काठमाडौं। सेयर बजार २४४३.२८ बिन्दुमा पुगेर फर्किएको छ। साताको कारोबारको चौथो दिन बुधबार ११ बजेर ३३ मिनेटमा २४४३.२८ बिन्दुसम्म झरेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) त्यसपछि उकालो लागेर ४९.१८ अंकको वृद्धिकासाथ २५१९.५७ बिन्दुमा बन्द भएको हो।
अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा बन्द भएको थियो। यस्तै, सोमबार पनि नेप्से ५९.०२ अंकले घटेको थियो भने आइतबार भने ११.५८ अंकले बढेको थियो। त्यसअघिका तीन कारोबार दिन पनि नेप्सेमा लगातार गिरावट आएको थियो।
बुधबार नेप्से सूचक बढेपनि कारोबार रकम भने घटेको छ। आज नेप्सेमा कुल ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने ५ अर्ब ५३ करोड र सोमबार ५ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये २२३ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज वीन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत र थ्री स्टार हाइड्रोपावर गरी पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।
अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा पनि हिमालयन हाइड्रोपावरको सेयर मूल्य ६.३६ र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.१९ प्रतिशतले घटेको छ।
बुधबार बैंकिङ समूहको सेयर मूल्य १.८० प्रतिशत, विकास बैंक समूहको २.७५ प्रतिशत, फाइनान्सको ३.८० प्रतिशत, होटल तथा पर्यटन समूहको ३.५० प्रतिशत र जलविद्युत समूहको २.६० प्रतिशतले बढेको छ।
यस्तै, लगानी समूहको सेयर मूल्य १.५६ प्रतिशत, जीवन बिमा समूहको १.९१ प्रतिशत, उत्पादन समूहको १.४४ प्रतिशत, लघुवित्त समूहको १.४९ प्रतिशत र निर्जीवन बिमा समूहको १.६७ प्रतिशतले घटेको छ।