नेपाल राष्ट्र बैंकद्वारा आयोजित पहिलो हिमालय शमशेर स्मृति व्याख्यान दिने निमन्त्रणा पाउँदा खुसी छु। यो मेरा लागि ठूलो सम्मान हो। राष्ट्र बैंकले हिमालय शमशेर राणाको सम्मानमा व्याख्यान शृंखला सुरु गरेकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले १९५६ देखि १९६१ सम्म पहिलो गभर्नरको रूपमा नेपालको मौद्रिक र वित्तीय प्रणालीको विकासमा ठूलो योगदान गर्नुभएको छ। उहाँको प्रयासले नेपालको प्रमुख वित्तीय संस्थाहरूको जग बसालेको थियो र देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको थियो। नेपाल र भारतबीच लामो समयदेखि सम्बन्ध कायम रहेको छ। यो मात्र दुई देशबीचको सम्बन्ध होइन, यो जनताबीचको निकट सम्बन्ध पनि हो। नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच आपसी सहयोगमा आधारित बलियो सम्बन्ध रहेको छ।
परम्परागत रूपमा केन्द्रीय बैंकहरू आर्थिक स्थिरता र वित्तीय स्थिरताको रक्षकको रूपमा काम गरेका छन्। पछिल्ला केही वर्षमा केन्द्रीय बैंकहरूले महामारी र अन्य विश्वव्यापी झट्काबाट आफ्नो अर्थतन्त्र र वित्तीय प्रणालीलाई जोगाउन अग्रभागमा रहेर काम गरे। विश्वव्यापी अशान्ति र अनिश्चितताका यस विषम समयमा केन्द्रीय बैंकहरूले परम्परागत सिद्धान्तलाई सम्हाल्नुपर्ने भयो। त्यसैले, केन्द्रीय बैंकहरूको विकास, विगतका समस्याबाट सिकाइ, र भविष्यका चुनौतीको तयारीबारे छलफल गर्न ‘२१औं शताब्दीमा केन्द्रीय बैंकिङः बदलिँदो परिवेश’ विषयमा बोल्न चाहेको हुँ।
विगतका चुनौतीले केन्द्रीय बैंकहरूलाई सिक्न र परिमार्जित हुन बाध्य पारेको छ। विशेषगरी मूल्य स्थिरता र वित्तीय स्थिरताबीचको सम्बन्ध अझ प्रस्ट भएको छ। केन्द्रीय बैंकहरूले नीति निर्माण गर्दा यी दुईबीचको सन्तुलनलाई राम्रोसँग व्यवस्थापन गर्नुपर्ने देखिन्छ। त्यसैले २१औं शताब्दीमा केन्द्रीय बैंकहरूको भूमिका अझ विस्तारित भएको छ र उनीहरूले नयाँ चुनौती सामना गर्न आधुनिक उपकरण प्रयोग गर्नुपर्छ। साथै, जलवायु परिवर्तन, भू–राजनीतिक अशान्ति, प्राविधिक प्रगति, र कृत्रिम बौद्धिकताजस्ता चुनौती पनि २१औं शताब्दीमा केन्द्रीय बैंकहरूका लागि महत्त्वपूर्ण हुन गएका छन्।
केन्द्रीय बैंकहरूले आफ्नो भूमिकालाई समयानुकूल परिमार्जन गर्दै यी चुनौती सामना गर्न तयार रहनुपर्छ। २०औं शताब्दीको अन्त्यसम्म केन्द्रीय बैंकिङको सिद्धान्त र व्यवहारमा केही मुख्य सिद्धान्तमा सहमति भएको थियो। पहिलो सिद्धान्त थियो कि मूल्य स्थिरता केन्द्रीय बैंकको मुख्य जिम्मेवारी हो। यस सिद्धान्तको उद्गम १९७० को दशकको ‘मुद्रास्फीति संकट’ बाट भएको हो। त्यसपछि १९९० को दशकदेखि मुद्रास्फीति लक्ष्यीकरण नीति धेरै देशमा अपनाइएको थियो। दोस्रो सिद्धान्त थियो, केन्द्रीय बैंकहरूले आफ्नो नीति नियममा आधारित भएर कार्य गर्नुपर्छ। तेस्रो सिद्धान्त थियो, केन्द्रीय बैंकको स्वतन्त्रता, जसले केन्द्रीय बैंकलाई मूल्य स्थिरता प्राप्त गर्न आफ्नो नीति स्वतन्त्र रूपमा प्रयोग गर्न सशक्त बनायो।
