काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलद्वारा स्थापित एनसेल फाउन्डेसनले झापाको बिर्तामोड नगरपालिका–५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर आयोजना गरेको छ।
निःशुल्क शिविरमा १२० बढी स्थानिय महिला सहभागी थिए भने त्यसमध्ये ९० बढीले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएको एनसेलले जनाएको छ। नेपाल क्यान्सर फाउन्डेसन र पूर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर आयोजना गरेको हो।
पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा पर्दछ। सन् २०२२ मा मात्रै २,१६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएको पाईएको थियो भने यस रोगको कारण १,३१३ जनाले आफ्नो ज्यान गुमाएको सरकारी तथ्यांक छ।शिविरमा आएका महिलाले निःशुल्क शिविर आयोजना गरेकामा एनसेललाई धन्यवाद दिएका थिए।
शिविरले महिलालाई स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमै निवारक स्वास्थ्य सेवा लिन प्रोत्साहित गर्दै पाठेघरको मुखको क्यान्सरबाट बच्न प्रारम्भिक पहिचान एवं रोकथामका लागि नियमित स्क्रिनिङ र सम्बन्धित परीक्षण गर्न चेतना जगाउने विश्वास एनसेलको छ। एनसेल फाउन्डेसनले कोसी प्रदेशमा ६,००० बढी महिलाको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ।
‘हाम्रो स्क्रिनिङ पहुँच नभएकासम्म पुग्ने लक्ष्यमा आधारित छ। अधिकांश मृत्यु पाठेघरको मुखको क्यान्सर रोकथाम, स्क्रिनिङ र उपचारमा अपर्याप्त पहुँचका कारण कम र निम्न मध्यम आय भएका महिलामा भएका छन्। ८० प्रतिशत बढी पाठेघरको मुखको क्यान्सरका रोगीले अन्तिममा आएर मात्र रोग लागेको थाहा पाउँछन्। कोसी प्रदेशमा सुरु भएको पाइलट प्रोजेक्टको सफलतापछि आगामी दिनमा यस किसिमका पहल अन्य प्रदेशमा पनि विस्तार गर्नेछौं’, एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्।
एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सव अवसरमा एनसेल फाउन्डेसन घोषणा गरेको थियो। फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्य गर्ने योजना बनाएको छ। एनसेलले शिक्षा, वातावरण र स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सामाजिक परियोजना कार्यान्वयनका लागि २ अर्ब बढी योगदान गरिसकेको एनसेलले जनाएको छ।