काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सहारा बहुउद्देश्यीय सहकारीबाट ४४६ बचतकर्ताको साढे ३७ करोड बढी रकम अपचलन अभियोगमा जितेन्द्रबाबुर (जीबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ। सहरा सहकारी चितवनको नारायणगढमा रहेको छ।
सहकारीबाट रकम अपचलन प्रमाणित भएपछि ठगी कसुरमा उनीहरुविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जानकारी दिएको हो।
जिल्ला वकिल सरकारी कार्यालयले सहकारी रकम अपचलन अभियोगमा सहरा सहकारीका अध्यक्षसमेत रहेका जीबी, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा, थानबहादुर बुढामगर, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशीष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछानेको संलग्नतामा सहकारीको रकम अपचलन भएको अभियोगपत्रमा उल्लेख छ।
जीबी राई समूहले ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन गरेकाले सोही बराबर बिगो, जरिमाना र कैद सजाय अभियोगपत्रमा मागिको छ। ग्यालेक्सी टेलिभिजनको अध्यक्षसमेत रहेका राईको संलग्नतामा पाँच वटा सहकारीबाट अर्बैं रकम अपचलन गरिएको संसद्ले गठन गरेको सहकारी रकम दुरुपयोग संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। राई हाल फरार छन्।