तर, २१औं शताब्दीको सुरुदेखि विश्वव्यापी वित्तीय संकट, महामारी, मुद्रास्फीति, र भू–राजनीतिक तनावहरूले केन्द्रीय बैंकिङमा धेरै परिवर्तन ल्याएका छन्। केन्द्रीय बैंकहरूले संकटको समयमा नीति ब्याजदर घटाएर अर्थतन्त्रलाई सहारा दिएका थिए, तर हालसालै उनीहरूले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउनुपरेको छ। नयाँ शताब्दीले केन्द्रीय बैंकिङमा केही महत्त्वपूर्ण पाठ सिकाएको छ। पहिलो पाठ, मूल्य स्थिरता र वित्तीय स्थिरताबीचको सम्बन्धलाई अलग–अलग हेर्नुहुँदैन। उदाहरणका लागि, ब्याजदर अधिक हुँदा वित्तीय स्थिरतामा प्रभाव पर्न सक्छ। त्यसैले, मूल्य र वित्तीय स्थिरताका लागि सन्तुलित नीति आवश्यक छ।
दोस्रो, परिवर्तन केन्द्रीय बैंकहरूको लक्ष्य र उपकरणमा देखिन्छ। जहाँ पहिले मूल्य स्थिरतामा मात्र ध्यान दिइन्थ्यो, अहिले आर्थिक स्थिरता, वित्तीय स्थिरता, र दिगो वृद्धि जस्ता बहुआयामिक जिम्मेवारी छन्। केन्द्रीय बैंकहरूले अहिले ब्याजदर, नियमन, र वित्तीय पर्यवेक्षण जस्ता धेरै उपकरण प्रयोग गरिरहेका छन्। तेस्रो, केन्द्रीय बैंकहरूको सञ्चार क्षमता महत्त्वपूर्ण भएको छ। विगतमा, केन्द्रीय बैंकहरूले कम बोल्नु उचित मानिन्थ्यो, तर अहिले स्पष्ट र प्रभावकारी सञ्चार नीति निर्माणको महत्त्वपूर्ण उपकरण बनेको छ।
चौथो, केन्द्रीय बैंकहरू र सरकारबीचको नीतिगत समन्वय पनि महत्त्वपूर्ण भएको छ। महामारीको समय सरकार र केन्द्रीय बैंकले मिलेर काम गरे, जसले संकटको प्रभावलाई घटायो। पाँचौं, उदीयमान बजार अर्थतन्त्रले पछिल्ला संकटको सामना गर्न बलियो प्रदर्शन गरेका छन्। विगतका संकटबाट सिकेर यी अर्थतन्त्रले वित्तीय स्थिरता, मुद्रास्फीति नियन्त्रण, र आर्थिक स्थायित्वमा ध्यान दिएर राम्रो प्रदर्शन गरेका छन्।
भारतीय सन्दर्भमा, भारतीय रिजर्भ बैंकले मूल्य स्थिरता मात्र नभई वित्तीय स्थिरता पनि प्राथमिकतामा राखेको छ। हाम्रो नीतिले भारतलाई धेरै संकटबाट जोगाएको छ र भारतीय अर्थतन्त्रले बलियो पुनरुत्थान गरेको छ। मुद्रास्फीति नियन्त्रणमा छ, बाह्य क्षेत्र स्थिर छ र बैंक तथा वित्तीय क्षेत्रको अवस्था राम्रो छ।
२१औं शताब्दीका चुनौतीलाई सामना गर्न केन्द्रीय बैंकहरूले जलवायु परिवर्तन, भू–राजनीतिक अशान्ति, प्रविधि विकास, डिजिटल वित्तीय प्रणालीको समावेशीकरण, र कृत्रिम बौद्धिकताजस्ता नयाँ विषयवस्तुमा ध्यान दिनुपर्नेछ।
