काठमाडौं। चीन भ्रमणमा रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चिनियाँ समकक्षी हि लिफेङबीच राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ। सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएकाे छ।
भेटमा उपप्रधामन्त्री हि लिफेङले चीन सरकारका तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमतिबमोजिम सहयोगका परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने बताए। उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाए छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौं रेल निर्माण, टोखा–छहरे सुरुङ मार्ग, किमाथांका–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्कलगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरे।
त्यसैगरी चीनका विभिन्न सहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाइ सेवा विस्तारका लागि सहयोग गर्न पनि आग्रह गरे।
भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालका तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र काम अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए।
करिब एक घण्टा भएको भेटवार्तामा नेपालका तर्फबाट उपप्रधान एवं अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारी सहभागी थिए।
चीन सरकारको तर्फबाट उपप्रधानमन्त्री हि लिफेङ, यातायात मन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेसनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, नागरिक उडड्यन प्रमुख सोङ च्योङलगायतका अधिकारी सहभागी थिए।