्रमा खर्ब बढी लगानी गरेका हुन्।
गत आर्थिक वर्षसम्म बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक)ले कुल २ खर्ब २० अर्ब ५७ करोड रुपैयाँ बढी होटल तथा पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेका थिए। बैंकले यो क्षेत्रमा १० वर्षअघि अर्थात् आर्थिक वर्ष २०७०/७१ मा कुल ३० अर्ब ४८ करोड मात्रै कर्जा प्रवाह गरेका थिए। सरकार ‘पर्यटन दशक’को तयारीमा रहँदा बैंक तथा वित्तीय संस्थाले १० वर्षको अन्तरालमा होटल तथा पर्यटनमा १ खर्ब ९० अर्बले ऋण थपेका हुन्।
होटल तथा पर्यटन क्षेत्रमा गत वर्षसम्म प्रवाहित कुल कर्जा मध्ये ठूला तारे तथा साना होटलमा मात्रै बैंकले कुल १ खर्ब ९५ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। बाँकी २४ अर्ब ८६ करोड रुपैयाँ ट्रेकिङ, माउन्टेनिङ, रिसोर्ट, र्याफ्टिङ र क्याम्पिङलगायतमा कर्जा प्रवाह भएको हो।
होटलको कर्जा १० वर्षमा साढे ७ गुणाले बढेको हो। आर्थिक वर्ष २०७०/७१ मा होटललाई मात्रै बैंकहरुले २२ अर्ब ९९ करोड कर्जा दिएका थिए। उक्त आवमा ट्रेकिङ, माउन्टेनिङ, रिसोर्ट र्याफ्टिङ र क्याम्पिङलगायतमा ७ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।
बैंकिङ क्षेत्रले सम्भावना देखेर होटल तथा पर्यटन क्षेत्रमा लगानी बढाइरहे पनि त्यसको उचित प्रतिफल आउने गरी व्यवसाय सञ्चालन हुन केही सुधार आवश्यक रहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बताउँछन्। ‘यो क्षेत्रलाई बैंकहरुले पनि प्राथमिकतामा राखेर लगानी बढाउँदै गएका छन्। नयाँ होटल निर्माणमा उल्लेख्य वृद्धि भएको छ,’ गभर्नर अधिकारीले भने, ‘नेपालको हस्पिटालिटी क्षेत्रको लगानी वृद्धि गर्दै पर्यटन विकासलाई बढावा दिन र देशलाई विश्वव्यापी पर्यटक गन्तव्यको रूपमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण छ। यसका लागि लगानी मात्रै नभएर आतिथ्य सेवा सुधारेकाे अनुभूति ग्राहकले गर्नुपर्छ।’
राष्ट्र बैंकले पर्यटन क्षेत्रलाई प्राथमिकताको क्षेत्रको रूपमा मान्यता दिएर यो क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गरेकै कारणले बैंकहरुले सम्भावना देखेर कर्जा प्रवाह बढाएको उनको भनाइ छ।
होटल तथा पर्यटन क्षेत्रमा कुन वर्षमा कति लगानी
गत आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा वाणिज्य बैंकले १ खर्ब ९९ अर्ब, विकास बैंकले २७ अर्ब १८ करोड र वित्त कम्पनीले ५ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। याे १० वर्षको अवधिमा वाणिज्य बैंकहरुले ७ गुणा अर्थात् १ खर्ब ७४ अर्ब, विकास बैंकले ३ गुणा अर्थात् २० अर्ब ९० करोड र वित्त कम्पनीले २ गुणा अर्थात् ३ अर्ब ५४ करोड रुपैयाँले कर्जा थप गरेका हुन्।
आर्थिक वर्ष २०७०/७१ मा होटल तथा पर्यटन क्षेत्रमा वाणिज्य बैंक २४ अर्ब ८४ करोड, विकास बैंकले ६ अर्ब २७ करोड र वित्त कम्पनीले १ अर्ब ७८ करोड कर्जा प्रवाह गरेका थिए।
(बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७०÷७१ देखि आर्थिक वर्ष ०८०/८१ सम्म गरेको ऋण लगानी रु १० लाखमा)
पूर्वधार निर्माणमा अझै प्रश्न
सन् २०११ मा नेपालमा पहिलो पटक सरकारले पर्यटन वर्ष मनाएर सन् २०२० लाई पुनः भ्रमण वर्ष मनाउने घोषणा गरी सोहीअनुसारको नीतिगत तथा वित्तीय सहुलियत दिने प्रतिबद्धता गरेको थियो। सरकारले पर्यटन क्षेत्रको आर्थिक गतिविधि विकास र विस्तारमा फड्को मार्ने विभिन्न समयमा यस्ता घोषणा गर्दै निश्चित पर्यटक भित्र्याउने लक्ष्य राख्छ। तर, कार्यान्वयनका लागि निजी क्षेत्रकै होटल तथा पर्यटन व्यवसायीले आवश्यक पूर्वाधार विस्तार गरे पनि सोअनुसार व्यापार नहुँदा मर्कामा परेको होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन्।
‘आज हामीसँग २९ लाख पर्यटक धान्न सक्ने क्षमता छ। पर्यटक भित्र्याउन खर्बाैं लगानी गरिसक्यौं,’ हान अध्यक्ष शाहले भने, ‘हरेक मुलुकले कति पर्यटक धान्न सक्छ, सोहीअनुसारको लक्ष्य राखेर पूर्वाधार निर्माणमा लगानी गर्नुपर्छ।’
सरकारले पर्यटन भित्र्याउने परिमाणको लक्ष्य तय गर्नुपूर्व पर्यटक केन्द्रित नीति नियम निर्माण गरी सोहीअनुसारको अन्य आवश्यक पुर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नु पर्ने उनको भनाइ छ। सरकार र निजी क्षेत्रले प्राथमिकता दिएर अगाडि बढे पर्यटनले अर्थतन्त्र, देश र समाजलाई थप योगदान दिन सक्ने उनले बताए।
बैंकहरुले होटल तथा पर्यटन क्षेत्रमा खर्बौं रुपैयाँ ऋण लगानी गरिसकेका छन्। तर, यो क्षेत्रमा पूर्वाधार निर्माणमा भने अझै उपत्यका केन्द्रित मात्रै रहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी बताउँछन्।
‘नेपालमा भएका धेरैजसो होटल काठमाडौं केन्द्रित छन्। पूर्वाधारको कमी र बजार पहुँच अभावले उपत्यकाबाहिर होटल कम भएको देखिन्छ,’ बोर्डका सीईओ जोशीले भने, ‘पूर्वाधार सहज बनाए होटलको उपस्थिति काठमाडौं बाहिर पनि जान्छ।’ नेपालले छिमेकी चीन र भारतजस्तो पर्यटन क्षेत्रका लागि अन्तर्राष्ट्रिय विमानस्थल, सडक सञ्जाललगायत आवश्यक पूर्वाधार निर्माणमा जाेड दिनुपर्ने उनकाे धारणा छ।