काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रास्फीति गणनाको नयाँ आधार वर्ष तयार गरेको छ। केन्द्रीय बैंकले नेपाल जीवनस्तर सर्वेक्षण (चौथो) को आधारमा उपभोक्ता मूल्य सूचकांक आधार वर्ष २०८०/८१ तयार गरेको हो।
राष्ट्र बैंकले अबदेखि शोधानान्तर स्थितिको नयाँ गणना विधि ब्यालेन्स अफ पेमेन्ट म्यानुअल (बिपिएम६) सार्वजनिक गर्ने भएको छ। केन्द्रीय बैंकले तयार भएको आधार वर्षअनुसार नै उपभोक्ता मुद्रास्फीतिको तथ्यांक संकलन गरी सोहीअनुसार गणना गर्नेछ।
मुद्रास्फीति गणनाको ९ वर्षअघिको आधार वर्षलाई खारेज गरेर नयाँ आधार सुरु गरिएको हो। राष्ट्र बैंकले अबदेखि सप्ताहिक, मासिक र वार्षिक रुपमै उपभोक्ता मूल्य सूचकांक तयार गर्नेछ।
हालसम्म राष्ट्र बैंकले २०१४/०१५ लाई आधार वर्ष राखेर उपभोक्ता मूल्य सूचकांक तयार गरिरहेको थियो। अब २०८०÷८१ उपभोक्ता मूल्य सूचकांक आधार वर्ष राखेर मुद्रास्फीति गणना गर्नेछ।
उपभोक्ताको बदलिँदो उपभोग प्रवृत्तिअनुसार मूल्य सूचकांकलाई परिवर्तन आवश्यक परेकाले नयाँ आधार वर्ष तयार गरिएको राष्ट्र बैंकले जनाएको छ। पहिले ५० जिल्लाको ६० वटा बजार केन्द्रबाट मूल्य संकलन गरिएको थियो।
नयाँ आधार वर्षमा ७७ जिल्ला जिल्लाकै ८७ वटा बजार समेटिनेछ भने प्रादेशिक संरचानाअनुसार उपभोक्ता मूल्य सूचकांक तयार गरिने राष्ट्र बैंकले बताएको छ।
उपभोक्ता मूल्य सर्वे प्रतिवेदनले प्रदेश सरकारका कामलाई पनि सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकको छ। राष्ट्र बैंकले मुद्रास्फीति गणनाको नयाँ आधार वर्ष केही वस्तुलाई सूचीबाट हटाएको छ भने केही वस्तु थपेको छ।
नयाँ आधार वर्षमा ५२५ वस्तुको निरन्तर मूल्य संकलन हुनेछ। यसमा साप्ताहिक ५९ वटा, मासिक ८४ वटा र त्रैमासिक ३७२ वस्तु छन्। तथ्यांक संकलनका लागि स्थानीय विद्यालयका शिक्षकलाई जिम्मेवारी दिइनेछ भने संकलित तथ्यांक अर्को स्थानीय विद्यालयका शिक्षकलाई भेरिफाइ गर्न लगाइने राष्ट्र बैंकले जनाएको छ।