काठमाडौं । पोखरामा पाँच तारे होटल थपिने भएको छ । पोखराकै बारही ग्रुप र रियल स्टेट र अटो व्यवसायी विन्दु थापाले लेकसाइडमा पाँचतारे होटल निर्माण गर्ने भएका हुन् ।
दुई समूह मिलेर ४३ रोपनी क्षेत्रफलमा बुटिक होटल सञ्चालनमा ल्याउने गरि काम अघि बढेको हो । ३ अर्ब रुपैयाँ लगानी रहने होटलमा थापाको २५ प्रतिशत स्वामित्व हुनेछ भने बाँकी बाराही ग्रुपको लगानी रहने छ ।
थापा र बराही ग्रुपसंग मिलेर यसअघि पोखरामा नै बगैंचा वेलनेस होटल सञ्चालनमा ल्याइसकेका छन । जसमा थापाको ४० प्रतिशत लगानी छ । दुई ग्रुपले काठमाडौंको कान्तिपथमा पनि होटल निर्माण गरिरहेका छन् । कान्तिपथमा निर्माणधिन होटलमा पनि थापाको २५ प्रतिशत सेयर छ ।
अहिले घरजग्गाको व्यवसाय धराशायीजस्तै भएको छ, अटो व्यवसायको अवस्था पनि राम्रो छैन त्यसैले होटल व्यवसायमा जाने तयारी हो, थापाले क्यापिटल नेपालसंग भने ।
बारही ग्रुपले हाल चितवनको सौराहामा बारही जंगल लज, पोखराको सराङकोटमा सराङकोट माउन्टेन लज,पोखरामै होटल बारही सञ्चालन गरिरहेको छ ।
हाल पोखरामा पाँच तारे होटलको रुपमा फुलबारी होटल, पोखरा ग्राण्ड रहेका छन् । ती मध्ये फुलबारी होटल बन्द छ । यस्तै चार तारे एउटा र तीन तारे ३ ओटा होटल सञ्चालनमा छन् ।
पछिल्लो समय पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य भइरहेको बेला स्तरीय होटलहरु निर्माण हुने क्रमले तिब्रता पाएको पश्चिमाञ्चल होटल संघ (हान) का अध्यक्ष विकल तुलाचन बताउँछन । उनले सबै वर्गका पर्यटकहरुलाई सुहाउने खालका होटलहरु पोखरामा रहेको बताए ।