संकटले हामीलाई सधैं नयाँ पाठ सिकाउँछन्। २०औं शताब्दीका संकटले आर्थिक नीति निर्माणलाई अगाडि बढायो। हालैका संकटले केन्द्रीय बैंकहरूको भूमिकामा महत्त्वपूर्ण परिवर्तन ल्याएका छन्। केन्द्रीय बैंकहरूले यथासमय आफ्नो भूमिका परिमार्जन गर्दै आगामी चुनौती सामना गर्न तयार रहनुपर्छ। २१औं शताब्दीमा केन्द्रीय बैंकहरूले सामना गर्नुपर्ने पहिलो चुनौती जलवायु परिवर्तन हो। यो, यदि समयमै सम्बोधन नगरिए वित्तीय स्थिरता र मूल्य स्थिरतामा गम्भीर असर पुर्याउन सक्छ। अत्यधिक मौसमसम्बन्धी घटनाले आर्थिक गतिविधिमा क्षति, मूल्यवृद्धिमा दबाब र वित्तीय संस्थाको ऋण जोखिम बढाउन सक्छ। त्यसैले केन्द्रीय बैंकहरूले जलवायु परिवर्तनसम्बन्धी जोखिमलाई ध्यानमा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता छ। यद्यपि, जलवायु परिवर्तनको समस्या समाधान गर्न मुख्य भूमिका सरकार र अन्य निकायको नै हुनेछ। तर, केन्द्रीय बैंकहरूले पनि यसमा सहयोग पुर्याउन सक्छन्।
दोस्रो चुनौती भनेको निरन्तर चलिरहेको भू–राजनीतिक तनाव र भू–आर्थिक विभाजन हो। पछिल्ला केही वर्षको अनुभवले देखाएको छ कि केन्द्रीय बैंकहरूले धेरै स्रोतका आघातको सामना गर्नुपर्नेछ, जसमा आपूर्ति शृंखला विघटन र व्यापार तथा पुँजी प्रवाहमा अवरोधजस्ता मुद्दा छन्। यी समस्या प्रायः परम्परागत आर्थिक मोडलमा समेटिँदैनन्, त्यसैले केन्द्रीय बैंकहरूले यी चुनौती सामना गर्न चनाखो, समयमै र राम्रोसँग समायोजन गर्नुपर्ने हुन्छ। तेस्रो चुनौती भनेको प्रविधिको व्यापकता हो। वित्तीय क्षेत्रमा प्रविधिले ठूलो परिवर्तन ल्याइरहेको छ। बैंकिङ प्रणालीमा आएको प्रविधिकीय परिवर्तनले महामारीको समय डिजिटल भुक्तानी प्रवर्द्धन गर्न ठूलो मद्दत पुर्याएको थियो। डिजिटल वित्तीय पूर्वाधारले भारतलाई कम समयमा ठूलो वित्तीय समावेशीकरण हासिल गर्न मद्दत गरेको छ। यसले भविष्यमा पनि ठूलो सम्भावना देखाउँछ।
चौथो चुनौती भनेको वित्तीय प्रविधि (फिनटेक) नवप्रवर्तन हो। फिनटेकले नयाँ अवसर खोल्दै छ, तर यसले वित्तीय स्थिरताका लागि जोखिम पनि उत्पन्न गर्न सक्छ। यसले डिजिटल ऋणदाताको नियमन, उपयुक्त अभ्यास पालन, डाटा सुरक्षालगायतका विषयलाई केन्द्रीय बैंकहरूका लागि चुनौतीको रूपमा प्रस्तुत गरेको छ। पाँचौं चुनौती भनेको कृत्रिम बौद्धिकता र मेसिन लर्निङ हो। यी प्रविधिले केन्द्रीय बैंक र वित्तीय सेवा क्षेत्रमा ठूलो सम्भावना ल्याएको छ। तर, यसले डाटा गोपनीयता, 'एल्गोरिदिक' पूर्वाग्रह, साइबर सुरक्षा र नैतिक मुद्दा पनि खडा गरेको छ। यसका लागि केन्द्रीय बैंकहरूलाई नयाँ क्षमता विकास गर्न आवश्यक छ।
निष्कर्षमा, २१औं शताब्दीमा केन्द्रीय बैंकहरूले यी सबै चुनौती सामना गर्न तयार हुनुपर्नेछ। जलवायु परिवर्तन र भू–राजनीतिक तनावले मूल्य स्थिरता र आर्थिक वृद्धि कम गर्न सक्छन् भने प्रविधि र कृत्रिम बौद्धिकताले उत्पादकत्व बढाउन र लागत घटाउन मद्दत गर्न सक्छन्। यसैले, केन्द्रीय बैंकहरूको क्षमता, नीतिगत लचकता र नवप्रवर्तनप्रति चनाखो रहनु २१औं शताब्दीको वित्तीय परिदृश्यलाई परिभाषित गर्नेछ।
