काठमाडौं । नेपालको प्रविधि कम्पनी स्वीफ्ट र इन्भेस्टियाको सहकार्यमा आन्टरप्रेनर समिट नेपाल २०२४ आयोजना हुने भएको छ। आउँदो असोज १९ गते काठमाडौंको सोल्टी होटलमा सम्मेलन हुन लागेको हो।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताको सहभागिता हुने बताइएको छ। कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका उद्यमी, लगानीकर्ता र व्यावसायिक नेतृत्वकर्तालगायत उपस्थित हुनेछन्।
नेपालमा विदेशी लगानी र अवसर सिर्जना गर्न समिट महत्वपूर्ण हुने आयोजकको विश्वास छ। सम्मेलनमा एक्सिलेरेट भेन्चर्सका सहसंस्थापक र प्रबन्धक साझेदार लिओ लिउ, एसिया सीईओ कम्युनिटी हङकङका संस्थापक र सीईओ ग्यारी लाम, एक्सिलेरेट, हङकङका लविन हेलमानी र फिनटेक ग्लोबल बैंकिङ सोलुसन्स बेलायतका माइकल होलगायत अन्तर्राष्ट्रिय वक्ताको रूपमा आउँदैछन्।
सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र लगानी बोर्डका सीईओ सुशील ज्ञवाली पनि सहभागी हुने बताइएको छ।
उद्यमशीलताबारेमा छलफल हुने कार्यक्रममा हङकङ, सिंगापुर, भारत र नेपालका प्रतिष्ठित व्यवसायिक व्यक्ति सहभागी हुनेछन्।
यसले स्टार्टअप संस्थापक, व्यवसायिक नेतृत्वकर्ता र लगानीकर्तालाई नेटवर्किङ, रणनीति साझेदारी र सहकार्यको अवसर प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।
स्वीभ्टले गत वर्ष फिनटेक सम्मेलनको रूपमा पिएसपी सम्मेलन २०२३ आयोजना गरेको थियो। सम्मेलनमा इसेवा, खल्ती, फोनपे, मोरु, डिजिपे, सिजीपे, आईपे जस्ता प्रमुख फिनटेक कम्पनी र नबिल बैंक, ग्लोबल बैंक, सिटिजन बैंक जस्ता ठूला वित्तीय संस्थाले भाग लिएका थिए।
यस पटकको उद्यमी शिखर सम्मेलन २०२४ मा नेपालको स्टार्टअप इकोसिस्टमलाई विश्वव्यापी मञ्चमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। आन्टरप्रेनर समिटमा सहभागी हुन चाहनेले https://events.khalti.com/events/ET24BUAKBVDK लिंकमा गएर टिकट खरिद गर्न सक्नेछन्।