काठमाडौं । आन्तरिक एवं बाह्य वायुसेवा कम्पनीले तत्कालै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० प्रतिशत उडान नगर्ने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति समयमा ५० प्रतिशत उडान दुई विमानस्थलबाट गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले राखेको प्रस्ताव वायुसेवा कम्पनीले अस्वीकार गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग, ट्याक्सी वे, एप्रोन विस्तार गर्न प्राधिकरणले कात्तिक २३ देखि चैत १८ सम्म दैनिक १० घन्टा बन्द गरेर काम गर्न लागेको छ। १० घन्टा काम गर्दा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ३३ प्रतिशतभन्दा बढी उडान कटौती हुने भएपछि विकल्पको रुपमा प्राधिकरणले भैरहवा र पोखरा विमानस्थललाई अगाडि सारेको थियो।
प्राधिकरणले आन्तरिक एवं बाह्य वायुसेवा कम्पनीलाई विमानस्थल स्तरोन्नतिको समय एयर ट्राफिक व्यवस्थापनका लागि समस्या हुने भएकोले सो अवधिभर भैरहवा र पोखराबाट आफ्नो ५० प्रतिशत उडान गर्न आग्रह गरेको थियो।
प्राधिकरणले राखेको प्रस्ताव सुरुमा वायुसेवा कम्पनीले सहजै स्वीकार गरे पनि अन्तिममा उडान तालिका सार्वजनिक गर्ने बेला उल्टै उडान कटौती गर्न तयार रहेको जानकारी दिन थालेको स्रोतको दाबी छ। प्राधिकरणले अबको एक साताभित्रै नयाँ उडान तालिका सार्वजनिक गर्ने तयारी छ।
आन्तरिक एवं बाह्य वायुसेवा कम्पनीले त्रिभुवन विमानस्थल मर्मत अवधिभर उडान कटौती गर्ने तर तत्कालीन स्थितिमा भैरहवा र पोखराबाट उडान गर्ने अडान प्राधिकरणसामु गरेका छन्। भैरहवा र पोखराको हालको अवस्थामा नियमित उडान गर्दा घाटा हुने र यात्रु पाउनै समस्या हुने भएकोले बरु त्यो अवधिमा उडान नगर्ने निष्कर्षमा वायुसेवा कम्पनी पुगेको प्राधिकरणलाई जानकारी दिइएको छ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले ५० प्रतिशत उडान भैरहवा र पोखरा विमानस्थलबाट गरेर घाटा खानुभन्दा उडान नै कटौती गर्ने निर्णयमा पुगेको बताए। दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित ५० प्रतिशत उडान गर्न यात्रु नपुग्ने र उडानका लागि सबै पूर्वधार बनाउन कम्पनीले ठूलो खर्च गर्नुपर्ने भएकोले बरु मर्मत अवधिभर आधा उडान मात्र गर्ने निष्कर्षमा उनीहरूको छ।
आन्तरिक उडानमा रहेका वायुसेवा कम्पनीले भैरहवा र पोखराबाट ५० प्रतिशत उडान गर्न तयार नभएपछि बाह्य उडान गर्ने वायुसेवा कम्पनीसमेत नजाने अडान लिन थालेका छन्। प्राधिकरण स्रोतका अनुसार आन्तरिक वायुसेवा कम्पनीले यात्रु नपाउने स्थिति रहेको बताइरहेका बेला अन्तर्राष्ट्रिय उडान कसरी गर्ने भनेर कम्पनीले प्रश्न गरिरहेका छन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै वायुसेवा कम्पनीलाई उडान कटौती गरेर यात्रुलाई दुख दिनुभन्दा पोखरा र भैरहवाबाट उडान गर्न अनुरोध गरिरहेको जानकारी दिए। ‘हामीले अनुरोध गर्ने बाहेकको अरु केही गर्न सक्दैनौं,’ सूचना अधिकारी भुलले भने, ‘सरकारले दिएको सेवा सुविधालाई सदुपयोग गर्ने अवसर पनि वायुसेवा कम्पनीको हो। हामी छलफलमै छौं।’
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० प्रतिशत उडान गर्ने गरी पुनर्तालिकीकरण गर्न परिपत्र भएको प्राधिकरणले बताएको थियो। वायुसेवा कम्पनीलाई दैनिक चार उडान गर्नेले कम्तीमा ५० प्रतिशत र तीन उडान गर्नेले २५ प्रतिशत उडान भैरहवा वा पोखरा सार्नैपर्ने प्रस्ताव राखेको थियो।
अहिले त्रिभुवन विमानस्थलमा बिहान ६ देखि ३ बजेसम्म दैनिक २१ घन्टा उडान हुँदै आएको छ। यो अवधिमा करिब ११० अन्तर्राष्ट्रिय र २४० आन्तरिक उडान हुँदै आएको छ। अहिलेको टर्मिनल भवन ४० वर्षअघि निर्माण गरिएको हो।
छुटले आकर्षित भएनन्
पोखरा र भैरहवा विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीलाई नेपाल वायुसेवा निगम (नेवानि)को ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुट, हवाई टिकटमा भ्याट छुट, यात्रु सेवाशुल्कमा छुट, श्रम डेस्क स्थापनालगायत छुट, सहुलियत तथा सेवा दिने र आयल निगमले हवाई इन्धनमा प्रतिकिलोलिटर १ सय अमेरिकी डलर छुट दिने निर्णय गरिसकेको छ। तर, सरकारले दिने छुट अफरमा समेत वायुसेवा कम्पनी तयार भएका छैनन्।