हरेक संकटले नयाँ पाठ र विचार ल्याउँछ। १९३० को महामन्दीले माग व्यवस्थापनको महत्त्वलाई बलियो बनायो। १९७० को महावृद्धिले नीतिगत विश्वसनीयताको महत्त्वलाई जोड दियो। २००८ को विश्वव्यापी वित्तीय संकटले वित्तीय स्थिरता र समग्र आर्थिक स्थिरतालाई एकसाथ हेर्नुपर्ने पाठ दियो। पछिल्ला संकटले नीति निर्मातालाई चनाखो, अग्रगामी र नवप्रवर्तनशील हुनुपर्ने आवश्यकतामा जोड दिएको छ। आजको विश्वमा केन्द्रीय बैंकिङ सिद्धान्त र अभ्यासमा केही परिवर्तन भइरहेका छन्। भारतीय रिजर्भ बैंकको सन्दर्भमा, हाम्रो उद्देश्य भनेको सतर्क र अग्रगामी नीतिहरू अपनाएर भारतीय अर्थतन्त्रलाई दिगो विकासको बाटोमा अघि बढाउनु हो। हालका संकटबाट भारतले सबल पुनरुत्थान गरेको छ। मुद्रास्फीति नियन्त्रणमा छ, बाह्य क्षेत्र सन्तुलित छ र बैंक तथा वित्तीय क्षेत्र बलियो अवस्थामा छ।
अन्तमा, केन्द्रीय बैंकहरूले आफ्नो भूमिका परिमार्जन गर्दै भविष्यका जोखिमलाई सम्बोधन गर्न तयार रहनुपर्छ। २१औं शताब्दीका चुनौती सामना गर्न केन्द्रीय बैंकहरूले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ, जसले उनीहरूको अर्थतन्त्र र वित्तीय प्रणालीलाई सुरक्षित राख्न मद्दत पुर्याउँछ।
पछिल्ला केही वर्षमा विश्वव्यापी संकट छिटोछिटो आएपछि केन्द्रीय बैंकको सिद्धान्त र अभ्यासमा सूक्ष्म र कहिलेकाहीं महत्त्वपूर्ण परिवर्तनहरू हुँदैछन्। भारतीय रिजर्भ बैंकमा, हाम्रो प्रयास सक्रिय र विवेकपूर्ण नीति अपनाउने हो ताकि भारतीय अर्थतन्त्र दिगो विकास मार्गमा अघि बढोस्। हाम्रो प्रयासले सकारात्मक परिणाम ल्याएको छ। भारतीय अर्थतन्त्रले महामारीबाट बलियो पुनरुत्थान गरेको छ र विश्वव्यापी विकासमा १८ प्रतिशतभन्दा बढी योगदान गरिरहेको छ। मुद्रास्फीति घट्ने क्रममा छ। बाह्य क्षेत्र बलियो आधारसहित लचिलो छ। बैंकिङ र कर्पोरेट क्षेत्रहरूको अवस्था बलियो छ। वित्तीय सुदृढीकरण प्रक्रिया अघि बढिरहेको छ।
मुख्य आर्थिक नीतिगत संस्थाका रूपमा, केन्द्रीय बैंकहरूले समयअनुसार आफैंलाई परिवर्तन गर्नुपर्छ। भविष्यमा आउने जोखिमलाई पहिले नै अनुमान गरेर, उपयुक्त उपायहरू अवलम्बन गरेर ती जोखिम रोक्न वा कम गर्न काम गर्नुपर्छ। मलाई विश्वास छ, केन्द्रीय बैंकहरूले समयमा उठेर अगाडि बढ्नेछन् र २१औं शताब्दीका नयाँ चुनौतीबाट आफ्नो वित्तीय प्रणाली र अर्थतन्त्रलाई जोगाउनेछन्।
(गभर्नर दासद्वार नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर स्व.हिमालय शमशेर राणाको स्मृतिमा आयोजित ‘हिमालयन शमशेर मेमोरियल लेक्चर–२०२४’ अवसरमा ‘२१औं शताब्दीमा केन्द्रीय बैंकिङः बदलिँदो परिवेश’ विषयक छलफलमा व्यक्त विचार)